कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करको विरोधमा मजदुरद्वारा घेराउ

भरत जर्घामगर

सिरहा — लहान नगरपालिकाले तेहरो कर लगाएको भन्दै नगर क्षेत्रका खोलामा गिट्टी, बालुवा चालेर गुजारा चलाउँदै आएका ज्याला मजदुर र ढुवानीकर्ताहरूले कर खारेजीको माग गर्दै मंगलबार नगरपालिका परिसरमा ट्रयाक्टरसहित घेराउ गर्दै विरोध जनाएका छन्  ।

करको विरोधमा मजदुरद्वारा घेराउ

गिट्टी, बालुवा ज्याला मजदुरहरूले ‘गिट्टी, बालुवा, ढुंगामा लगाएको विभिन्न सेवा शुल्क र कर फिर्ता गर’, ‘माटोमा लगाएको सम्पूर्ण कर छुट गर’, ‘मजदुरहरूको रोजगारको ग्यारेन्टी गर’ लगायतका नारा लगाउँदै निस्केको ट्रयाक्टर र्‍यालीले बजार क्षेत्र परिक्रमा गरी नगरपालिका कार्यालय घेराउ गरेको थियो ।

उनीहरूले कर वृद्धिको विरोध गर्दै तीन सूत्रीय माग राखी नगरपालिकामा असोज १४ गते ज्ञापन पत्र बुझाएका थिए । नगरपालिकाले खुट्टी नदी र त्यससँग जोडिएका खोलाबाट निष्कासन हुने गिट्टी, बालुवा, ढुंगा र माटोमा सडक मर्मत तथा वातावरण सेवा शुल्क, बिक्री र पटके सवारीसमेत गरी तीनवटा कर लगाएको भन्दै ढुवानीकर्ता र मजदुरले कर खारेजीको माग गर्दै असोज १४ देखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

तेहरो करका कारण ट्रयाक्टरले ढुवानी बन्द गरेपछि गिट्टी, बालुवा चालेर गुजारा चलाउँदै आएका लहान नगर क्षेत्रका २ हजार घरधुरीका ७ हजार मजदुर बिचल्लीमा परेको गिट्टी, बालुवा ज्याला मजदुर संघर्ष समितिका अध्यक्ष विन्देश्वर पासवानले बताए ।

गतवर्षसम्म खुट्टी र त्यससँग जोडिएका खोलाबाट गिट्टी निकासी गर्दा प्रतिट्रयाक्टर ४ सय २० रुपैयाँ शुल्क तिर्दै आएकोमा यस वर्ष तेहरो करका कारण ५ सय ४५ रुपैयाँ, बालुवा २ सय ९० बाट ४ सय ३० र माटो निकासीमा १ सय ७० बाट ३ सय ५५ रुपैयाँ बुझाउनुपरेपछि विरोधमा उत्रिन बाध्य भएको उनले बताए ।

लहान नगरपलिकाले नगरक्षेत्रका २४ वटै वडाका खुट्टी र त्यससँग जोडिएको खोलाबाट निष्कासन हुने गिट्टी, बालुवा, ग्राभेल र माटो समेतको बिक्रीकर संकलनका लागि असोज १२ गते खुस्बु साडी कलेक्सन एण्ड बुटिक सेन्टरलाई ठेक्का लगाएको थियो ।

दुई पक्षबीच वार्ता
तेहरो कर खारेजी माग गर्दै आएका ढुवानीकर्ता तथा मजदुर पक्ष र नगरपालिकाका मेयर मुनी साह सुडीबीच वार्ता भएको छ । वार्तामा बसेका मजदुर संघर्ष समितिका अध्यक्ष विन्देश्वर पासवानका अनुसार माटो निकासीमा लगाएको शुल्क खारेजी गरिएको र गिट्टी बालुवामा लगाएको शुल्क असोज ३० गतेसम्ममा कार्यापालिकाको बैठकबाट पुनर्विचार गरिने लिखित सहमति भएको छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?