धनुषा — सेवाबाट अवकाश पाउने मुखमा जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड डा.रामपरीक्षण यादवले प्रक्रिया मिचेर अस्पतालमा कर्मचारी नियुक्ति गरेका छन् ।
जनकपुर अञ्चल अस्पतालको विकास समिति भंग भएका कारण निजी स्रोतबाट कर्मचारी नियुक्त गर्न पाइँदैन तर मेसु डा. यादवले असोज १८ गते जुनियर मेडिकल रेकर्डर असिस्टेन्टमा डा. उदेशकुमार अधिकारीलाई नियुक्त गरेको छ । अर्को एक डाक्टरको नियुक्तिको तयारीमा उनी छन् ।
नियुक्त भएका डाक्टर जनकपुर अञ्चल अस्पतालमा कार्यरत लेखा अधिकृत रामविनय रायका छोरा हुन् । डा. यादवले लेखा अधिकृत रायका छोरा अधिकरीलाई अस्पतालमा जागिर लगाइदिने र रायले डा. यादवले भनेअनुसार प्रक्रिया मिलाएर रकम भुक्तानी गर्ने सहमति स्रोतले जनायो । लेखा अधिकृत रायका छोरा अधिकारीलाई कात्तिक १८ गते आइतबार चलानी नं.९७९ बाट मेसु डा. यादवले प्रक्रिया मिचेर नियुक्तिपत्र दिइएको छ ।
दुई साताअघि मात्रै जनकपुर अञ्चल अस्पतालमा हाजिर भएका लेखाअधिकृत राय र मेडिकल सुपरिडेन्टेन्ट यादव मिलेर अस्पतालको इन्धन र ल्याब बनाउने प्लाइ, सीसीटीभी खरिदमा समेत अनियमितता गरेको अस्पताल स्रोतको दाबी छ ।
डा.यादवले अस्पतालमा कर्मचारी भर्ना, प्लाइ खरिद, इन्धन, बिरामीको खाना, सिसिटीभी जडानमा प्रक्रिया मिचेर अनियमितता गरेको स्रोतले जनायो ।
अवकाश हुने समय नजिकिएपछि डा. यादवले जेरनेटर, गाडीमा खपत नै नगरी इन्धनको बिल जनकपुर डिजल सेन्टरको नाममा निकासा गरेको छ । अस्पतालमा असहाय व्यक्तिलाई सरकारबाट आएको अनुदान खर्च हुन्छ । तर, मेसु यादवले त्यो पैसा नियम विपरीत विकास समितिबाट ४ लाख १७ हजार निकासा गरेको छ । सस्तो सीसीटिभी जडान गरी महँगो बिल बनाएर डा. यादवले ४ लाख रकम निकासा गरी कमिसन लिएको अस्पताल स्रोतले जनाएको छ ।
क्षेत्रीय ल्याब बनाउन ६० हजार रुपैयाँमा खरिद भएको पुरानो प्लाइ प्रयोगमा ल्याएर ३ लाखभन्दा बढी रकम निकासा गरेको खुलेको छ । ०७३ पुस ७ गते पनि विकास समितिबाट १८ जना डाक्टरलाई मासिक १० हजार खाजा खर्च दिएर नियुक्ति गरेका थिए । तर, डा. यादवले विकास समिति भंग भएपछि ०७५ असोज २९ गतेसम्म प्रक्रिया नै पुरा नगरी अवैध रुपले ३६ जना कर्मचारी भर्ना गरेका छन् ।
नातागोता र आर्थिक लेनदेन गरी कर्मचारी भर्ना गर्दा सुपरिडेन्टेन्ट यादव र यहाँ कार्यरत कर्मचारीबीच मतभेदसमेत भएको छ । गोप्य सूचना सार्वजनिक गरेको भन्दै प्रशासन फाँटका कर्मचारीलाई जिम्मेवारीबाटै हटाइएको थियो ।
जनकपुर अञ्चल अस्पतालको निर्माणाधीन बहिरंग विभाग र आकस्मिक विभागको भवन काम पुरा नहुँदै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट उद्घाटन गराएर अधुरो भवन हस्तान्तरण गरेर ठेकेदार कम्पनीबाट उनले कमिसन लिन खोजे ।
असोज १८ गते मन्त्री यादवले उदघाटन गरेको भवनमा अस्पतालको सेवा अझै सुरु भएको छैन । तर नयाँ भवनमा ल्याब, वार्डका लागि आवश्यक सामान खरिद गरी कमिसन खाने तयारीमा डा. यादव जुटेका छन् । ०७१ जेठ ३० गते सम्झौता गरी निर्माण सुरु गरेका प्रेरा/मुन्ना र अचार्य जेभिले अञ्चल अस्पतालको बहिरंग भवन र आकस्मिक विभागको भवन १९ करोड १२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँमा ठेक्का सकारेको थियो ।
०७४ पुस मसान्तसम्म निर्माण सक्नुपर्ने भवन अझै अस्पताललाई हस्तान्तरण भएको छैन । तर, स्वास्थ्यमन्त्री यादवले भवन उद्घाटन गरेका थिए । भवन निर्माणबाट अस्पताललाई प्राप्त हुने कन्टिजेन्सी रकम करिब ३० लाख रुपैयाँ कुम्ल्याउन मेसु डा. यादव दौडधुपमा छन् । मेसु यादवले अवकाश पाउन केही साता रहेकाले आफूले विवादमा आउने काम नगरेको दाबी गरे । ‘५/७ दिनमै रिटायर हुँदै छु, विवादमा पर्ने काम गर्दिनँ,’ उनले भने ।
गाडीको दुरुपयोग
अञ्चल अस्पतालमा सुपरिडेन्टेन्ट यादवले सरकारी गाडीको दुरुपयोग गरेका छन् । अञ्चल अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएर चालकसहित गाडी सुविधा पाएका डा. यादव अस्पताल समयमै गाडी लिएर निजी क्लिनिकमा पुगेर काम गर्दै गरेका भेटिए ।
डा. यादव सोमबार १ बजे निजी क्लिनिकमा बिरामी जाँच गरिरहेको बेला अस्पतालको उनी चढ्ने सरकारी गाडी क्लिनिकअगाडि पार्क गरिएको थियो । गाडीका चालक अस्पतालमा सहयोगीको रुपमा भेटिए ।
अञ्चल अस्पताल प्रमुख डा. यादव अस्पतलको जिम्मेवारी बहन गर्नुपर्ने समयमा सरकारी गाडीसहितै निजी क्लिनिकमा जाने गरेको छ । मेसु यादवले सडक खनेकाले अस्पतालसम्म गाडी जान नसकिने भएकाले क्लिनिकमै राखेको दाबी गरे ।
प्रकाशित : कार्तिक २९, २०७५ १०:१४