झिझियामा झुम्दै मिथिला

सन्तोष सिंह

धनुषा — घैलाको चारैतिर प्वाल । घैलाभित्र बलिरहेको दियो । जनकपुर उपमहानगरपालिका–७ जानकी नगरकी ५० वर्षीया समुन्द्री सदा त्यही घैला टाउँकोमा राखेर मध्यरातसम्म नाच्छिन् । ‘तोहरे भरोसे ब्रम्हबाबा झिझिया बनेलियै हो ।

जनकपुरको रामानन्द चोकमा बुधबार राति झिझिया नृत्य प्रस्तुत गर्दै । तस्बिर : सन्तोष/कान्तिपुर

ब्रम्हबाबा झिझिया पर होइयो ना सबार’
निरन्तर बजिरहने यही गीतमा सदासँगै उनको संगिनीहरू नाचिरहेको हुन्छ । मिथिलाञ्चलमा घटस्थापनादेखि झिझिया नृत्य सुरु भएको छ । दसैंसम्म नाचिने यो नृत्यले भुतप्रेतलाई भगाउन विश्वास छ ।


माटोको भाँडामा आगो बालेर छमछम नाचेर झिझियाको माहोल तताउनेमा ३० वर्षीया ललिता सदा पनि हुन् । झिझिया नृत्य हेर्न स्थानीयको घुइँचो लाग्छ । दर्शकले नृत्य टोलीलाई नगद पुरस्कार दिएर मनोबल बढाउँछ ।

Yamaha


जनकपुरको जानकी नगरकाका मुसहर समुदायलाई दसैंको चटारो छ । उनीहरू दिउँसो काम सकाएर सकालै घर आएर झिझियाको तयारी गर्छन् । सकालै खाना खाएर झिझिया नाच नाच्न भेला भएर जनकपुरको शक्ति पीठहरूमा नाच्न भ्यानभ्याइ छ । जनकपुरको भ्रमरपुरा चोक, रामानन्द चोक, रजौल, राजदेवी मन्दिर, बंशि चोक र मुरली चोकमा झिझिया नाच्न उनिहरू जुटेका छन् ।


आगो बलेको माटोको घैटो टाउको राखेर समुहमा नाच्ने परम्परालार्य झिझिया नाच भनिन्छ । नृत्य गर्ने महिलाको टाउकोमा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भयो भने ती महिलाको तत्काल मृत्यु हुने जन विश्वासको कारण घैंटो बोकी नाच्ने र गाउने महिला फनफनी नाची रहेको दृश्य हेर्न मनमोह हुन्छ ।


विजया दशमीको शुरुवात संगै मधेसकको गाउा–गाउा, शहर शहर र टोल–टोलमा झिझिया नृत्य शुरु भएको छ । मध्यरातमा सुरीलो स्वरमा गाइने झिझिया गितले मधेसमा चाडपर्वको रौनकता बढाएको छ । लोक परम्परा अनुसार दलित महिलाले नाच्ने झिझियाले दशैको रौनकता बढाएको छ ।


दशैंको आगमन संगै बोक्सीलाई गाली गर्ने मधेसको अनौठो तथा ताान्त्रिक नृत्य झिझिया हो । बिशुद्ध तान्त्रिक बिधिमा आधारित झिझिया नृत्यले गर्दा अहिले मिथिलाञ्चले नै लय र तालको मधुर नृत्यमा झुमेको छ । राति महिलाहरूले सुरिलो भाकामा गाउने दोहरी गीतको माधुर्यले त झन सुरम्य बनेको छ । मिथिलाको विशुद्ध साँस्कृतिक झलक प्रदर्शन गर्ने यस पर्वमा झिझिया नृत्यको मौलिकताले विशेष महत्त्व राख्ने गरेको छ ।

ग्रीष्मको बिदाइ र शीतको आगमनसँगै नवरात्रिभरि गाइने गीत र झिझिया नृत्यले दसैंमा सबैको मनलाई प्रफुल्लित र आनन्दविभोर बनाइदिने गर्दछ । मिथिलाञ्चलको पहिचान बोकेको यस नृत्यमा दलित महिलाहरूको बढी सहभागिता हुने गर्दछ । उनीहरू घटस्थापनाभन्दा अगाडि नै माटोको घैंटो ल्याई त्यसमा अनगिन्ती प्वाल पारी नवरात्रा प्रारम्भ भएपछि ५ देखि २५ जनाको समूहमा रही सो घैंटोहरूमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्दछन् ।


मिथिलाञ्चलमा व्याप्त बोक्सीप्रति तीखो व्यंग्य गर्दै प्रदर्शन गरिने झिझिया नृत्यमा महिलाहरूले बत्ती बालेको घैंटो टाउकोमा राखी नाच्दै, गाउंँदै गाउँ परिक्रमा गर्छन् । महिलाहरू घरघर डुल्ने गर्दछन् । तिनीहरू जसको घरमा जान्छन् घरधनीले मटितेल वा रकम दिने परम्परा रहेको जनकपुर–८ की विमला देवी बताउँछिन् ।


नृत्य नै झिझियाको प्रमुख विशेषताका रूपमा मानिन्छ । बोक्सीले आफ्नो जादुको प्रयोग प्राय: मध्य रात्रि पछि गर्ने विश्वासका कारण यी नृत्य पनि मध्य रातमा प्रारम्भ हुन्छ।

प्रकाशित : आश्विन २६, २०७५ १०:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गाउँमै मिल्छ झमेला

कान्तिपुर संवाददाता

जनकपुर — धनुषा, बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर राउत क्षेत्रीले गाउँमै पुगेको न्यायाधीशलाई हेरेर हर्षित भए । अनि, उनले भने, ‘पहिला हामी न्यायाधीशलाई भेट्न अदालत पुग्थ्यौं । अहिले न्यायाधीश हाम्रै आँगनमा आएका छन् ।’

धनुषाको बटेश्वर गाउँपालिकामा स्थानीयसँग अन्तक्र्रिया गर्दै न्यायाधीश निरौला लगायतका । तस्बिर : अजित/कान्तिपुर

जिल्ला अदालत धनुषाका न्यायाधीश ऋषिराम निरौला बुधबार बटेश्वरको शान्तिपुर गाउँमा स्थानीयसँग अदालती कामकार्वाही र न्यायमा पहुँचका बारेमा छलफल गरे । धेरैले उनलाई सोधे, ‘अदालती प्रक्रिया झन्झटिलो र पट्यारलाग्दो किन हुन्छ ? छिट्टै मुद्दाको सुनुवाइ किन हुन्न ?’ न्यायाधीश निरौलाले अदालती कामकार्वाही सुस्त, झन्झटिलो र खर्चिलो हुने गरेको बुझाइमा सत्यता रहेको बताउँदै सबै मुद्दामामिला अदालतमै पुग्दा मात्र न्याय पाइन्छ भन्ने सोच त्याग्नुपर्ने सुझाव दिए ।


मानव अधिकार तथा सामाजिक विकास प्रतिष्ठानले आयोजना गरेको न्यायिक पहुँच कार्यक्रममा शान्तिपुरका स्थानीयले अदालत र न्यायाधीशसँग सम्बन्धित जिज्ञासा राखेका थिए । ‘न्याय ढिलो, खर्चिलो र झन्झटिलो हुन्छ । यो सबैले महसुस गरेको छ,’ न्यायाधीश निरौलाले भने, ‘बादी र प्रतिबादीको अदालतसम्म सीधा पहुँच नहुँदा पनि न्यायको प्रक्रिया लामो र खर्चिलो भएको हो ।’


शान्तिपुरका स्थानीय बिमल लामाले मुद्दा–मामिलाले धेरैको धनसम्पत्ति र घरवार गुमेकाले सानातिना विवाद गाउँ तहमै मिलाउनुपर्ने बताए । बटेश्वर गाउँपालिकामा रहेको न्यायिक समितिमार्फत मुद्दामामिला छिनोफानो भए अदालतसम्म पुग्नुपर्ने र झन्झट मोल्नुपर्ने समस्या टर्ने उनले सुझाव दिए । बैदेशिक रोजगारबाट श्रीमान् फर्किएपछि दु:ख दिने गरेको र सौता ल्याउने तयारी गरेको गुनासो राजकुमारी देवीले न्यायाधीश निरौलालाई सुनाइन् । ‘श्रीमान् बिदेशबाट फर्किएदेखि दु:ख दिइरहेका छन् । अर्की श्रीमती ल्याउँछु भनेर धम्क्याउँछन् । सासूससुरा पनि छोरीकै पक्षमा छन,’ उनले भनिन्, ‘अब न्यायका लागि काहाँ जाउँ ?’ न्यायाधीश निरौलाले उनलाई मैथिली भाषामै सम्झाउँदै भने, ‘अंश मुद्दा हाल्नुपर्छ । यातना दिएको छ भन्ने त्यसमा नि मुद्दा चल्छ ।’


नजिकै बसिरहेको बटेश्वर गाउँपालिकाकी उपप्रमुख प्रमिलादेवी महतोलाई न्यायाधीश निरौलाले भने, ‘तपाईंको न्यायिक समितिमा उनको उजुरी लिएर अदालतलाई फरवार्ड गरिदिनुस् ।’ राजकुमारीको ससुराले बुहारीको अंश मुद्दा लाग्ने देखेर पहिला नै जिल्ला अदालतमा छोरालाई विपक्षी बनाएर धनसम्पत्तिसँग सम्बन्धित छुट्टै मुद्दा हालेको छ ।


बटेश्वर गाउँपालिकाको शान्तिपुरमा २०६८ सालदेखि मध्यस्थकर्ताको भूमिकामा रहेका मणिकलाल मोक्तानले साना झगडा र झमेला गाउँमै मिल्दा अदालतसम्म पुग्ने अवस्था नरहेको बताए । ०६८ यता शान्तिपुरमा ३ सय १५ वटा विवादमध्ये २ सय ५५ वटा गाउँमै मिलेका छन् । मिल्न बाँकी ६० उजुरीमा छलफल जारी रहेको उनले बताए ।

प्रकाशित : आश्विन २६, २०७५ १०:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT