आत्महत्या गर्न उक्साउनेलाई जेल

मुन्ना दास बनिया र सन्तोष राउत कुर्मीलाई पुर्पक्षका लागि जेल चलान
पवन यादव

सिमरा — आत्महत्या गर्न उक्साएको आरोप लागेका २ जनालाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ  ।

मुलुकी ऐनलाई विस्थापित गर्दै कार्यान्वयनमा आएको अपराध संहितामा व्यवस्था भएको कानुनको प्रयोग गर्दै अदालतले आरोपित कलैया उपमहानगरपालिका–१ निवासी मुन्ना दास बनिया र परवानीपुर गाउँपालिका ५ बहुअरी बस्ने सन्तोष राउत कुर्मीलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।


आत्महत्या गर्न प्रोत्साहन दिने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन पक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रंजित सिंह राठौरले बताए ।
‘बारामा पहिलोपटक आत्म हत्या गर्न प्रोत्साहन गर्ने विरुद्ध मुद्दा चलाइएको छ,’ उनले भने,
‘उनीहरू यो मुद्दामा पुर्पपक्षका लागि जेल पर्ने पहिलो आरोपित हुन् ।’ हालै प्रयोगमा आएको यो कानुनलाई कार्यान्वयन गर्दा बढेको आत्महत्याको घटना कम हुने विश्वास लिइएको उनले जानकारी दिए ।

Yamaha


पछिलो समय बारामा आत्महत्या गर्नेको संख्या अत्यधिक बढेको प्रहरी तथ्यांकले देखाएको छ । आत्महत्या गर्नेमा सबैभन्दा बढी बुहारी र छोरीको संख्या बढी रहेको तथ्यांकमा उल्लेख छ ।


दाइजो लगायतको निहुँमा बुहारीलाई यातना दिने क्रम बढेसँगै बुहारीले आत्महत्या गर्ने घटना बढ्न थालेको जानकारले बताए । सासूससुरा, नन्द, श्रीमान् लगायतले ससुरालमा बारम्बार दाइजोको माग उल्लेख गर्दै यातना दिन थालेका थिए । यातना सहन बाध्य भएका बुहारीले यातनाबाट छुटकारा पाउन अन्तमा आत्महत्यालाई रोज्न बाध्य हुने गरेको सामाजिक अभियन्ताले बताए ।


‘कतिपय ससुराल पक्षले छोराको अर्को बिहे गराउन बुहारीको हत्या गरी अत्महत्या रुप दिएको घटना पनि छन्,’ ती अभियन्ताले भने, ‘त्यस्तो घटना मिलाउन प्रहरी र अस्पतालका कर्मचारीले नै भूमिका खेल्छन् ।’ आर्थिक प्रलोभनमा परी शव परीक्षण रिपोर्ट आफ्नो अनुकूल तयार गराउन लगाएर घटनालाई आत्महत्या प्रमाणित गरी मुद्दालाई त्यहीं थन्क्याइदिन्थे । त्यो बेला कानुनको समेत अभाव थियो । अहिले त्यो समस्या नरहेको अवस्था छ । त्यसैले आत्महत्या गर्न उक्साउनेलाई समेत उम्कन सक्ने अवस्था नरहेको उनले बताए ।


यो कानुन कार्यान्वयन भएपछि आत्महत्याको घटना पूरै निर्मुल नभए पनि धेरै हदसम्म निर्मुल हुने विश्वास आफूले लिएको उद्दमशील सहरकारी संस्था डुमरवानाका कृष्ण प्रसाद नेपालले बताए । ‘आत्महत्याका घटना धेरै बढेको थियो,’ उनले भने, ‘उचित सजायको व्यवस्था नहँुदा पीडितले न्याय पाउदैनथ्यो ।’ यो कानुनले छोरी बुहारीलाई आत्म हत्या गर्नबाट जोगाउने जिकिर उनले गरे ।


जितपुर सिमरा उपमहानगरपालिका–१५ सुन्दरवस्तीकी शान्ती तामाङले भनिन्, ‘हामी महिला धेरै खुसी छौं । म पनि श्रीमान् पीडित महिला हुँ ।’ तर अहिलेसम्म संघर्ष गरेर बाचेको छुँ । एक छोरी र २ छोरालाई सँगै राखेर पाल्दै आएको उनले सुनाइन् ।


समस्याहरू आइपर्दैमा आत्महत्यालाई विकल्पका रूपमा रोज्नु गलत सोच भएको र त्यसलाई त्याग्न उनले संघर्षशील सबै महिलासँग आग्रह गरिन् । आत्महत्या गर्न उक्साउनेलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको अदालतको निर्णय सराहनीय भएको उनले बताइन् ।


कलैया निवासी श्रीमान् मुन्ना लगायतका परिवारका सदस्यहरूले आफनो बुहारी अनिता देवी दासलाई गाली गलौज, कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिँदै आएको प्रहरीले अनुसन्धानबाट खोलेको छ ।


मुन्नाले सुनिता तामाङलाई कान्छी श्रीमती बनाई ल्याएको कारण अनिताले २०७५ साल भदौ ६ गते बिहान बिषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । दास लगायतका परिवारका सदस्यले शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न प्रोत्साहन गरेको प्रहरीले अनुसन्धानबाट खुलाएको छ ।


प्रहरीले दासलाई २०७५ साल भदौ २४ गते पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत बारा जिल्ला अदालतमा पेस गरेको थियो । अदालतको आदेशअनुसार दासलाई वीरगन्ज कारागार चलान गरिएको हो ।


यस्तै परवानीपुर गाउँपालिका ५ बहुअरी बस्ने सन्तोष राउतले आफनो श्रीमती अन्तिमा देवीलाई गालीगलौज तथा कुटपिट गरी आत्महत्या गर्न प्रोत्साहन गरेको प्रहरीले जनाएको छ ।


उनको विवाह भएको २ वर्षपछि एउटा छोरीको जन्म भए तापनि जन्मेको ४ दिनपछि छोरीको मृत्यु भएको थियो । विवाह भएको ७/८ वर्षपछि अन्तिमा देवीबाट कुनै सन्तान नभएको तथा माइती पक्षबाट दाइजो समेत नल्याएको भनी सन्तोषले शारीरिक र मान्सिक यातना दिँदै आएका थिए ।

प्रकाशित : आश्विन २६, २०७५ १०:२९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आमासँग पर्व मनाउन जेलमा

‘बालबालिकाहरू चाड पर्वमा बिदा मान्न आफ्ना अभिभावसँग बस्न आउँछन् भने हामीले रोक्न मिल्दैन’
शंकर आचार्य

पर्सा — चाडपर्व भन्ने बित्तिक्कै बालबालिकालाई आफन्त र इष्टमित्रसँग खुला परिवेशमा उन्मुक्त भएर रमाउने मन हुन्छ  । अझ छात्रावासमा बस्ने बालबालिकालाई वर्ष दिनमा अभिभावक र आफन्तसँग भेटन पाउदाको क्षण झनै विशेष  ।

तर चाडपर्व मान्न बिहीबार राजधानीदेखि वीरगन्ज आइपुगेका ७ बालबालिका भने वीरगन्ज कारागारमा प्रवेश गरे । अबको २ साता उनीहरू कारागार भित्रै बस्नेछन् । कैदीबन्दी आमाहरूसँग बसेर उनीहरू चाड पर्व मनाउनेछन् ।

आमासँगै कैदमा परेका बालबालिकालाई शिक्षादिक्षा दिने काम गर्दै आएको संस्था बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष तथा सञ्चालिका इन्दिरा राना ती बालबालिका लिएर आई पुगेकी थिइन् । कारागार प्रशासनले महिला कैदीबन्दीका छोराछोरीलाई आमाहरूसँगै बस्ने वातावरण बनाइदियो ।

तीनै बालबालिकामध्येकी एक हुन् १२ वर्षीया रोशनी मण्डल । वीरगन्ज मुर्ली स्थायी घर भएकी उनका बुवा, आमा, काका र काकी समेत कारागारमा कैद सजाय भुक्तान गर्दैछन् । ८ वर्षदेखि बन्दी सहायता नेपाल संस्थाको शरणमा रहेकी उनी वर्षेनी यसरी दसैं बिदा मान्न वीरगन्ज जेल आउने गर्छिन् । उनका सहोदर भाइहरू रोशन र रोहन तथा काकाका छोरा बौवा पनि उनीसँगै बिदा मान्न यसरी जेल बस्न आइपुगेका छन् ।

खुला परिवेशबाट बिदा मान्नका लागि आउँदा पनि जेलमा बस्नु पर्दा नरमाइलो लाग्ने गरेको रोशनी बताउँछिन् । ‘के गर्ने हाम्रो भाग्यमै यही लेखेको रहेछ,’ उनले भनिन्, ‘आमा बुवा भेटन र बिदा काटन आउँदा पनि सधैं हामीले जेल बस्नु परेको छ ।’ अब दुई साता उनीहरू कारागारको अग्लो पर्खालको घेरा भित्रै आआफ्ना आमाहरूसँग बस्ने र दसंै बिदा सक्याएर फर्कनेछन् । पुरुष कारागार तर्फ रहेका आआफ्ना बुवालाई पनि उनीहरूले भेटन पाउनेछन् ।

खुला परिवेशमा पर्व मान्न पाउनुपर्ने उनीहरूको अधिकार र बालस्वतन्त्रता खोसिएपछि उनीहरूको पर्व र पर्व बिदा पनि खल्लो हुने छ । कारागारमा बिदा र पर्व मान्न आउने अधिकांश बालबालिकाका आमाहरूले २० वर्षको कैद भुक्तान गरी रहेकाले यीमध्ये प्राय: सबैको बालापन यसरी नै बितिरहेको छ । उनीहरूमध्ये केहीका बुवा छैनन् । केहीका भए पनि उनीहरूको लालनपालन गर्नुपर्छ भनी उनीहरूलाई जिम्मामा लिई लगेका छैनन् ।

बन्दी सहायता नेपालकी अध्यक्ष रानाले पर्व बिदा भएपछि बालबालिकाहरूले आफ्नो घर परिवार र आमा बुवा खोज्ने भएकाले वर्षेनी आफूहरूले यसरी गृहमा आश्रित बालबालिकाहरूलाई उनीहरूको अभिभावकसँग बस्नका लागि ल्याइदिने गरेको बताइन् ।

‘यी बालबालिका र यिनका अभिभावको आपसमा तालमेल र समझदारी नबिग्रोस् भन्नका लागि पनि यसरी वर्ष दिनमा केही दिन आमाबुवासँगै बस्ने वातावरण मिलाउनु जरुरी छ,’ उनले भनिन्, ‘यसले अभिभावकहरूमा कैद जीवन भुक्तान गरेर निस्केपछि आफ्ना सन्तानका लागि भए पनि फेरि गलत काम गर्नु हुन्न भन्ने मानसिकताको विकास गर्छ, अनि आफ्ना अभिभावकसँग बस्न पाउनु बालबालिकाको पनि अधिकार हो, त्यसको पनि बिचार गरिनुपर्छ ।’

कारागारका सूचना अधिकारी गणेश भण्डारी यसरी कारागारमा बस्न आउने बालबालिकाले पनि राज्यबाट नियम बमोजिम दैनिक सिधा खर्च पाउने बताए । त्यस्तो सिधा खर्च तथा रासन बालबालिकाको उमेरअनुसार हुन्छ । ‘बालबालिकाहरू चाड पर्वमा बिदा मान्न आफ्ना अभिभावसँग बस्न आउँछन् भने हामीले रोक्न मिल्दैन,’ उनले भने, ‘यिनका आमाबुवाहरू नै कारागारमा रहेकाले यिनले अन्यत्र कतै जान नपाउने भएकाले यिनकै सुरक्षा र हितलाई ध्यानमा राखी यिनलाई यहाँ बस्ने वातावरण मिलाएका हौं ।’

प्रकाशित : आश्विन २६, २०७५ १०:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT