१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

ढाड सेक्ने महँगी

कान्तिपुर संवाददाता

सर्लाही — सर्लाहीमा यस वर्ष चाडपर्वका बेला समेत बजार अनुगमन हुन सकेको छैन  । मलंगवाको बजारमा एक दिन बजार अनुगमन गरिएको जस्तो गरिए पनि जिल्लाको अन्य व्यापारिक केन्द्र बरहथवा, ईश्वरपुर, हरिवन, लालबन्दी, गैर लगायतका बजारमा अनुगमन हुन नसकेको हो  ।

ढाड सेक्ने महँगी

दसैं, तिहार, छठ लगायत प्रमुख पर्वमा हरेक सरसामानको व्यापार बढ्ने गर्छ । यही मौका छोपेर व्यापारीहरूले अस्वाभाविक भाउ बढाउँदा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।
चाडबाडका बेला अस्वस्थकर मिसावट म्याद गुज्रेका सामानको समेत बिक्री हुने गरेको छ ।

तर बजार अनुगमनमा स्थानीय तहले समेत चासो देखाएको छैन । अहिले जिल्लाको प्रमुख व्यापारिक केन्द्रहरूमा दसैंका लागि किनमेल गर्नेको भीडभाड छ । अनुगमन अभावमा बजार महँगो भएकाले सर्वसाधारण उपभोक्ता ठगिने क्रम बढेको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष विश्वनाथ ठाकुरले बताए । ‘चाडपर्वका बेला प्रमुख बजारहरूमा उपभोक्ताको भीड छ, यस वर्ष अनुगमन नभएकाले उपभोक्ताहरू ठगिनु परेको गुनासो बढेको छ,’ उनले भने, ‘उपभोक्ता ठगीमा परिरहँदा स्थानीय प्रशासन र स्थानीय तह मौन बसेको छ ।’


अनुगमनको जिम्मा पाएका स्थानीय प्रशासन र स्थानीय तहले कर्मचारी अभावका कारण बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन नसकेको बताइरहेका छन् । जसको फाइदा कालोबजारी गर्ने व्यापारीले उठाइरहेका छन् । अधिकांश पसलहरूमा म्याद नाघेका सामान बिक्री भइरहेको छ । पर्व नजिकिँदै गर्दा व्यापारीले यस्ता सामान बिक्री गरेका हुन् । राष्ट्रिय महत्त्वका मुख्य चाडपर्व नजिकिँदै गर्दा बजारमा अखाद्य र मिति सकिएका सामान बिक्री भएको भन्ने आमउपभोक्ताको गुनासो छ ।


बजारमा अखाद्य वस्तुको मिसावट, म्याद नाघेका, कमतौल भएका, ओसिएका, बासी, सडेगलेका सरसामान बिक्री गर्ने, मूल्यसूची नराख्ने देखिएको नागरिक अगुवा रजनीकान्त झाले बताए । ‘मानवीय स्वास्थ्यलाई ख्याल नगरी बजारमा म्याद नाघेका र बासी सडेगलेका सामानहरू बिक्री भइरहेको छ, उनले भने, ‘पसलमा मूल्यसूची समेत नराख्दा दैनिक उपभोक्ता ठगिँदै आएका छन् ।’

प्रकाशित : आश्विन ३०, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?