कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसगजामा मदिरा कडाइ

पसल पनि राति ९ बजेभित्रै बन्द गर्न प्रशासनको सूचना
कान्तिपुर संवाददाता

राजविराज — सप्तरी प्रशासनले नेपाल–भारत सीमा क्षेत्रको दसगजादेखि १ किमिको दूरीसम्म कुनै प्रकारको मदिरा वा मदिराजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले दसगजादेखि १ किमिको दूरीसम्म मदिरा बिक्री र सेवनमा रोक लगाइएको हो ।


भारतको बिहारमा मदिराजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाइएपछि नेपाल–भारत सीमा क्षेत्रमा व्यापक संख्यामा मदिरा पसल सञ्चालन भएका छन् । सीमामा रहेका मदिरा पसलहरूवाटै बिहारमा मदिरा तस्करी हुँदै आएको छ ।


स्थानीय प्रशासन स्तरमा हुने गरेका द्विपक्षीय बैठकहरूमा बिहारका जिल्ला प्रशासकहरूले नेपाली पक्षलाई सीमा क्षेत्रमा रहेका मदिरा पसलहरूका कारण सुरक्षा चुनौती थपिँदै गएको बताएका थिए । त्यसैअनुरूप उनीहरूले दसगजा क्षेत्र र त्यसको वरिपरि मदिरा पसल सञ्चालनमा रोक लगाउन आग्रह गरेका थिए । बिहारमा मदिरामा रोक लगाइएपछि बिहारका मदिरा सेवनकर्ताहरू नेपाली भूमिमा आई मदिरा सेवन गरी फर्किने गरेका थिए । जसका कारण सीमावर्ती क्षेत्रमा मदिरा व्यवसाय फस्टाएको थियो ।


लागूऔषध दुव्र्यसन,मदिराको दुरपयोग रोकथाम नियन्त्रण तथा व्यवस्थित गर्न उक्त निर्णय गरिएको सप्तरी प्रशासनले जनाएको छ । प्रशासनद्वारा जारी सूचनाअनुसार अनुमति लिएर सञ्चालन गरिरहेको मदिरा व्यवसायीहरूले बेलुक ८ बजेसम्म मात्र बिक्री वितरण गर्न पाउने छन् । अनुमति लिएर सञ्चालन गरिरहेका बार व्यवसायीहरू (रेस्टुरेन्ट) बेलुका साढे ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने सूचना प्रशासनले जारी गरेको छ । बार सहितका होटेल व्यवसायीहरूले बेलुका ९ बजेसम्म मात्र बार रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् ।


यस्तै, पान पसलहरू बेलुका ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने सूचना प्रशासनले जारी गरेको छ । विद्यालय तथा धार्मिक क्षेत्र वरिपरि कुनै पनि प्रकारका मदिरा बेचबिखन तथा सेवन गर्ने व्यवसाय स्थानीय तहले अवस्था हेरी चार किल्ला वा क्षेत्र निर्धारण गरी व्यवस्थित गर्न सबै स्थानीय तहलाई आग्रह गर्ने निर्णय समेत सर्वदलीय सर्वपक्षीय बैठकले गरेको छ । प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरको उत्तरी र पश्चिमी द्वारमा व्यापक संख्यामा मदिरा पसल सञ्चालनमा छन् ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?