कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैदीबन्दीको दसैं

प्रशासन प्रमुखले कैदीलाई दसैंमा यसरी टीका लगाएको रौतहटमा पहिलोपटक हो ।
कान्तिपुर संवाददाता

रौतहट — गौरस्थित कारागारका बन्दीले रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँगै दसैं मनाएका छन्  । विभिन्न घटनामा पक्राउ परी अदालतबाट जेल सजाय पाएका कैदीबन्दीले प्रजिअ रिजालको हातबाट टीका लगाएर दसैं मनाए  ।

कैदीबन्दीको दसैं

प्रशासन प्रमुखले कैदीलाई दसैं पर्वमा यसरी टीका लगाइदिएको रौतहटमा पहिलोपटक हो ।


टीका लगाए सँगै कारागारका कैदीहरू खुसी भएका थिए । अभिभावकबाट टाढा भएका कैदीहरूको गुनासो पछि प्रजिअ रिजाल आफैं कारागार गएका थिए । उनले त्यहाँ कैदीहरूसित दसैं मनाउने भनेपछि सबै खुसीले गदगद भएका थिए ।

त्यसपछि उनले टीकाको सामग्री ठीक गर्न निर्देशन दिए । रातो अक्षता र जमरासहित सामग्री तयार पारी पालैपालो उनले कैदी बन्दीहरूलाई टीका लगाइदिएका थिए । कारागारमा झन्डै २ सय कैदीहरू बन्दी जीवन बिताइरहेका छन । ‘यसपालि कैदी दाजुभाइहरूसित टीका लगाएर दसैं मनाए,’ प्रजिअ रिजालले भने, ‘अभिभावकको रूपमा उनीहरूलाई टीका लगाउन पाउँदा खुसी लागेको छ । यसअघि यसरी कैदीलाई दसंैमा टीका लगाइएको थिएन ।’

कारागारमा चोरी, डकैती, बलात्कार, हत्या, कर्तव्यज्यान, लागूऔषध, बहुविवाह, हातहतियार खरखजाना, चेलीबेटी बेचबिखनजस्ता मुद्दामा सजाय पाएका र पुर्पक्षका लागि जेल परेकाहरू छन् । प्रजिअ रिजालले कैदीहरूका लागि ३ वटा खसी किनिदिएका थिए । दक्षिणास्वरूप ५ हजार नगदसमेत दिएका थिए । टीका लगाएर उनले कैदीसँगै खाना खाए । सहायक प्रजिअ धर्मानन्द जोशीले समेत कैदीलाई टीका लगाइदिएका थिए ।


दसंैमा प्रजिअको हातबाट टीका लगाउन पाउँदा निकै खुसी लागेको कैदीहरूले बताएका छन् । अपहरण मुद्दामा ९ वर्ष जेल बिताइसकेका कैदी रामजी यादवका अनुसार कुनै पनि सीडीओले अहिलेसम्म दसंै पर्वमा टीका लगाइदिएका छैनन् । ‘प्रजिअ रिजाल पहिलो व्यक्ति हुन्, जसले कैदीलाई यसरी सम्मान दिए,’ उनले भने, ‘कैदी भनेर छुट्याएनन् । टीका लगाइदिए, सँगै बसेर खाना खाए, उहाँप्रति हाम्रो श्रद्धा छ । सम्मान छ ।’

यादव अपहरण मुद्दामा अदालतबाट जेल सजाय पाएका कैदी हुन् । उनी कारागारका कैदी चौकीदार पनि हुन् । उनी अहिलेसम्म यसरी कारागारमा सीडीओ आफैं आएर दसैंमा टीका लगाइदिएको छैन भन्छन् । कारागारका निमित्त प्रमुख शम्भुप्रसाद यादव, कैदी चौकीदार यादवको पहलमा कैदीहरूको गुनासो सीडीओ रिजालसमक्ष पुर्‍याइएपछि सँगै दसैं मनाएका हुन् ।

प्राय:गरी प्रशासन प्रमुख र कारागारका कैदीबीचको सम्बन्ध राम्रो हुने गरेको छैन । सीडीओ रिजालको व्यहारप्रति कैदीहरू मख्ख छन् । कैदीका केही आफन्तहरूसमेत जेल पुगेका थिए । उनीहरूसमेत प्रजिअले टीका लगाइदिएको देखेर खुसी भएका छन् । सीडीओको यस्तो कार्यको सबैले प्रशंसा गरेका छन् ।


जीर्ण कारागार
गौरमा रहेको कारागार ८० वर्ष पुरानो हो । यो जीर्ण भइसकेको छ । यसको मर्मतसम्भार आवश्यक रहेको प्रशासनको भनाइ छ । क्षमताभन्दा बढी कैदी राखिएपछि कारागारमा समस्या हुँदै आएको छ । कारागारमा २ सय बढी कैदीबन्दीहरू छन ।

यसको क्षमता १ सय कैदीको हो । १० कठ्ठा जमिनमा बनाइएको कारागार सानो र कुच्रुक्क परेको छ । यही स्थानमा कारागारको कार्यालय, सुरक्षागार्ड बस्ने स्थान, महिला बन्दी रहेकोले समस्या भएको प्रजिअ रिजालले बताए ।

‘एक त क्षमताभन्दा दोब्बर कैदी छन् । त्यहींमाथि ठाउँ पनि सानो भएकाले झन् समस्या थपिएको छ,’ उनले भने, ‘कारागारका लागि समान्यत: २/३ बिगाहा क्षेत्रफल हुनुपर्छ । ठाउँको अभाव र जीर्णले गर्दा कैदीलाई थप समस्या भएको हो ।’ मर्मतसम्भारका लागि थोरै रकम आउने हुँदा जीर्ण भएको कारागारले थप समस्या निम्त्याउने प्रशासनका अधिकारीहरू बताउँछन् ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?