कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साढे ३ दशकदेखि विजेता

यस वर्ष पनि उनलाई गाउँमा कुनै पहलमानले हराउन सकेनन् ।

पर्सा — दिन बित्दै जाँदा दर्शकको व्यग्रता बढ्दै थियो । दर्शक दिर्घाबाट कुस्तिबाज नरेश गिरीको नाम आउन थाल्यो । गिरी अखडामा ओर्लिनुअघि भारत उत्तरप्रदेश पडरौनाका चिता नाम गरेका भीमकाय पहलमान अखडा वरपर मडारिन थालिसकेका थिए ।

साढे ३ दशकदेखि विजेता

दर्शकको माग पनि चिता र नरेशको भिडन्त अविलम्ब गरियोस् भन्ने थियो ।


बेलाबेलामा ज्यानमा पहेलो माटो दलेर ‘वार्म अप’ गरिरहेका चिता पहलवानको हाउभाउ हेर्दा यसपटक उनी नेपालकै अन्तर्राष्ट्रिय कुस्तिबाज नरेश गिरीलाई उनकै गाउँमा धूलो चटाउन व्यग्र छन् जस्तो प्रस्ट बुझिन्थ्यो । अन्तत: आयोजकले दर्शकको माग धान्न नसकेर गिरीलाई अखडामा ओर्लन आग्रह गरे । अनि सुरु भयो नेपाल र भारतका दुई भीमकाय पहलमानहरूको दुर्लभ भिडन्त ।


उमेरले ५० कटी सकेका गिरी पछिल्लो केही वर्षयता वर्षेनी छठ पर्वका अवसरमा आफ्नै गाउँमा लाग्ने कुस्ती मेलामा मात्र अखडामा ओर्लने गरेकाले पनि उनका प्रशंसकहरूलाई यस दिनको विशेष प्रतीक्षा हुन्छ । अन्तत: यस पटक पनि त्यही दृश्य देखियो जुन उनका प्रशंसकहरूले झन्डै ३५ वर्षदेखि हेर्दै आएका छन् ।


गिरीले आफ्ना प्रतिद्वन्द्वी चितालाई धूलो चटाउन धेरै होइन केवल ४ मिनेट मात्र लगाए । अनि दर्शक दिर्घाबाट गिरीका प्रशंसकहरू अखडासम्मै पुगेर उनलाई उचालेर हुटिङ गर्न थाले । दर्शकले दिएको बक्सिस संकलन गर्न पनि गिरीलाई भ्याइ नभ्याइ थियो । उनको गम्छामा बक्सिसमा पाउको पैसाको पोको नै बन्यो ।


यस वर्ष पनि उनलाई गाउँमा कुनै पहलमानले हराउन सकेनन् । गिरीले आफूले गाउँको अखडामा निरन्तर जित मात्र हासिल गरेको झन्डै ३५ वर्ष भएको बताए । ‘नेपालकै प्रतिनिधित्व गरेर अहिलेसम्म चीन, हङकङ, बंगलादेश, दिल्ली, पाकिस्तानसम्म पुगे कहीं जिते, कहीं हारे तर आफ्नो गाउँमा अझैसम्म हारको मुख देख्नु परेको छैन,’ उनले भने, ‘किशोर अवस्थादेखि गाउँको अखडा ओर्लन थालेको हुँ, आजसम्म हारेको छैन, अब त उमेर पनि हुँदै गयो, तैपनि शरीरले साथ दिउन्जेलसम्म अखडामा ओर्लिनै रहने छु, २५ जना शिष्यहरूलाई अहिले प्रशिक्षित गर्दैछु, कुस्तीसँगको नाता त कहाँ टुट्छ र ।’ गिरी गाउँमै मात्र होइन यस भेगमै हालसम्म पराजित भएका छैनन् ।


पहलमानहरूको गाउँको नामले मुलुकमै प्रसिद्ध यो गाउँमा बुधबार लागेको कुस्ती मेलाको दृश्य थियो यो । वर्षेनी छठ पर्व सकिएको दिन यहाँ लाग्ने मेलामा नेपाल र भारतबाट गरी १ लाख हाराहारी दर्शक ओइरिन्छन् ।


बुधबार अखडामा एकै दिन ३५ जोडी पहलमान ओर्लिएको व्यवस्थापन समितिका सदस्य तथा गिरीका समेत गुरु रही सकेका ६५ वर्षीय राजदेव यादवले बताए । यस वर्ष पहिलो पटक नवलपरासीबाट आएका २ जोडी महिला पहलमान पनि गाउँको अखडामा ओर्लिएको उनले बताए । हालसम्मको धोरे कुस्ती मेलाको इतिहासमा पुरुष पहलमान मात्र भिडेका थिए ।


यस पटकको अखडामा नेपालका गिरी, राज यादव, मनोज यादव तथा भारतका जनार्दन पहलवान, मंगल पहलवान, भीम पहलवान जस्ता नामी पहलमान आएका थिए । छठको अन्तिम दिन यहाँ वर्षेनी लाग्ने मेला कुस्ती मेलाकै नामले प्रसिद्ध छ । कुस्तीका सौखिनहरू नेपाल मात्र नभई भारतको पनि दुरदराजबाट मेला भर्न आउँछन् ।


अखडा वरपर खाजानास्ताका पसलदेखि झोलुङ्गोसम्म लागेका थिए । कोही कुस्तीमा रमाउँदै थिए भने कोही मेलाको भिन्दै आनन्द लिइरहेका थिए । हाल जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नं १ मा पर्ने यो गाउँ पहलमानहरूकै गाउँका रूपमा प्रसिद्ध छ ।


विगतमा प्रत्येक घरपिच्छे पहलमानहरू भेटिन्थे । एउटै घरमा एकभन्दा बढी पहलमान हुनु सामान्य कुरो थियो । पछिल्लो समय युवाहरू शिक्षा र रोजगारीको सिलसिलामा गाउँमा कम बस्न थालेपछि पहलमान केही घटेका छन् । तैपनि गाउँलेबीच कुस्ती मोह भने उत्तिकै छ । गाउँका कतिपय पहलमानले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय अखडाहरूसम्म आफ्नो कलाकौशल देखाएका छन् ।


स्थानीय श्यामबदन यादव धोरेको कुस्ती मेला परापूर्वकालदेखि चलिआएको बताउँछन् । ‘मेरो बाजेलाई पनि उहाँको बाजेले यो मेला कति पुरानो हो भनी बताउन सक्नु भएको थिएन रे,’ उनले भने, ‘अहिले त मेलाकै कारण यो गाउँको नाम चर्चित छ ।’


मेला लाग्ने दिन गाउँको प्रत्येक घरमा पाहुनाको भीडभाड हुन्छ । यादवकै घरमा यस पटक मेला भर्न आएका ३० जना पाहुना आइपुगेका थिए । यसरी नेपाल र भारतबाट समेत आउने पाहुनाको स्वागत सत्कारको पूर्वतयारी स्थानीयले गरेका हुन्छन् ।


‘मर्द’ को खेलका रूपमा चर्चित कुस्ती भनेपछि तराईवासी हुरुक्कै हुन्छन् । छठको थकान मेटन तराईका गाउँहरूमा कुस्ती प्रतियोगिता आयोजना गरिन्छ । यस दिन फुर्सद र मनोरन्जन गर्ने मुडमा रहने गाउँले पुरुषहरू कुस्ती खेलको मज्जा लिएर रमाउँछन् । कुस्ती हेर्न महिलाहरू भने आउँदैनन् ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?