कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमाबाट २ युवतीको उद्धार

शंकर आचार्य

पर्सा — युएइको दुबईमा आकर्षक जागिरको प्रलोभन दिई सीमा कटाउन लागिएका २ युवतीको वीरगन्ज सीमाबाट उद्धार गरिएको छ । उनीहरूलाई भारत लैजान लागेका २ लाई पक्राउ गरी ज्यु मास्ने बेच्ने मुद्दा चलाइएको छ । 

सीमाबाट २ युवतीको उद्धार

मकवानपुर कैलाश गाउँपालिकाका २५ वर्षीया र २९ वर्षीयालाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लग्दै गरेको अवस्थामा वीरगन्ज सीमा नाकास्थित मानव बेचबिखनविरुद्ध कार्यरत संस्था केआई नेपालको सूचना तथा परामर्श केन्द्रले शुक्रबार उद्धार गरेको हो ।


उनीहरूलाई बेचबिखन गर्ने उद्देश्यले सीमा कटाउन लागेका मकवानपुर थाहा नगरपालिका ७ का १९ वर्षीय रामचन्द्र खत्री र मकवानपुर भीमफेदी गाउँपालिका ९ की ३६ वर्षीया मिना विक पक्राउ परेका हुन् । दुबैलाई आइतबार जिल्ला अदालतमा पेस गरी प्रहरीले ज्यु मास्ने बेच्ने मुद्दामा कारवाही अघि बढाएको छ । सीताको उनीहरू नातामा बहिनी पर्छन् । सीताको दुबै ठूलीआमाका छोरी हुन् ।


केआई वीरगन्जकी प्रमुख तारा सापकोटाका अनुसार शुक्रबार बिहान ८ बजे सीमाबाट ती युवतीको उद्धार गरिएको हो । रामचन्द्र र सीता छुट्टै टाँगामा भारत रक्सौलतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेपछि रामचन्द्र र सीताले अभियोग स्वीकार गरेका छन् । उनीहरूले दुबैलाई जनही १ लाख ५ हजारमा दुबई पुर्‍याउने प्रलोभन दिएकोमा तीमध्ये रेखाबाट पूरै र राधाबाट ४० हजार पाइसकेको स्वीकारेका छन् ।


रामचन्द्रले सीताले आफूलाई दुबैलाई सीमा कटाए बापत मात्र ४० हजार दिने बताएकाले आफूले यो काम गरेको बयान दिएका छन् । सीताले भने आफूले यसअघि पनि यसरी नै अन्य युवतीलाई पनि सीमा कटाइसकेकाले उनीहरूलाई भारतको बाटो हुँदै दुबई लग्न खोजेको बयान दिएकी छन् ।


यो गिरोहले साताअघिदेखि दुबैलाई राजधानीबाट भरतपुर, बुटवलसम्म ल्याएर अन्त्यमा वीरगन्ज नाका हुँदै भारत लग्न खोजेको थियो । कात्तिक २६ गते राजधानीबाट दुबई उड्ने विमान भनेर झुक्याएर भरतपुर ल्याएको र त्यसको भोलिपल्ट बुटवल लगेपछि आफूहरू नेपालमै रहेको तिनीहरूले भेउ पाएका थिए । अन्त्यमा नेपालबाट दुबईको विमानको टिकट नमिलेको र भारतमा टिकट मिलेको भन्दै झुक्याएर उनीहरूलाई भारत कटाउन लागिएको थियो ।

प्रकाशित : मंसिर ५, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?