कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाडा चौपाया तह लगाउन प्रहरी सक्रिय

शंकर आचार्य

पर्सा — वीरगन्जको मुरली चोकमा मंगलबार साँझ करिब साढे ७ बजेको समयमा बाक्लै भीड थियो  । भिड देखेर बटुवाहरू त्यहाँ दसैंको शुभकामना आदानप्रदान वा यस्तै कुनै कार्यक्रम हुन लाग्यो भनि अडकलबाजी गरे  ।

छाडा चौपाया तह लगाउन प्रहरी सक्रिय

तर त्यहाको बास्तविक दृश्य भने सबै अनुमानहरूको बिपरित देखियो । जिल्लाका प्रहरी उपरीक्षक रेवती ढकाल, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापा लगायत स्थानीय युवा छाडा चौपायाको पछिपछि कुद्न थाले । बटुवाहरू तीन छक्क परे ।

घोडा, गाई, साँढे लगायतका चौपायालाई खेद्दै प्रहरी अधिकारी र युवाहरू करीब ५ किमी पर आदर्शनगर रंगशाला नजिक रहेको कान्जि हाउस सम्मै पुगे । बन्दुक बोक्ने सुरक्षाकर्मीहरूको हातमा लठ्ठी थियो । बटुवाहरूले ‘एसपि र डिएसपि साबहरू अब गोठालो बन्नु भयो’ भनि ठट्टा पनि गरे ।

उक्त टोलीले २३ वटा छाडा चौपायालाई कान्जि हाउसमा लगेर थुन्न सफल भयो । सुरुमा वीरगन्ज महानगरपालिकाको कार्यालयबाट गाडी ल्याएर चौपाया पक्रेर त्यसमै हालेर कान्जि हाउस लग्ने योजना रहेपनि महानगरपालिकाको गाडी नआई दिएपछि चौपायालाई खेद्दै कान्जिहाउस सम्म लगिएको थियो ।


वीरगन्जमा एक महिना देखि सन्चालित ‘व्यवस्थित वीरगन्ज हाम्रो अभियान’ कै एउटा मुख्य कार्यक्रम अन्तर्गत छाडा चौपाया नियन्त्रणका लागि गरिएको यो प्रयास थियो । प्रउ ढकाल पनि उत्साहित देखिन्थे । ‘वीरगन्जेली युवाहरूको सहभागितामा संचालित अभियानमा युवाहरूको उत्साह वृद्धी गर्न म पनि लागि परेको हुँ,’ उनले भने, ‘महानगरको ट्राफिक व्यवस्थापनमा छाडा चौपाया ठूलो समस्या हो, बटुवा र स्थानीय पसलेहरूलाई पनि छाडा चौपायाबाट असुरक्षा भइरहेको छ, त्यस कारण छाडा चौपाया नियन्त्रण पनि ठूलै चुनौती हो ।’

डीएसपी थापा पनि होस्टेमा हैंसे गर्दै थिए । ‘महानगरमा पशुधनीहरूले आफ्ना चौपाया सडकमा बेवारिसे छोड्ने ठूलै समस्या छ,’ उनले भने, ‘एक महिनादेखि सञ्चालित अभियानको क्रममा पटकपटक चौपाया नियन्त्रणमा लिएर चौपाया धनीलाई जरिवाना गर्ने गरिए पनि यो प्रवृत्ति निमिट्यान्न नभएकाले यत्तिको मिहिनेत गर्नु परेको हो ।’ अभियानका संयोजक दिलीपराज कार्कीले अभियानकै क्रममा हाल सम्म ५३ चौपाया नियन्त्रणमा लिएर चौपाया धनीहरूलाई जरिवाना गरिएको बताए ।

अभियानअन्तर्गत ट्राफिक परिचालन संयोजक सरोज चौधरीले महानगरको सडकबाट छाडा चौपाया नियन्त्रण नगरिएसम्म अभियान नै फितलो हुने देखिएपछि यो प्रयास गरिएको बताए । ‘कुनै पनि सहरको सडक सफा र सिनित्त मात्र भएर हुँदैन,’ उनले भने, ‘त्यहाँ छाडा चौपाया र तिनले गर्ने अव्यवस्था हुनु भएन ।’ अभियानकर्मीहरूले गरेको मिहिनेत देखेर बटुवाहरू पनि खुसी देखिन्थे । उनीहरू अभियानलाई थप निरन्तरता दिनुपर्ने माग गर्दै थिए ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?