कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

स्थानीय तहमा भ्रष्टाचार कायमै

जनप्रतिनिधिले गुपचुप तरिकाले आफ्नो र नेता कार्यकर्तालाई मात्र फाइदा हुने योजना बनाउने गरेको आरोप
पवन यादव

सिमरा — स्थानीय तहमा भ्रष्टाचार अझै कायमै रहेको आइतबार कलैयामा विभिन्न स्वावलम्बन समूह र संवाद संजालमा आवद्ध सदस्यले आरोप लगाएका छन् । 

स्थानीय तहमा भ्रष्टाचार कायमै

‘भ्रष्टाचारविरुद्ध एक जुट होऔं’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा कलैयामा आयोजित र्‍याली तथा सडक नाटक कार्यक्रमका सहभागीले यस्तो आरोप लगाएका हुन् ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी अहिले पनि पुरानै शैलीमा कार्य गर्दै भ्रष्टाचारमा लिप्त रहेको गुनासो उनीहरूले गरे ।


जनप्रतिनिधिले गुपचुप तरिकाले आफ्नो र नेता कार्यकर्तालाई मात्र फाइदा हुने योजना बनाउने गरेको परवानीपुर गाउँपालिका १ बुनियादकी सरिता मण्डलले आरोप लगाइन् ।


‘योजना तर्जुमा गर्न अनिवार्य गाउँ, टोलमा भेला गरिनुपर्छ,’ उनले भनिन्, ‘तर जनप्रतिनिधिले भेला गर्दैनन् ।’ निर्वाचनअघि दल प्रतिनिधिले जसरी कोठामै बसेर योजना छनौट गर्थे । अहिलेका निर्वाचित जनप्रतिनिधिले पनि त्यसरी नै कोठामै बसेर योजना तर्जुमा गर्ने गरेको आरोप उनले लगाइन् । पुरानो संरचना फेरिए पनि जनप्रतिनिधिको कार्यशैली पुरानै शैलीमा रहेको आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्था बुनियादकी अध्यक्ष समेत रहेकी मण्डलले आरोप लगाइन् ।


नयाँ संविधानले महिला, बालबालिका तथा फरक क्षमताका व्यक्तिलाई अधिकार सम्पन्न बनाएको छ । तर सबैले आफ्नो अधिकार अझै प्रयोग गर्न जानेका छैनन् । उनीहरूलाई आफ्नो हकअधिकारका बारेमा जानकारी गराउन आफूहरू ब्यानर र प्लेकार्ड लिएर सडकमा ओर्लनु परेको उनले जानकारी दिइन् ।

‘हामीले आफ्नो हक अधिकारका बारेमा जानकारी पाइसकेका छौं,’ र्‍यालीमा सहभागी सामाजिक परिचालक सुनिता यादवले भनिन्, ‘नजानेकाहरूलाई सचेत गराउन हामी जानकार महिलाहरू लागिपरेका छौं ।’ सबैले आ आफ्नो अधिकारको बारेमा जान्नै पर्छ । योजना तर्जुमा अहिले पनि महिला सहभागिता शून्य रहेको उनले आरोप लगाइन् ।


कलैया मदर्सा टोलबाट सुरु भएको र्‍याली नगर परिक्रमा गरी भरत चोकमा पुगेर सम्पन्न भएको थियो । र्‍यालीपछि सबल संवाद संजाल बेहरा नितनपुरमा आवद्ध कलाकारहरूले जनतालाई अधिकारप्रति जागरुक गराउन सडक नाटक मञ्चन गरेका थिए ।


नाटकमा बयोबृद्धको रोलमा अभिनय गरेका नितेश गिरीले सार्वजनिक भेलामा सहभागी हुन आर्थिक लाभको जिकिर गरेका थिए । ‘कार्यक्रममा सहभागी भएपछि के पाउँछ ?,’ उनले अभिनय गर्दै भने, ‘भत्ता पाउँछ नि भन्दै गाउँका युवाहरूको सल्लाहमा भेलामा सहभागी भए ।’ भेलामा छोरी बेटी, बुहारी सहभागी भएको देखेर उनी बिच्किएका थिए ।


समाजमा अझै कायम रहेको छुवाछूत, भेदभावलाई इन्कित गरेका थिए । भत्ताको प्रलोभन दिएर गैर सरकारी संस्था र दलहरूले भेला, समारोहमा सहभागी गराउने चलनलाई समेत उनले नाटकमा उजागर गरेका थिए ।


सोही नाटकमा वडाध्यक्षको भूमिकामा देखिएकी संवाद संजाल नेटवर्ककी कोषाध्यक्ष निलम मण्डलले घुँघटमा रहेका महिलालाई अधिकारको लागि अघि बढेनु पर्नेमा जोड दिइन् । नाटकका कलाकारहरूले पनि स्थानीय तहमा कायम रहेको भ्रष्टाचारबारे चित्रण गरेका थिए ।


‘सुरक्षालाई मध्यनजर गरी घर घरमा अनिवार्य चर्पी बनाउने योजनालाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भनिन्, ‘चर्पी नबनाउनेको सेवा सुविधा रोक्नुपर्छ ।’ चर्पीले हाम्रै इज्जत जोगिन्छ । खुला ठाउँमा शौच गर्न जाँदा स्यालको आक्रमण, बलात्कार हुनबाट जोगिने लगायतका फाइदा पुग्ने भन्दै उनले नाटक मात्र सबैलाई सचेत गराइन् । सबै मिले भ्रष्टाचार रोकिने सन्देश समेत नाटकले दिएको कार्यक्रममा सहभागी राजनारायण रामले बताए ।


भ्रष्टचारविरुद्ध नारा लगाउँदै प्लेकार्ड बोकेका अधिकांस महिला सहभागीलाई र्‍याली गर्न र नाटक मञ्चन गर्न कति बजेट खर्च भएको बारे जानकारी थिएन । भ्रष्टाचार अरूलाई देखाएर होइन । आफैंबाट

नगर्न र गर्न नदिन अगाडि बढ्नुपर्नेमा कलैयाका शिक्षक राजेश साहले बताए ।


‘सबभन्दा बढी गैरसरकारी संस्थाहरूमै आर्थिक अनियमितता हुने गर्छ,’ उनले भने, ‘उनीहरूले आफ्नै संस्थामा हुने गरेको भ्रष्टाचारलाई पहिला रोक्नुपर्छ ।’ अनिमात्र समाजमा भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्ने जिकिर उनले गरे ।


सहभागीहरूले स्थानीय तहमा भइरहेको भ्रष्टाचारबारे आवाज उठाउनु राम्रो काम भएको भन्दै प्रशंसा गरे ।

स्ट्रोम फाउन्डेसनको सहयोगमा दलित जनजाति उत्थान केन्द्र कलैया, स्वावलम्बन समूहहरू बुनियाद, लिपनीमाल, रामपुरटोकनी, मोतिसर, खुटवा, सबल संवाद संजाल बेहरा नितनपुरको संयुक्त आयोजना उक्त कार्यक्रम गरिएको थियो ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?