कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धान उत्पादन बढ्यो

भरत जर्घामगर

सिरहा — यस वर्ष सिरहामा धान उत्पादन बढेको छ  । गतवर्षको अनुपातमा यसवर्ष जिल्लामा ५९ हजार ८ सय ५० मेट्रिक टन धान बढी उत्पादन हुने अनुमान गरिएको छ  ।

धान उत्पादन बढ्यो

कृषि ज्ञान केन्द्र सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवका अनुसार सिरहामा ७१ हजार हेक्टर खेतमा धान रोपाइँ भएको थियो । प्रतिहेक्टर २ दशमलव ८५ प्रतिशतका दरले २ लाख २ हजार ३ सय ५० मेट्रिक टन धान उत्पादन हुने केन्द्रको दाबी छ । उत्पादित धान असोजको अन्तिम सातादेखि नै कृषकले भित्र्याउन थालेका छन् ।


धान उत्पादनको आधा भाग जग्गावाललाई र आधा भाग आफूले पाउने गरी बटियामा लिएको १० कट्ठा खेतमा पोहोर साल राम्रो उब्जनी नहुँदा धनगढीमाई नगरपालिका ११ की हरुवाचरुवा परिवारकी हरानीदेवीले बटिया खेत जोगाउन झन्डै ८० प्रतिशत धान जग्गावाललाई नै बुझाउनुपर्‍यो । यसपालि भने धान खेतमा सोचेभन्दा राम्रो भएपछि बटियाको खेतबाट उत्पादित धान आधा दिँदा पनि उनलाई पोहोरको क्षति पूर्ति हुने भएको छ ।


‘पोहोर साल खडेरी र मलको अभावका कारण धानको उत्पादन राम्रो नहुँदा बटैयामा लिइएको खेतबाट समेत राम्रो फाइदा गर्न सकिएन,’ उनले भनिन्, ‘यसपालि राम्रै उत्पादन भएकाले बेलैमा दाउनी गरेर धान भित्र्याउँदैछु ।’ धानको उत्पादन राम्रो भएकाले सिरहामा धान रोपाइँ र धान कटनीको बेला प्राय: देखापर्ने खेतीवाल र हरुवाचरुवा मजदुरबीचको विवाद पनि यसपालि देखिएको छैन ।


सिँचाइ र मलको सही बेला आपूर्ति हुन सके धान उत्पादनमा आउने अधिकांश समस्या आफैं समाधान हुने कृषक र मजदुर दुवै पक्षको दाबी छ । ‘यसपालि धान कटनीका बेला किसानले मजदुरलाई चित्तबुझ्दो ज्याला दिएका कारणले पनि विवाद नउठेको हो’, हरुवाचरुवा सशक्तीकरण अभियानमा संलग्न सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले भने, ‘धान खेतीका लागि पानी र मलको समुचित व्यवस्था हुँदा उत्पादन राम्रो भई ज्याला निर्धारणमा समेत विवाद नहुँदो रहेछ ।’

कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष सिरहामा ५७ हजार हेक्टरमा २ दशमलव ५ प्रतिशत प्रतिहेक्टरको दरले १ लाख ४२ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रकाशित : कार्तिक १७, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?