कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडपर्वमा मदिरामा कडाइ

पर्वका बेला रमाइलोका लागि मानिसले बढी मदिरा पिउने र विभिन्न खाले घटने हुने हुँदा यो समयमा बढी ध्यान दिनुपर्ने प्रहरीको भनाइ छ
शिव पुरी

रौतहट — दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी प्रहरीले जिल्लाका विभिन्न स्थानमा घरेलु रक्सीको बिक्रीमा कडाइ गरेको छ  । यसअघि बिक्रीमा खासै चासो दिइएको थिएन  ।

चाडपर्वमा मदिरामा कडाइ

इलाका प्रहरी चन्द्रनिगाहपुरले एक महिनाको अवधिमा विभिन्न स्थानबाट ठूलो परिणामको अवैध रक्सि बरामद गरेको छ । यी सबै ग्रामीण भेगमा बिक्रीमा लागि लैजान लागेको हो ।


ई–रिक्सा,बस तथा अन्य सवारीमा बोराभित्र लुकाएर लैजान लागेको १ हजार ५ सय लिटर घरेलु रक्सी बरामद गरेको इलाका प्रहरीका डीएसपी युवराज खड्काले बताए । ‘केही समययता घरेलु मदिरको अबैध ओसारपसार बढेको सुराकी पाएका थियौं,’ उनले भने, ‘त्यसपछि निगरानी र चेकजाँचका क्रममा एक महिनाको अवधिमा यति धेरै रक्सी बरामद भएको यो पहिलो पटक हो ।’


प्रहरीले उक्त मदिरा खाडल खनेर नष्ट गरेको थियो । यस क्षेत्रका केही बस्तीको घरघरमा घरेलु मदिरा उत्पादन हुने गरेको छ । प्रहरीले यसअघि छापा मारी नष्ट गरेको थियो । तर उत्पादनलाई निरन्तरता दिने गरेको पाइएको छ । पर्वका बेला रमाइलाका लागि मानिसले बढी मदिरा पिउने र विभिन्न खाले घटने हुने हुँदा यो समयमा बढी ध्यान दिनुपर्ने प्रहरीको भनाइ छ । अहिले गाउँमा अवैध मदिरा उत्पादन गर्ने भट्टी र मदिरा बिक्री गर्ने स्थानको पहिचानका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको डीएसपी खड्काले जानकारी दिए ।


अघिल्लो आर्थिक वर्षमा यस क्षेत्रमा १ हजार २६ लिटर अबैध मदिरा र ३ सय लिटर कच्चा पदार्थ बरामद गरेको थियो । मदिरा ओसारपसारको आरोपमा २८ जना पक्राउ परे । उनीहरूबाट १ लाख ४४ हजार ५ सय जरिवाना असुल गरिएको प्रहरीले जनायो । अस आर्थिक वर्षको असोज महिनामा प्रहरीले यति धेरै परिणाममा रक्सी बरामद गरेको हो । यी सबै साना सवारीमा लोड गरी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको डीएसपी खड्काले बताए ।

चेकजाँचका क्रममा प्रहरीलाई देख्नासाथ रक्सी बोक्ने मानिस भने फरार भएको थियो । पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरीले मदिराको बिक्री वितरणमा कडाइका साथै विशेष सुरक्षा योजना लागू गरेको छ । पर्वको मौका छोपेर बजार, मेला लाग्ने स्थानमा उपस्थिति बढाएर जुवा, तास, अबैध मदिरा बिक्री वितरणमा रोक लगाउने जस्ता काममा लागि सुरक्षाकर्मी परिचालन गरिसकेको छ । यसअघि जिल्ला प्रहरीले २ सय बढी अबैध भट्टी नष्ट गरेको थियो । प्रहरीको अभियान सकिए लगत्तै त्यस्ता भट्टी पुन: सञ्चालनमा आउने गरेको छ ।


ओसारपसारमा महिला
प्रहरीको आँखा छल्न मदिरा ओसारपसारमा महिला संलग्न हुने गरेको पाइएको छ । महिला माथि प्रहरीको शंका नहुने भन्दै उनीहरूको संलग्नता पाइएको हो । इलाका प्रहरीले अवैध रक्सी सहित २८ जनालाई पक्राउ गरेकोमा १६ जना महिला रहेका छन् । यसअघि जिल्ला प्रहरीले पक्राउ गरेकामध्ये अधिकांश महिला नै थिए ।


मदिरा ओसारपसारमा महिलाको संलग्नता बढी हुने गरेको प्रहरीको भनाइ छ । ओसारपसार र उत्पादन गर्नमा पनि महिला नै अग्रसर भएको पाइएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले अबैध घरेलु रक्सीले समाजमा विभिन्न खाले विकृति ल्याउने गरेको बताए । ‘हामीले जिल्लाभरि अवैध मदिरा उत्पादन गर्ने भट्टी नष्टको अभियान चलाएका छौं,’ उनले भने, ‘प्रहरीको आँखा छलेर कतै सञ्चालन गरिएको पाइए पक्रेर कारबाही गर्छांै ।’ पछिल्लो केही समययता मदिरा ओसारपसारमा महिला नै बढी संलग्न भएको पाइएको उनले जनाए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?