कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्ती त्रासले रातभर जाग्राम

सर्लाही — सर्लाही, लालबन्दी नगरपालिका–११, हिरापुरकी माया गोले ४ दिनयता जंगली हात्तीको त्रासले राती सुत्न पाएकी छैनन् । उनी मात्र हैन, उनको परिवारमा बालकदेखि वृद्धसम्म रातभर जाग्राम बस्छन् । 

हात्ती त्रासले रातभर जाग्राम

केही दिनयता राती गाउँमा देखिने हात्तीले घर भत्काउनुका साथै अन्नपात खाने र ज्यान पनि लिने हो कि भन्ने त्रासले उनी भयभित भएकी हुन् । चार दिनदेखि त्यस क्षेत्रमा देखा परेको जंगली हात्तीले करिब एक दर्जन घर भत्काइसकेको छ ।


गाउँको नजिकको जंगलमा आएको जंगली हात्ती आतंकले हीरापुरबासी त्रासमा छन् । दिनभरी नजिकैको जंगलमा बस्ने र रात परेपछि बस्ती छिर्ने हात्तीका कारण स्थानीयवासी निकै त्रसित बनेका हुन् । गाउँमा आइतबार रातीदेखि हात्तीको समूहले घरमा क्षति र राखिएको अन्नपातसमेत खाने गरेको छ ।


गोलेले साँझ पर्नेबित्तिकै हात्तीको डरले पुरै गाउँ नै त्रासमा बस्ने गरेको बताइन् । ‘चार रात भइसक्यो राती सुत्न पाएका छैनाैं, आजको रात पनि यस्तै बित्ने होला,’ उनले भनिन् ‘रातीको खाना साँझ पर्नुभन्दा अघि नै खाइहाल्छौं, दिउँसो एकछिन सुत्छौं के गर्ने रातीको ड्युउटी गर्नु परिहाल्यो ।’


सो गाउँको सम्पूर्णको दैनिकी गोले परिवारको जस्तै छ । उनीहरू हात्तीको डरले रातभर जाग्राम बस्ने गरेका छन् । हात्तीको आक्रमणबाट बच्न गाउँले समूह–समूहमा जम्मा भएर बस्ने गरेका छन् । घाँस–दाउरा गर्न नजिकैको जंगलमा जान समेत नसकेको स्थानीयले बताए ।


‘हामी जंगली हात्तीको डरले त्रसित छौं, हात्तीबाट बच्न राती हामी समूह बनाएर बस्ने गर्छौं,’ स्थानीय बुद्धिमान गोलेले भने, ‘हात्तीको डरले नजिकको जंगलबाट घाँसदाउरासमेत ल्याउन सकिएको छैन ।’ हात्ती आउनेबित्तिकै गाउँले मिलेर भाँडा ठटाउने, आगो बाल्ने, पटका पडकाउनेजस्ता काम गर्दै आएका छन् ।

चार दिनदेखि त्यस क्षेत्रमा देखा परेको जङ्गली हात्तीले घर भत्काउँदा पीडितको बिजोग भएको छ ।


हात्तीले घर भत्काएकाको राती ओत लाग्ने ठाउँ पनि नरहेको वडाध्यक्ष दिपक लामाले बताए । हात्तीका कारण स्थानीयमा निकै त्रास बढेकाले हात्ती धपाइदिन वडाध्यक्ष लामाको आग्रह छ । ‘हात्तीका कारण स्थानीय त्रासमा छन्, त्यसकारण हात्ती धपाइदिनुपर्‍यो,’ लामाले भने, ‘हात्तीले घर भत्काएकाको बिजोग छ, उनीहरूलाई यो चिसो मौसममा ओत लाग्ने ठाउँ छैन ।’

प्रकाशित : मंसिर २०, २०७५ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?