कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आक्रोशित कूर्थावासीले गरे जनकपुरमा प्रदर्शन  

श्यामसुन्दर शशि

जनकपुर — सडक विस्तारका क्रममा सार्वजनिक विद्यालय भनव भत्काएको भन्दै कूर्थावासीले आइतबार जनकपुर उपमहानगरपालिका तथा जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गर्नुका साथै प्रदर्शन गरेका छन् ।

आक्रोशित कूर्थावासीले गरे जनकपुरमा प्रदर्शन  

उनीहरुले जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, जनकपुर उपमहानगरपालिका २१ का वडाध्यक्ष रामेश्वर महासेठ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको विरोधमा चर्का नाराबाजीसमेत गरेका थिए ।


सडक विस्तारको नाममा वडाध्यक्ष महासेठको निर्देशनमा वैशाख पहिलो साता कूर्थामा रहेको राजर्षि जनक उच्च माध्यमिक विद्यालयको कम्पाउन्ड वाल तथा कक्षा कोठाको पर्खाल डोजर लगाई भत्काइएको तथा वडाध्यक्ष महासेठले सडकको जग्गा मिचेर वडा कार्यालय निर्माण गरेको आरोप स्थानीयवासीको छ । स्थानीय शम्भू निर्दोषीले भने –‘ वडा कार्यालय भन्दा विद्यालय बढी महत्वपूर्ण हो तर वडाध्यक्ष महासेठले विद्यालय भत्काएर वडा कार्यालय निर्माण गरेका छन ।’


राजर्षि जनक उच्च माविका प्रधानाचार्य वीरेन्द्र यादवले विद्यालयको कम्पाउण्डवाल तथा ६ कक्षा कोठाको पर्खालसमेत भत्काएकोले विद्यार्थीलाई अध्ययन-अध्यापन गराउन कठिन भएको बताए । ‘सडक छेउको विद्यालय हो । सडकमा गाडीको चाप हुन्छ । बाजारमा होहल्ला भइरहन्छ । विद्यार्थीको पठनपाठन प्रभावित भएकै हो’ प्रअ यादवले भने ।


सडक मिचेर भवन निर्माण गरिएको भन्दै ग्रामीण भेगका एक समूह विरोधमा छन् भने वडाध्यक्ष रामेश्वर महासेठलगायत समर्थक सडक मिचेर विद्यालय निर्माण गरिएकोले भवन खाली गर्नु पर्ने अडानमा छन् । स्थानीय शम्भू निर्दोषीले वडाध्यक्षको विरोध गर्नेहरुलाई स्थानीय प्रशासनले दु:ख दिएको आरोप लगाए । निर्दोषीका अनुसार शनिबार राति प्रहरीले स्थानीय राजु साह सोनार, विल्टु राउत, सेफर महासेठ र परमेश्वरमण्डललाई पक्राउ गरी रिहा गरेको थियो ।


वडाअध्यक्ष रामेश्वर महासेठले भने विद्यालय प्रशासनले सडक मिचेर भवन निर्माण गरेको कारण गाउँको वातावरण बिग्रेको आरोप लगाउँदै आएका छन् । राजर्षि जनक उच्च विद्यालय निर्माणका लागि आफ्नै पूर्वजहरुले नै जग्गा उपलब्ध गराएको उल्लेख गर्दै वडाध्यक्ष महासेठले कान्तिपुरसँग भनेका थिए – ‘विद्यालय भवनसँगै केही आफन्तहरुको घरजग्गा जोगाउन विद्यालयका प्रधानाध्यापक पनि लागीपरेका छन् ।’

प्रकाशित : कार्तिक ४, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?