कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सस्ता सामान’ मा ग्राहकको आकर्षण

सन्तोष सिंह

धनुषा — दसैं मेलाका अवसरमा हरेक वर्ष जनकपुरको गोपाल धर्मशाला परिसरमा सञ्चालन हुने अस्थायी बजारमा सस्तो सामान खरिद गर्ने सर्वसधारणको घुइँचो लागेको छ  । उक्त बजारमा पुग्ने अधिकांसले ६ महिनादेखि वर्ष दिनसम्म पुग्ने दैनिक उपभोग्य वस्तु खरिद गर्छन्  ।

‘सस्ता सामान’ मा ग्राहकको आकर्षण

घटस्थापनाको दिन सुरु भएर अष्ठमीसम्म सञ्चालन हुने उक्त बजारमा बाहिर र भित्रगरी राखिएको स्टलमा सामान किन्नेको भीड लाग्ने गरेको छ ।


बजारबाट मुख्यत: चाउचाउ, अगरबत्ती, साबुन, सर्फ, चियापती, बिस्कुट, चिनी, कपडा, चप्पलजुत्ता र शृंगारका सामानको बिक्री बढी हुने उद्योग वाणिज्य संघ जनकपुरका महासचिव जितेन्द्र महासेठले बताए । वर्षमा ८ दिन लाग्ने दसैं बजारका स्टलहरूको कारोबार लाखौंमा
हुने गरेको महासेठले बताए । दसैं बजार भनिए पनि सर्वसाधारणले अस्थायी बजारलाई सस्ता बजार बुझ्छन् ।


यहाँ बाहिरको बजारभन्दा कम मूल्यमा सामान पाइने भएर सस्तो बजार भनिएको साबुनको मोलतोल गर्दै भेटिएकी कौशिल्या देवीले भनिन्, ‘बाहिर १५ रुपैयाँमा पाइने साबुन यहाँ १२ रुपैयाँमै पाउँछन् ।’ साबुन र सर्फका स्टाल सञ्चालकहरूले थोक मात्रामा बिक्री हुने भएर बजारको भन्दा सस्तोमा सामान बेच्न सम्भव भएको बताए । बजारमा सबैभन्दा बढी साबुन र सर्फ बिक्री हुने जनकपुरको यही बजार हो ।

गोपाल धर्मशाला भवनको भित्र ३४ र टेन्ट लगाएर बाहिर ५५ स्टल गरी ८९ स्टलबाट दैनिक कारोबार करोड नाघेको महासचिव महासेठले बताए । बजार सुरु भएको ५ दिनमा ५ करोडभन्दा बढीको कारोबार भएको छ, महासेठले भने, ‘वर्षौंदेखि लाग्दै आएको बजारको व्यवस्थापन उद्योग वाणिज्य संघले गर्दै आएको छ ।’ स्टलबाट संकलन हुने रकममध्ये केही प्रतिशत धर्मशालाको जीर्णोद्धारमा दिएर बाँकी संघले राख्ने गरेको छ । सोही पैसाबाट स्टलको सजावट, टेन्टका सामान, बिजुलीलगायत व्यवस्था गरिरहेको महासेठले बताए ।


दसैं बजारलाई नै केन्द्रित गरी जनकपुरको दसैं मेला व्यवस्थापन समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने उक्त समितिले बजारमा हुन सक्ने ठगी, गुणस्तरहीन सामानको बिक्रीवितरण र बेथितिलाई नियन्त्रण गर्ने जिम्मेवारी बहन गर्नुपर्ने नियम बनाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले उद्योग वाणिज्य संघले व्यवस्थापन गरेको सस्ता बजारमा अनुगमन गरी गुणस्तरीय सामान बिक्री गरिएको बताए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?