कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बल्झियो नगरबीच सीमा विवाद

विवादबीच चन्द्रपुर नगरपालिकाको भोलनटार, इपिलिघारी र अरुणबस्ती जस्ता गाउँका स्थानियमा अन्यौल छाएको छ 
शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर र गुजरा नगरपालिका बीच सीमा विवाद अझै टुंगिएको छैन । भूगोल नक्सामा चुरेसम्म गुजरा नगरपालिकाको सीमाक्षेत्र रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिओग्राफी इन्फरमेसन सिस्टमले देखाएपछि विवाद चुलिएको पुगेको हो । 

बल्झियो नगरबीच सीमा विवाद

विवादबीच चन्द्रपुर नगरपालिकाको भोलनटार, इपिलिघारी र अरुणबस्ती जस्ता गाउँका स्थानीयमा अन्यौल छाएको छ । दुबैले आ–आफ्नो दाबी गर्न छाडेको छैन । पछिल्लो केही समय यता दुई नगरपालिका बीचको सीमाको विवाद टुंगो लाग्न नसकेको हो ।


स्थानीय राजनीति दलका नेताहरूले तत्काल विवाद टुंग्याउनुपर्ने बताउँदै आएका छन् । यहाँको हरेक राजनीति सभा र स्थानीय तहको कार्यक्रमहरूमा सीमा विवाद चाँडै टुंग्याउन दबाव दिँदै आएका छन् । दलका नेतृत्व समेत यसैमा लागिपरेको बताउँछन् ।


नेकपाका पूर्वसभासद रामकुमार भट्टराईले सीमा विवादले पछि समस्या आउने बताए । ‘यस्तो विवाद लामो समयसम्म राख्नु हुन्न,’ उनले भने, ‘सबै लागेर सीमाक्षेत्र निर्धारण गरी टुंग्याउनुपर्छ ।’ भट्टराईका अनुसार दुबै नगरपालिकाका मेयर बसेर समझदारी गर्नुपर्छ । र यसलाई चाँडै टुंग्याउनुपर्छ ।


चन्द्रपुर नगरपालिकाले आफ्नो सीमा कुनै हालतमा नछाड्ने बताउँदै आएको छ । जिओग्राफी इन्फरमेसन सिस्टमले देखाएपछि विवादको कुनै अर्थ नरहेको गुजरा नगरपालिकाको भनाइ छ ।


इपिलीघारी, भोलनटार र अरुण बस्ती लगायत चुरे क्षेत्रका केही गाउँ अहिले गुजरा नगरपालिकामा परेको भन्दै चन्द्रपुर नगर क्षेत्रको सीमामा बोर्ड राखिएपछि एकाएक विवाद बढेको हो । नगरपालिकाभरि यही विषयमा बहस सुरु भएको छ । २ वर्षअघि भोलनटार र इपिलिघारी मकवानपुरमा पर्छ भनेर जिल्ला सीमामै विवाद भयो ।


पछि रौतहटले आफ्नो सीमा भएको भन्दै सबै सेवासुविधा चन्द्रपुर नगरपालिकाबाट दियो । अहिले उक्त गाउँको नगरपालिका नै अर्को भन्नेमा विवाद सुरु भएको छ । जिल्ला र नगरपालिकाको सीमामा विवाद हुन थाले पछि चुरे क्षेत्रका स्थानीय अन्योलमा परेका छन् ।


पूर्वपश्चिम राजमार्गबाट झन्डै ७ किलोमिटर उत्तर घना जंगल छिचोलेर चुरे क्षेत्रका बस्ती पुगिन्छ । चन्द्रपुर नगरको सबैभन्दा विकट गाउँको नाम हो इपिलीघारी, भोलनटार र अरुणबस्ती । नगरपालिका भएर पनि यो बस्ती मानविय सेवाको पहुँचभन्दा टाढा छ ।


यहाँका बासिन्दाले पहिला नागरिकताको समस्या व्यहोरे । पछि कहाँ मतदान गर्ने भन्ने समस्या छ । अहिले कुन नगरपालिका पर्छ भन्ने विवादमा परेको छ । गुजराले भूगोल नक्सामै चुरे क्षेत्रसम्म आफ्नो नगरपालिकाभित्र पर्ने दाबीका साथ सीमा क्षेत्रमा बोर्ड समेत राखिसकेको छ ।


यो क्षेत्र घना जंगल र नदी क्षेत्र पर्छ । त्यसैले जल जंगलप्रति गुजराले लोभ गरेको हुन सक्ने चन्द्रपुरको बुझाइ छ । केही समयपछि दुबै नगरपालिकाका प्रतिनिधि बसेर छलफल गर्ने तयारीमा जुटेका छन् ।


चन्द्रपुरले रौतहट–बारा सीमा क्षेत्रको धन्सार पुलमा चन्द्रपुर नगरपालिकामा स्वागत छ भनेर बोर्ड राखेको छ । त्यसको ५ किलोमिटर वर चन्द्रपुरकै लमाह पुलमा गुजराले आफ्नो बोर्ड राखिएपछि विवाद बढेको हो ।


गुजराका मेयर शन्तलाल चौधरीले जिओग्राफी इन्फरमेसन सिस्टमले गुजरामा देखाएको दाबी गरे । ‘भूगोल नक्सामै साविकको रंगपुर गाविसको सीमा क्षेत्र चुरेसम्म परेको छ,’ उनले भने, ‘सर्भे विभागकै नक्सामा चुरेसम्म देखाएको छ । हामीले त्यतिकै पर्छ भनेका होइनौं ।’ मेयर चौधरीका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिओग्राफी इन्फरमेसन सिस्टमले गुजार नगरपालिकाको सीमा चुरे क्षेत्रसम्म देखाएको छ ।


यस क्षेत्रका अधिकांशले चन्द्रपुरबाट सेवा सुविधा लिँदै आएका छन् । उनीहरूको मतदाता परिचयपत्र यहींको छ । मकवानपुर र रौतहटबीच जिल्लाकै विवाद हँुदा स्थानीयले लामो समयसम्म सेवासुविधा पाएका थिएनन् । राष्ट्रिय वन मासेर बस्ती बसालिएकाले वनले समेत पटकपटक हटाउने प्रयास गरेको थियो ।


तर, राजनीति आवरणका कारण सकेन । अहिले त्यस क्षेत्रमा घना बस्ती छ । चन्द्रपुर नगरका उपमेयर रामरति चौधरीले चुरे क्षेत्रका बस्तीहरू चन्द्रपुरमै पर्ने दाबी गरिन् । ‘अहिले नक्सामा कहाँ र के हो भन्ने हामीलाई कुनै जानकारी छैन,’ उनले भनिन्, ‘यसलाई छलफल र समझदारीबाट चाँडै टुंग्याउनुपर्छ ।’


यस बस्तीमा एउटा पनि विद्यालय, स्वास्थ्य चौकी, खानेपानी छैन । चन्द्रनिगाहपुर बजारबाट झन्डै १३ किलोमिटर उत्तर हिँडेपछि बस्ती आउँछ । चारैतिर जंगल पहाड र खोलाको छेउमा रहेको भोलनटार र इपिलघारी चुरे क्षेत्र अतिक्रमण गरी २०४४ सालदेखि बस्ती बसेको हो । यो गाउँ अहिले चन्द्रपुर नगरपालिका ३ मा पर्छ ।


चुरे वनक्षेत्र अतिक्रमण गरेको भन्दै जिल्ला वनले यहाँ कुनै पनि संघ संस्थालाई कार्यक्रम लैजान दिइएको छैन । वनकै कारण उनीहरूले बाँच्नका लागि पाउने आधारभूत सुविधा नगरपालिकाले उपलब्ध गराएको छैन । विद्यालय नभएकाले गाउँका बालबालिकाहरू पढ्नबाट वञ्चित छन् । अधिकांश विद्यालय जाँदैनन् । उनीहरूले शिक्षा, स्वास्थ्य र सरसफाइ पाएका छैनन् ।


भोलनटारमा नाम मात्रको एउटा सानो विद्यालय छ । त्यो पनि २ कक्षा सम्म मात्र पढाइ हुन्छ । ‘त्यसपछि अध्ययनका लागि कहाँ पठाउने भन्ने चिन्ता हुन्छ,’ स्थानीय दिलबहादुर स्याताङले भने, ‘नगरपालिका भएर पनि यस्तो हालतमा बस्नु परेको छ । अहिले सीमाको विवादले झनै अन्यौल थपियो ।’


वर्षाका बेला यही खोला तर्न जोखिम हुन्छ । गाउँमा २ सयभन्दा बढी बालबालिका छन् । उनीहरू विद्यालय टाढा भएकाले अधिकांश पढ्न जाँदैनन् । यो बस्ती पुग्न बाटोको भरपर्दो सुविधा छैन । गाउँ विद्युत् समेत छैन । अधिकांशले सानासाना सोलार जडान गरी बत्ती बालेका छन् ।


नजिक बजार नभएकाले किनमेलका लागि बाराको सिंगौल, निजगढ वा चन्द्रनिगाहपुर जानुपर्छ । झन्डै ४ सय बढी घरधुरी रहेको बस्तीमा वर्षेनी झाडा पखालको प्रकोप देखिन्छ । शुद्ध खानेपानी नभएकाले कुवाको धमिलो पानी पिउँदा यस्तो समस्या ब्यहोर्नु परेको हो ।


कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले सीमा विवाद चाँडै टुंग्याइने बताए । ‘आपसी समझदारीमा समस्या समाधान गर्नुपर्छ,’ उनले भने, ‘मेरो गोरुको बारै टका भन्नु हुँदैन । यसले निकट भविष्यामा ठूलो समस्या ल्याउँछ ।’

प्रकाशित : मंसिर ३, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?