कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गायिकाले बाँडिन् सिरक र कम्बल

पर्सा — टोलकी ज्योती देवीको मुहारमा बुधबार लामो समयपछि मुस्कान देखिएको थियो । गायिका अन्जु पन्तले उनको हातमा २ वटा सिरक दिएपछि उनको मुहारमा मुस्कान देखिएको हो । 

गायिकाले बाँडिन् सिरक र कम्बल

सातायता बढेको जाडोका कारण लालाबाला राति कसरी निदाउँछन् भनी उनले गरी रहेको चिन्ता सिरकले दुरगरेको थियो । ‘अब मेरा लालाबाला राति कठ्यांग्रिने भएनन्,’ ज्योतीले भनिन्, ‘मेरा बालबच्चा कपडाको गुद्रा ओढेर सुतेको र रातभरि जाडोले कापेको दृश्यले मन कटक खान्थ्यो ।’


टोलकै हरि पासवानले पनि गायिक पन्तबाट २ वटा सिरक उपहार पाए । वृद्ध बुवाआमा र ससाना छोराछोरीले दिउँसो घाम तापेर जाडो छले पनि राति उनीहरूलाई जाडोले पिरोलेको दृश्य उनी सधंै हेर्दै थिए । गरिबीका कारण बिहान बेलुका हातमुख जोर्न धौधौ परेको हरिको परिवारले पनि बोरा र गुद्रा ओढेर जाडो छल्दै थियो । ‘कम्बल र सिरक आजसम्म हामीले ओढेका छैनाैं,’ हरिले भने, ‘जीवनमा पहिलो पटक मेरो हातमा कम्बल परेको छ, अब राति जाडोले निद्रा टुटने भएन ।’


वीरगन्ज महानगरको वडा नं ३१ बेल्वास्थित बौगी खोला पूर्वमा रहेको यो टोलका २२ घरधुरीलाई गायिक अन्जु पन्तले आफ्नो फाउन्डेशनमार्फत बुधबार जाडो छल्न कम्बल वितरण गरेपछि धेरै स्थानीयले यस्तै प्रतिक्रिया दिए । चरम गरिबीको मार झेलिरहेको यो बस्तीमा राम र पासवान जातिको मात्र बसोबास छ । तराईमा यी जाति कथित दलितभित्रको पनि महादलितभित्र पर्छन् ।


ऐलानी जग्गामा रहेको यो बस्तीका सबै घरधुरी चरम गरिबीको रेखामुनि छन् । आफ्नो खेतीबारी नरहेकाले ज्यालामजदुरी गरी जीविकोपार्जन गर्छन् । घरमूलीले काम नपाएको दिनमा साँझपख उनीहरूको घरमा चुलो बल्दैन । शिक्षा, स्वास्थ्य, सरसफाइ आदिको मामिलामा पनि टोल निक्कै पिछडिएको छ । सातायता तराईमा बढेको जाडोले यो टोल अछुतो छैन ।


गाउँकै हुने खानेहरू फेरिफेरि स्वेटर र ज्याकेट लाउँछन् तर यो टोलका बासिन्दाको आङमा अझै एकसरो पातला लुगा मात्र छन् । अति विपन्न बस्तीका बासिन्दाहरू कम्बल पाएपछि उनीहरूको मुहारको खुसी देखेर गायिका पन्त पनि भावबिभोर भएकी थिइन् । आफू तराईको अति विपन्न बस्तीमा यसरी पहिलो पटक आएको उनले बताइन् ।


‘वीरगन्ज महानगरमै पनि यति विपन्नता र पछौटेपन छ मैले देखेकी थिइन,’ उनले भनिन्, ‘यो टोलवासीलाई वर्षेनी जाडोले पिरोल्ने गरेको खबर पाएपछि म यसरी उहाँहरूको पीडा थोरै भए पनि कम हुन्छ भनेर आएकी हुँ ।’ पन्तले आफ्नो फाउन्डेशनमार्फत सातायता पर्सा तथा सर्लाहीका विभिन्न विद्यालयमा पाठ्य सामग्री, सिरक वितरण गर्दै आएकी छन् ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?