कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन फँडानी बढ्यो

शिव पुरी

रौतहट — भिजन वन कार्यालयको गस्ती टोलीले तीन दिनअघि चन्द्रपुर–३ भोलटानको जंगलबाट ठूलो परिणामको सालको चिरान काठसहित दुई तस्करलाई पक्राउ गर्‍यो  । उनीहरूले जंगलभित्र नै हातेविद्युत् आराले सालको गोलिया चिरान गरेका थिए  ।

वन फँडानी बढ्यो

राष्ट्रिय वनबाट काँचो सालको गोलिया ढालेर जंगलभित्र चिरान गरेका बेला भोलनटारका चन्द्रबहादुर जिम्बा र लालबहादुर मोक्तानलाई पक्राउ गरेको हो । वनले ४२ थान चिरान काठ र २ थान झन्डै दस फिट मोटो गोलिया बरामद गरेको जनायो ।


वन अधिकृत विनोद सिंहले काँचो सालको रूख ढालेर चिरान गरिरहेको सूचनापछि गस्ती टोलीले पक्राउ गर्न सफल भएको बताए । ‘पर्वको मौका छोपेर तस्करले चोरी निकासी गर्न खोजे पनि गस्ती मजबुद बनाएका छांै,’ उनले भने, ‘यस्तै समय पारेर उनीहरू अवैध रूपमा सालको काठ ओसारपसार गर्छन् ।’


जिम्बा र मोक्तान पक्राउ गर्न गाएको वन टोलीमाथि उनकै समूहले बन्दुक फायर गरेको थियो । सशस्त्र वन रक्षकले जवाफी फायर गर्दै उनीहरूलाई पक्राउ गरेको हो । वनले अन्य समूहको खोजी गरिरहेको जनायो ।


राष्ट्रिय वन मासेर बसोबास गरेको यो गाउँका केही मानिसको काम काठ तस्कर भएको वनले जनायो । राष्ट्रिय वनबाट सालको गोलिया तथा चिरान गरी बेचेको पैसाले उनीहरू आफ्नो गर्जो टार्छन् । त्यसैले भोलनटार, महादेव डाँडा, इपिलिघारी र अरुण बस्तीलाई वनले विशेष निगरानीमा राखेको छ । यस क्षेत्रमा व्यापक वन कटान हुँदै आएको छ । यही समयमा वन जोगाउन कर्मचारीलाई हम्मेहम्मे पर्छ ।


पर्वका बेला कर्मचारीहरू बिदामा जाने र गस्ती नहुने अनुमान लगाएर तस्करले गोलिया र चिरान लैजाने गरेका छन । अघिल्लो वर्षको दसैं, तिहार र छठ पर्वमा झन्डै २ दर्जनभन्दा बढी सालका रूख काटिएको थियो । यो क्षेत्रमा वन निकै पातलिएको छ । चोचा र चेनतगर वन सेक्टरमा पर्वका बेला तस्कर हाबी हुने गरेको वन कर्मचारी बताउँछन् । वन अधिकृत सिंहले पर्वमा वन गस्तीलाई त्यहीअनुसार रूटिङ मिलाएर खटाउने गरेको बताए ।


‘तस्करभन्दा एक कदम अघि छाैं,’ उनले दाबीका साथ भने, ‘पर्व भनेर हामी आनन्दले बस्नेवाला छैनाैं । वन जोगाउन हरेक हतकण्डा अपनाउँछाैं ।’ वन कार्यालयका अनुसार यही साउन यता चार महिनाको अवधिमा तस्करले विभिन्न वन सेक्टरबाट अवैध रूपमा लैजान लागेको सालको ५ सय १५ क्युफिट बरामद गरिएको छ । त्यस्तै, सालको चिरान १ सय ४० क्युफिट र खयर ९ क्युफिट बरामद गरेको छ । वन अधिकृत सिंहका अनुसार तस्करीमा संलग्न १४ जनालाई पक्राउ गरी वन ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

काठ बोक्न प्रयोग गरिएका साइकल वन कार्यालयमा । तस्बिर : शिव/कान्तिपुर


साइकलमा उस्तै
चोचा सेक्टरमा पर्ने राष्ट्रिय वनभित्र साइकलमा काँचो सालको साना रूख काटेर लैजाने क्रम रोकिएको छैन । सालको हुर्किंदै गरेको साना रूख काटेर दाउरा प्रयोगका लागि लगेका हुन् ।


चिम्नी उद्योगमा बिक्री गर्न साल काटेर काठदाउरा तस्कर गर्ने क्रम बढेको छ । स्थानीय ठेकेदारले घरमै आएर ४ सय रुपैयाँ प्रतिक्विन्टलमा दाउरा खरिद गरी लैजान्छन् । एक दिनमा ८ सयसम्म आम्दानी हुने उनीहरू बताउँछन् ।


वनले गएको तीन वर्षमा झन्डै ५ सयभन्दा बढी साइकल बरामद गरेको छ । यस क्षेत्रमा इँटा उद्योग धेरै भएकाले वन मासिंदै गएको छ । घरका लागि भन्दै दाउरा लैजानेहरू धमाधम उद्योगमा बिक्री गर्छन् । बस्ती नजिक काँचो सालका रूख काटेर ठुटा मात्र देखिएको छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?