१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

वृद्धको हत्या आरोपमा चार समातिए

घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न मृतकका आफन्तले माग गरेका छन्
पवन यादव

सिमरा — धारिलो हतियार प्रहार गरी हत्या गरिएका कलैया उपमहानगरपालिका २३ कोइरिया टोल निवासी नन्दलाल राउत कुर्मीको हत्यामा संलग्न रहेको दाबी गर्दै प्रहरीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

वृद्धको हत्या आरोपमा चार समातिए

जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका स्थानीय ४५ वर्षीय बिरेन्द्रलाल प्रसाद जैसवार, उनका छोरा १९ वर्षीय विशाल पटेल, आफन्त ६५ वर्षीय बैजनाथ राउत कुर्मी र बारा अमृतगन्ज ९ हाल सिम्रौनगढ नगरपालिका निवासी ५५ वर्षीय जोधा भन्ने रामअयोध्या दास तात्मालाई सार्वजनिक गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट नन्दलालको हत्या बिरेन्द्रलाल र रामअयोध्याले गरेको र उनीहरूलाई विशाल र विदतले हत्या गर्न सघाएको खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । अदालतबाट म्याद थप गराई घटनाको थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

‘घटना प्रेम सम्बन्ध कायम गरी धन सम्पत्ति हडप्ने नियतले भएको बुझिन्छ,’ उनले भने, ‘अदालतबाट म्याद थप गराई थप अनुसन्धान गर्दै छौं ।’ घटनालाई सबै कोणबाट गहन अनुसन्धान सुरु गरेका छौं । घटनामा संलग्नता रहेको व्यक्तिहरूको संख्या अझ बढ्न सक्ने उनले जानकारी दिए ।

मृतक नन्दलालको हत्यामा प्रयोग भएको घरेलु हतियार खोड्या (ठूलो आकारको खुकुरी) अझै बरामद हुन नसकेको उनले जानकारी दिए । नन्दलाका कान्छो भाइ अम्बिकाको नातिनीलाई विशालले प्रेमजालमा पारेर विवाह गर्ने प्रस्ताव घरको अभिभावकीय भूमिकामा समेत रहेका मृतकसामु बिरेन्द्रले राखेको खुलेको उनले जानकारी दिए ।

‘छमेकमा नातिनीको बिहे नगर्ने अडान मृतक नन्दलाले लिएपछि सम्पत्ति हत्याउने बिरेन्द्रको चाहना विफल बनेको थियो,’ प्रउ भट्टराई भने, ‘आफ्नो योजना सफल बनाउन तगारो बनेका नन्दलालको हत्या गरेको देखिन्छ ।’ सूक्ष्म अनुसन्धान गर्दै छौं । अझ केही दिनमा घटनाको सत्य तथ्य बाहिर आउने उनले जिकिर गरे ।

घटनको निष्पक्ष छानबिन गरिरहेको उनले जानकारी दिए । अज्ञात समूहले धारिलो हतियार प्रहार गरी शनिबार साँझ नन्दलालको हत्या गरेको थियो । भाइलाई पर्खेर साँझ गोठमा बसेका स्थानीय ६५ वर्षीय नन्दलाल राउत कुर्मीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । मृतक नन्दलालको टाउको, गर्दन, घाँटी र खुट्टामा धारिलो हतियार प्रहारबाट घाउ खत लागेको थियो । नन्दलालको हत्या योजना बनाएर बएको प्रहरीले दाबी गरेको छ ।

गोठमा गाडिएको चापाकल नजिकै रगतले लतपतिएको अवस्थामा मृतक नन्दलालको राति करिब साढे ७ बजे शव फेला परेको थियो । मृतक नन्दलाल र उनका भाइ अम्बिका समगोल (एकापरिवार) मै बस्दै आएका थिए । स्थानीयका अनुसार मृतक नन्दलालका छोरा छोरी छैनन् ।

उनकी श्रीमती शान्ती देवी कुर्मी अशक्त छिन् । उनका भाइ अम्बिकाका पनि एक छोरा मात्र छन । अम्बिकाका छोरा किशोर पटेल पनि ८/१० वर्ष अगाडि आफ्नी पत्नी सरिता र ३ जना कलिला छोरीलाई घरमै छाडेर बेपत्ता भएका छन् । घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न मृतकका आफन्तले माग गरेका छन् ।

प्रकाशित : कार्तिक १४, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?