कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

जानकी परिसरमा फोहोर

उपमहानगरपालिकाले विशेष योजना नै बनाएर जानकी मन्दिरको सरसफाइमा ध्यान दिँदैछ – उपमेयर रता मिश्र

जनकपुर — मन्दिरमा सोमबार बिहानैदेखि जानकीको दर्शन र पूजाका लागि मानिसको ओइरो थियो । मन्दिर प्रवेशको भित्री ढोका नै ढ्याक्ने गरी जुत्ता चप्पलको चाङ देखिन्थ्यो । जथाभावी जुत्ताचप्पल फुकालिएकै नजिक रहेको नि:शुल्क जुत्ताचप्पल राख्ने स्टोरमा भने ताला लगाइएको थियो ।

जानकी परिसरमा फोहोर

मन्दिर परिसरमै पूजा सामग्री बेच्नेको त्यस्तै कोलाहाल थियो । यो मन्दिरको मुखमा देखिने दृश्यभन्दा अझ खराब त्यसको वरिपरि अवस्था छ । त्यहाँ फोहोरको डंगुर छ ।

मन्दिरको भित्री परिसरमा फोहोर र पूजा सामग्री राख्ने कन्टेनरको व्यवस्था रहे पनि बाहिरी परिसर फोहोर धूलोले ढोकेको छ । देशकै प्रशिद्ध धार्मिकस्थलको यो अवस्थाप्रति सम्बन्धित निकाय भने पन्छिदै आएका छन् ।


जानकी मन्दिरको पूर्वीउत्तरी मोहडाभन्दा दक्षिणी र पश्चिमको पछाडीको क्षेत्र बढी फोहोर र अव्यवस्थित छ । मन्दिरको दक्षिणी क्षेत्रमा शौचालय रहे पनि फोहोर अव्यवस्थित छ । मन्दिर वरिपरि सौन्दर्य बिगार्ने गरी ठूला भौतिक संरचना बन्दैछन् ।


प्रदेश २ को सरकारले जानकी मन्दिरको सौन्दर्यकरणमा अर्को सातादेखि साढे ७ करोड रुपैयाँ खर्चिदै छ । बाहिरी भित्री परिसरलाई आकर्षक र व्यवस्थित बनाउन जानकी मन्दिरमा मार्बल ओछ्याइँदै छ । ‘मार्बल ओछ्याएपछि मन्दिरभित्र रहेको बजार हट्छ,’ उत्तराधिकारी महन्थ दासले भने, ‘जुत्ताचप्पल लगाएर मन्दिर प्रवेशमा रोक लाग्छ । गाडीको भित्री प्रवेश रोकिन्छ ।’


उनका अनुसार विशेष अवसरमा आकस्मिक गाडी प्रवेशका लागि मन्दिरको पूर्वी ढोका मात्र प्रयोग हुन्छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मंसिर १३ गते जानकी मन्दिर सौन्दर्यकरण योजनाको शिलान्यास गर्दैछन् । जनकपुर उपमहानगरपालिका उपमेयर रताकुमारी मिश्रले मन्दिर वरिपरि सफासुग्घर राख्न नसकेको बताइन् ।


‘नियमित सरसफाइसँगै जानकी मन्दिरको अतिरिक्त सरसफाइको बन्दोबस्त मिलाउँदै छौं । सरसफाइ भए पनि मन्दिर परिसर र वरिपरि बजार र ठेलाले भद्रगोल र फोहोर देखिएको छ,’ उनले भनिन्, ‘उपमहानगरपालिकाले विशेष योजना नै बनाएर जानकी मन्दिरको सरसफाइमा ध्यान दिँदै छ । छिट्टै मन्दिर सफा देखिनेछ । पर्यटकलाई नाक थुनेर हिँड्ने बाध्यता हटाउँछौं ।’


मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकी मन्दिर पुग्ने सहरका सबै सडक निर्माणाधीन रहेकाले दर्शनार्थीसँगै धूलो र माटो आइरहेको बताए । ‘सडक नबनेसम्म मन्दिरको बाहिरी परिसरलाई व्यवस्थित गर्न मुस्किल छ,’ दासले कान्तिपुरसँग भने, ‘दैनिक २ हजारभन्दा बढी आउने दर्शनार्थीसँगै निर्माणाधीन सडकको धूलो र माटो मन्दिरमा भित्रिरहेको छ ।’


दासले भने मन्दिरको सौन्दर्यकरण र व्यवस्थापनका लागि मास्टर प्लान नै तयार गरेर कार्यान्वयन गर्नुपर्ने बताउँछन् । मन्दिरका उत्तराधिकारी महन्थ दासले सरकारी सहयोगमा मन्दिरलाई दुई वर्षभित्रमा व्यवस्थित र आकर्षक बनाइने दाबी गर्छन् । उनले देखिनेगरी परिवर्तन केही महिनामै सुरु हुने बताए ।


विक्रम संवत् १४१७ मा भारत, मध्यप्रदेश लोहागढका सुरकिशोर दास सीताको स्वर्णमूर्ति खोज्दै जनकपुर आइपुगे । उनी साधु थिए । सपनामा सीतामाताले ‘मेरो स्वर्णमूर्ति जहाँ भेटिन्छ, त्यही नै जनकपुर हो’ भनेपछि उनी मूर्तिको खोजीमा निस्केका थिए । सीताको स्वर्णमूर्ति भेटिएको ठाउँमा उनले कुटी बनाए । र, त्यहीं बस्न थाले ।


त्यति बेला जनकपुर घना जंगलभित्रको सानो बस्ती थियो । सीताको स्वर्णमूर्ति भेटिएको खबर फिँजिएपछि भारत, मध्यप्रदेशकै टिकमगढकी रानी बृषभानु कुँवर जनकपुर आइन् । उनले सन्तान प्राप्तिको भाकल गरिन् । सन्तान प्राप्तिपछि रानी बृषभानुले झोपरडीमा रहेको सीताको मन्दिरलाई आलिशान बनाइदिइन् । ९ लाख चाँदीका असर्फी खर्चेर सन् १८९४ मा शिलान्यास गरिएको जानकी मन्दिरको निर्माण सन् १९११ मा सकियो ।


मुगलशैलीको जानकी मन्दिरको निर्माणपछि जनकपुर घना बस्तीमा परिणत हुन थाल्यो । क्षेत्रफलमा नेपालकै सवभन्दा ठूलो मन्दिर र हिन्दूको पवित्र धर्मस्थल जानकी मन्दिर भने अस्तव्यस्त छ । मन्दिर महन्थको एकल व्यवस्थापनमा रेखदेख भइरहेको जानकी मन्दिरमा दिनहुँ २ हजारभन्दा बढी मानिस पूजाअर्चनाका लागि आउँछन् ।


आकर्षक दुई योजना

एक सय ४० वर्ष पुरानो जानकी मन्दिरलाई सुन्दर बनाउन दुई योजना अघि सारिएको छ । दुबै योजनाको स्केच हेर्दा ‘आहा कति सुन्दर जानकी मन्दिर’ भन्न कर लाग्छ ।


प्रदेश २ को सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) ले जानकी मन्दिरको सौन्दर्यकरणका लागि योजनासहित लगानी गर्न तयार भएको छ । प्रदेश सरकारले साढे ७ करोड रुपैयाँ खर्चेर जानकी मन्दिरमा मार्बल ओछ्याउँदै छ । एनआरएनले करिव ५ करोड खर्चमा मन्दिरलाई लाइटिङ जडान गर्ने सम्झौता गरिसकेको छ ।


प्रदेश सरकारले सौन्दर्यकरणपछि देखिने मन्दिरको स्वरूपको स्केच समेत तयार पारेको छ । मन्दिर प्रवेशलाई व्यवस्थित बनाउन नयाँ र आकर्षक गेटको निर्माण गरिने योजना छ । गैरआवासीय नेपाली संघ (एनआरएन) ले विद्युतीयकरण गर्न तयार भएपछि १ सय ४० वर्ष पुरानो जनकपुरको जानकी मन्दिर रातको समयमा झकिझकाउ देखिनेछ । मुगलशैलीको जानकी मन्दिरलाई रातको समयमा झकिझकाउ बनाउन एनआरएन र जानकी मन्दिर छुट गुठीबीच सम्झौतामा हस्ताक्षर भइसकेको छ ।


जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास र एनआरएनका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गर्दै विद्युतीयकरणले जनकपुरमा पर्यटकको आगमन बढ्ने दाबी गरे ।


जनकपुरको जानकी मन्दिर मुलुककै ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहर रहेकाले पर्यटकलाई अझ आकर्षित गर्न विद्युतीयकरण गरिने एनआरएनको दाबी छ । जानकी मन्दिर परिसरमा प्रकाश प्रज्जवलित गर्न एनआरएनले विस्तृत योजना तयार पारेको छ ।


जानकी मन्दिरमा गरिने विद्युतीयकरण सोलर र विद्युत् दुबैबाट सञ्चालित हुने छ । विद्युत् नभएको बेला पनि सोलारबाट जानकी मन्दिरको लाइटिङ कायमै रहने छ । कम विद्युत् खपत हुने एलइडी ब्लव सौन्दर्यकरणमा प्रयोग गरिनेछ । जानकी मन्दिरमा लगाइने लाइटिङसँगै धार्मिक कथावस्तु समेटिएको दृश्य पनि चल्नेछ ।


जानकी मन्दिरमा लाइटिङ लगाउने अभियानको अगुवाइ गरेका मनिष झाले पुरातत्त्व विभागबाट स्वीकृतसहितको डकुमेन्ट मन्दिरलाई पठाइसकिएको बताए । उनले एनआरएनको आन्तरिक तयारीका कारण लाइटिङको परियोजनामा ढिलाइ भए पनि अब केही दिनमै काम सुरु हुने दाबी गरे । जानकी मन्दिरले भने एनआरएनको लाइटिङ योजनाबारे पछि केही जानकारी नआएको बताउँछन् ।


मन्दिर छेक्ने गरी संरचना बन्दै

भारत, पटनाका राजन अग्रवाल छठपर्वमा ४ दिन घुम्ने योजनासहित परिवारै बोकेर जनकपुर आए । जनकपुर आएकै दिन जानकी मन्दिर, राम मन्दिरमा पूजाअर्चना गरे । र, साँझ पवित्र तलाउ गंगासागरको आरती हेरेर रमाए ।


तर, जनकपुरको फोहोर र जानकी मन्दिर नै ढाकिने गरी बनाइएको पन्डाल र अग्ला घरले उनलाई खिन्न बनायो । सहरको बजारमा पनि उनले ग्राहकमैत्री पसले पाएनन् ।


राम जानकी विवाहपञ्चमीका लागि निर्माण भइरहेको विशाल पन्डालले जानकी मन्दिरलाई ढाकेको छ । अग्रवालको इच्छा थियो, पृष्ठमूमिमा मन्दिर आउने गरी परिवारको तस्बिर खिचाउने । पन्डालका कारण उनले खिचेको तस्बिरमा मन्दिरको पूर्ण कद अटेनन् । अनि उनले सुझाए, ‘मन्दिरको बैभव नै छेकेर पन्डाल लगाउनुको अर्थ हुन्न । जानकी मन्दिरको दायाँ र बायाँतर्फ रहेको खाली स्थानमा पन्डाल लगाउनु पथ्र्यो ।’


साताअघि मात्रै चीनबाट २१ जना फोटोग्राफरको टोली जानकी मन्दिरको पूर्ण कदको तस्बिर खिच्न जनकपुर पुगे । तर, मन्दिर अगाडि थुप्रिएको फोहोरले उनीहरू नाक खुम्चाए । खाल्डैखाल्डा भएको सडकले उनीहरूलाई मन्दिरसम्म पुग्न समस्या पर्‍यो । उनीहरूको योजना थियो, मन्दिरको बाहिरी परिसरमा बच्चालाई रंगअविर उडाउन लगाएर जानकी मन्दिरको पूर्ण कदको तस्बिर कैद गर्नु । मन्दिरमा बन्दै गरेको पन्डालले उनीहरूको मनसाय पूरा हुन सकेन ।


सीताको जन्मभूमि जनकपुर दर्शनमा आउने पर्यटकको पहिलो गन्तव्य जानकी मन्दिर हुन्छ । मन्दिर परिसरमा पुग्दा पूजापाठपछि मन्दिर अगाडि फोटो खिचाउन सबै चाहन्छन् । तर, धार्मिक प्रवचन र कार्यक्रमका लागि मन्दिर परिसरमा बनाइने पन्डालका कारण पर्यटकले मनलाग्दी तस्बिर खिच्न पाउँदैनन् । पन्डालकै कारण फोटामा जानकी मन्दिरको पूर्ण भाग आउँदैन् ।


जानकी मन्दिर परिसरमा बनाइने पन्डाल, परिसरभित्रै लागेको बजार, मन्दिर परिसरमा भिक्षा माग्ने व्यक्ति र विभिन्न धर्म प्रचार गर्ने शैलीले मन्दिरमा दर्शन गर्न आउनेलाई समस्या छ । मन्दिर परिसरमा लाग्ने बजार र पन्डालले पर्यटकमा नकारात्मक असर परेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न अभियान चलाएका भोरका अध्यक्ष राजकुमार महतो बताउँछन् ।


जनकपुरका होटल व्यवसायी अभिषेक झुनझुनवालाले जानकी मन्दिरभित्रको फोहोरबारे पर्यटकले गुनासो गर्ने गरेको बताउँछन् । ‘जानकी मन्दिरका कारण जनकपुर आउने पर्यटक बढेको छ,’ उनले भने, ‘तर, जानकी मन्दिर वरिपरि फोहोरको डंगुर छ । पर्यटकको एउटै गुनासो फोहोर नै हो ।’

प्रकाशित : मंसिर ४, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?