कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयरहरू एकलौटी गर्न खोज्छन् : उपमेयर

नियम संगत काम गर्न सल्लाह दिँदा किन बाइपास ?
यहाँ १८ स्थानीय तह छन् । १७ वटामा उपमेयर र एकमा मेयर महिला
शिव पुरी

रौतहट — राजदेवी नगरपालिकाका उपमेयर अंशु सिंहको एउटै गुनासो छ  । मेयरहरूले किन एकलौटी गर्न खोज्छन् ? नियम संगत काम गर्न सल्लाह दिँदा किन बाइपास गर्न खोजिन्छ ? यस्तै प्रश्नबीच उनी नगरपालिकाका मेयर धीरेन्द्रकुमार सिंहको एकलौटीविरुद्ध आवाज उठाउँछिन्  ।

मेयरहरू एकलौटी गर्न खोज्छन् : उपमेयर

गएको आर्थिक वर्षको बजेट विनियोजनमा एकलौटी र उपभोक्ता समिति गठन प्रक्रिया गलत भएको भन्दै उनले खुलेरै विरोध जनाइन् । ‘नगरको विकासमा उपमेयरको पनि अहंभूमिका हुन्छ,’ उनले भनिन्, ‘सहकार्य गरी अघि बढ्नुपर्छ । एकलौटी गर्दा सन्देश राम्रो जाँदैन ।’

आफूले मेयर सिंहको विरोध गरेको नभई सहकार्यलाई जोड दिँदै आएको सुनाइन् । उनी पूर्व सभासद बबन सिंहका श्रीमती हुन् । यहाँ १८ स्थानीय तह छन् । १७ वटामा उपमेयर र एकमा मेयर महिला छन् । मौलापुर नगरपालिकामा महिला मेयर छिन् । कटहरियाका मेयर सियाराम कुशवाहा कर्तव्य ज्यानमा जेल परेपछि उपमेयर नूरजहा खातुनले चलाउँदै आएकी छन् । बाँकी १६ स्थानीय तहका उपमेयरको हालत उस्तै छ । उनीहरू मेयरले एकलौटी गरेको, योजना बाँडफाँडमा बेवास्ता, कामको बाँडफाँड र सहकार्य नगर्ने गरेको गुनासो गर्दै आएका छन् ।

केही समयअघि चन्द्रनिगाहपुरलाई स्मार्ट सिटी बनाउने विषयमा भएको छलफलमा चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरतीदेवी चौधरीले मेयर रामचन्द्र चौधरीले एकलौटी ढंगले काम गरेको भनेर खुलेरै विरोध जनाइन् ।

‘मेयर साहबका बारेमा नभनौं भनेकी हुँ । मनमा राखेर मात्र के गर्नु,’ उनले भनिन्, ‘आज बाध्य भएर भन्नुपर्‍यो । कति पीडित भएर बस्ने । सहकार्य भन्ने फिटिक्कै छैन ।’ नगरपालिकाको कुनै पनि कामकारबाहीमा मेयर चौधरीले आफूलाई सहभागी र सल्लाहसमेत नलिने गरेको उनको गुनासो थियो ।

स्थानीय तहका नगरपालिका र गाउँपालिकाका दुई प्रमुख पदमध्ये एकमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । त्यही संवैधानिक व्यवस्थाअनुसार अधिकांशमा उपप्रमुखमा महिला चुनिएका छन् । कार्यालयभित्र अधिकारविहीन बनाइएका उनीहरू आफैं अन्यायमा परेको गुनासो गर्छन् ।

कार्यालयमा केही मामुली कागजात हेर्नेबाहेक अरु जिम्मेवारी नपाएको उनीहरूको गुनासो छ । यस्तै गुनासोबीच रौतहटमा उपमेयर क्लबसमेत गठन गरिएको छ । क्लबको बैठकमा अधिकाश उपमेयरहरूले मेयरको एकलौटीपनको खुलेर विरोध जनाउँदै आएका छन् ।

आफूहरू नामको मात्रै उपप्रमुख भएको र गफ गरेर दिन काट्नुबाहेक अरु काम नभएको उनीहरू बताउँछन् । स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थासम्बन्धी आदेश २०७४ मा उपप्रमुखलाई सम्बन्धित कार्यपालिकाको न्यायिक समितिको संयोजक, योजना अनुगमन मूल्यांकन समितिको संयोजक, बजेट परामर्श समितिको संयोजक, विकास बजेट सिलिङ गर्ने समितिको संयोजक लगायतका महत्त्वपूर्ण जिम्मेवारी दिइएको क्लबकी अध्यक्ष किरण ठाकुरले बताइन् ।

‘जिम्मेवारी धेरै दिइएको छ,’ उनले भनिन्, ‘तर मेयरले एकलौटी गर्दा जिल्लाभरिका स्थानीय तहमा उपमेयरहरूपीडित हुनुपरेको गुनासो छ ।’ आर्थिक वर्ष २०७४/०७५ मा उपप्रमुखहरूले अनुगमन प्रतिवदेनमा हस्ताक्षर नै नगर्दा पनि सम्बन्धित योजनाहरूको भुक्तानी दिइसकेका गुनासो गरेका थिए ।

स्थानीय तहभित्र सञ्चालन भएका विभिन्न योजनाको अन्तिम अनुगमन तथा भुक्तानीका लागि सिफारिस गर्ने अधिकार उपमेयरलाई दिइएको छ । तर मेयर आफैंले अनुगमन समितिको हस्तारक्षरबिना भुक्तानी आदेश जारी गरेको गुनासो छ । ‘मैले कुनै पनि अनुगमन प्रतिवेदनमा हस्ताक्षर नगर्दा पनि मेयरले सम्पन्न भएका योजनाको भुक्तानी दिएका छन्,’ एक उपमेयरले भनिन्, ‘कुनै पनि विकास निर्माणको काममा हामीसित रायसल्लाह लिने काम हुँदैन ।’

उपमेयरको प्रस्तावमा मेयरले कानुनी सल्लाहकार नियुक्त गर्ने प्रवाधान लत्याउँदै मेयर आफैंले नजिककालाई कानूनी सल्लाहकार नियुक्त गरेको गुनासो व्याप्त छ । सरकारले महिला सशक्तीकरणमा जोड दिएको र महिलालाई अधिकार सम्पन्न बनाएको भनिरहँदा आफूहरू नै अधिकारविहीन भएको यहाँका उपमेयरहरू बताउँछन् । गरुडा नगरपालिकाका उपमेयर रंगिला देवीले गएको आर्थिक वर्षको योजना लागयतको काममा मेयरले बहुमतको दम्भमा केही निर्णयहरू एकलौटी गर्न लागेको भन्दै असहमति जनाएर ‘नोट अफ डिसेन्ट’ लेखेको सुनाइन् ।

केही नगरपालिकामा कर्मचारीले समेत नटेर्ने गरेको आरोप लगाउँछन् । कर्मचारीले समेत मेयरको कुरा नसुन्दा समस्या हुने गरेको भन्दै उपमेयरहरूले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसमक्ष गुनासो पोखेका थिए । कटहरिया नगरपालिकाका उपमेयर खातुनले आफूहरूलाई नगरपालिकाका प्रशासकीय अधिकृत र लेखापालले समेत बेवास्ता गरेको गुनासो गर्छिन् ।

‘हिसाब किताब देखाऊ भन्दा कर्मचारी नै तालाबन्दी गर्छन्,’ उनले भनिन्, ‘यहाँ त जनप्रतिनिधिलाई समेत नटेर्ने कर्मचारी छन् ।’ यो नगरपालिकामा अझै पनि कर्मचारी र जनप्रतिनिधिबीच ठूलो विवाद छ । मेयरले मनपरी शीर्षक बनाएर खर्च गर्ने गरेको, कार्यक्रमको भुक्तानीका बेला चार गुणासम्म बढी निकाल्न लगाउने, इन्धन र भत्तालगायतका शीर्षकमा समेत मेयरले बदमासी गरेको भनेर सबै उपमेयरहरूको गुनासो रहेको गौर नगरपालिकाका उपमेयर तथा क्लबका अध्यक्ष किरण ठाकुरले बताइन् । ‘उपमेयरहरूको गुनासो धेरै छन्,’ उनले भनिन्,‘ हामी समस्या समाधान गर्नेतिर लागेका छौं ।’


उपमेयरहरू संगठित हुँदै
गएको आर्थिक वर्षमा अधिकांश स्थानीय तहमा मेयर र उपमेयरबीच मनमुटाव बढ्यो । एकलौटी ढंगले नगरपालिका चलाउन थालिएको भन्दै उपमेयरहरूले छलफलका लागि क्लब नै गठन गरे । त्यसको अध्यक्ष गौर नगरपालिकाका उपमेयर ठाकुरलाई बनाइयो । उनी जिल्लाको स्थानीय तहमध्ये सबैभन्दा क्रियाशील मधेसी महिला उपमेयरमा पर्छिन् ।

प्रखर वक्ताको रुपमा उनलाई चिन्छन् । यसअघि क्लबको बैठकमा नगरपालिकाको कामकारबाहीमा मेयरले हस्तक्षेप गर्ने गरेको, अधिकांश स्थानीय तहमा न्यायिक समिति गठन भए पनि इजलास स्थापना नगरिएको, झैझगडालगायत विभिन्न विवादित उजुरी पर्दा मेयर आफैंले तोक लगाएर उपमेयरको काम काजमा ठाडो हस्तक्षेप गरिरहेको गम्भीर आरोप लगाएका थिए ।

क्लबकी अध्यक्ष ठाकुरले सबै स्थानीय तहमा मेयर र उपमेयरबीचको सम्बन्ध राम्रो हुनुपर्ने बताइन् । उनले सबै स्थानीय तहका मेयरहरूसँग संवाद थाल्ने जनाइन् । उपमेयरको कामकर्तव्य र अधिकार संविधानले दिए पनि मेयरहरूले नदिएको उनीहरूको गुनासो छ ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?