कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलाधार उपयोगमा चार नगरपालिका

सिरहा — कमला नदी जलाधार क्षेत्रबाट प्रभावित चार नगरपालिकाले यसको उपयोग र व्यवस्थापनका लागि संयुक्त रूपमा योजना बनाउँछन् । 

जलाधार उपयोगमा चार नगरपालिका

नेपाल सरकार जल तथा ऊर्जा आयोगको सचिवालयका लागि अस्ट्रेलियन सरकारको द कमन वेल्थ साइटिफिक एन्ड इडस्ट्रिज रिसर्च अर्गनाइजेशन (सीएसआईआरओ) को सहयोगमा जलस्रोत विकास संस्था र पीइआईले सोमबार लहानमा आयोजना गरेको कमला नदी जलाधार क्षेत्रको विकास रणनीति निर्माणबारे स्थानीय सरोकारवालासँगको कार्यशालामा यस्तो साझेदारीको योजना ल्याएको हो ।

कार्यशालामा सिरहा नगरपालिका प्रमुख अशेश्वर यादव, मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादव, कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डल र कर्जन्हा नगरपालिकाका उपप्रमुख ज्ञानु श्रेष्ठले कमला जलाधार क्षेत्रको नदीको पानी बाँडफाँड, उपयोग र व्यवस्थापनका लागि साझा योजना बनाउनुपर्नेमा जोड दिए ।

नदीको कारण बाढी, भूक्षय लगायतका समस्या समाधानसँगै खानेपानी, सिँचाइ, जलविद्युत्, उद्योग, कृषि, पशुपालन लगायतका पानीको बहुउपयोगका लागि बजेटको साझेदारीसहित एकीकृत योजना निर्माण र प्राथमिकीकरणका लागि सहकार्य गर्नुपर्नेमा उनीहरूको साझा मत थियो ।

उनीहरूले योजना निर्माणका लागि सरकार र अनुभव प्राप्त संस्थाहरूको सल्लाह र समन्वय आवश्यक रहेको बताउँदै यसको कार्यान्वयनका लागि सबै नगरपालिकाले संघ र प्रदेश सरकारसँगको समन्वयमा कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यशालामा सरकारका पूर्वसचिव एवं जलस्रोत विकास संस्थाका उपाध्यक्ष सोमनाथ पौडेलले सिरहा, धनुषा, उदयपुर र सिन्धुली जिल्लाका प्रभावित स्थानीय तहको प्रत्यक्ष सहभागितामा नदी जलाधार क्षेत्रको एकीकृत रणनीति निर्माण गर्न लागेको जानकारी दिए । ऊर्जा मन्त्रालयका पूर्वसहसचिव केशवध्वज अधिकारीले देशभरिका नदी जलाधार क्षेत्रको योजना निर्माणको क्रममा नमुनाका रूपमा कमला जलाधार क्षेत्रको विकास रणनीति निर्माण भइरहेको जानकारी दिए ।

जल तथा ऊर्जा आयोगका सिनियर डिभिजन इन्जिनियर डा. महेश्वर श्रेष्ठले सरकारले नदी जलाधार क्षेत्रको योजना, नीति र रणनीति निर्माण गर्न लागेको उल्लेख गर्दै निर्माण हुन लागेको एकीकृत जलस्रोत नीतिका लागि कमला जलाधार क्षेत्रको अध्ययनको निष्कर्ष सहयोगी हुने बताए । अहिले गरिँदै आएको अध्ययन सिँचाइ, खानेपानी र जलविद्युतको प्राथमिकीकरणका लागि सहयोगी हुने उनको भनाइ थियो ।

वन तथा भूसंरक्षण विभागका सहायक भूसंरक्षण अधिकृत पासाङ तामाङले कोशी बृहत् जलाधार अन्तर्गत कमला जलाधार क्षेत्रको जलाधार संरक्षणका लागि सिरहामा जलाधार व्यवस्थापन कार्यालय स्थापना भइसकेको र यस क्षेत्रमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरिने बताए ।

सिरहा र धनुषाको केही भागमा मात्र सिँचाइ सुविधा पुर्‍याउँदै आएको ५७ वर्षअघि स्थापित कमला नहरमा सुनकोसीसँग जोड्ने परियोजना सुचारु गर्न किसानहरूले माग गर्दै आएका छन् । दुई जिल्लामा आंशिक सिँचाइका लागि निर्माण गरिएको नहरमा सुनकोसीको पानी ल्याउन सके यसले सिरहा र धनुषालाई मात्र होइन, सप्तरी र महोत्तरीमा समेत सिँचाइ सुविधा पुर्‍याउन सक्ने किसानहरू बताउँछन् ।

ती दुवै जिल्लामा सिँचाइ सुविधा पुर्‍याउन ५७ वर्षअघि तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिंहले २०१७ कात्तिक २६ गते कमला नहर प्रणालीको शिलान्यास गरेका थिए ।

१४ क्युमेक्स सिँचाइ क्षमता रहेको कमला सिंँचाइ प्रणालीले धानबालीका लागि पश्चिमी सिरहा र पूर्वी धनुषा दुवैमा १२ हजार ५ सय हेक्टर गरी २५ हजार हेक्टर भूमिमा सिंँचाइ सुविधा पुर्‍याउँदै आएको छ । त्यसैगरी हिउँदे गहुँबालीका लागि दुवैतर्फ ८ हजार ५ सय गरी १७ हजार हेक्टरमा सिंँचाइ सुविधा पुर्‍याउँदै आएको छ । कमला वेसिनको जलाधार क्षेत्र १ हजार ५ सय ५० वर्गकिलोमिटर छ ।

कार्यशालामा प्रभावित समुदाय, स्थानीय तह तथा राष्ट्रिय तहमा सरोकारवाला, नीतिनिर्माता लगायतसँग छलफल गरी एकीकृत रणनीतिका मुख्य लक्ष्यका रूपमा जल उत्पन्न प्रकोप जोखिम न्यूनीकरण तथा जीविकोपार्जनमा टेवा पुर्‍याउनका लागि चुरे तथा यसका प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन, जीविकोपार्जन, जीवनस्तर तथा आर्थिक वृद्धिका लागि जल उत्पन्न प्रकोपको न्यूनीकरण, जलस्रोत उपलब्धता प्रयोग र बाँडफाँडमा सुधार तथा स्थानीय आर्थिक समृद्धि र जीविकोपार्जन सुरक्षाका लागि व्यावसायिक तथा वैज्ञानिक कृषि प्रणालीको विकास लगायतको प्रस्ताव गरिएको थियो । यी मुख्य लक्ष्यबारे स्थानीय सरोकारवाला तथा स्थानीय तहसँग छलफल गरिएको थियो ।

प्रकाशित : मंसिर ५, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?