कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकियो बालविवाह

अभिभावकले विवाहका लागि दाइजो लेनदेनमा कुरा मिलाउँदै गर्दा लिखित गुनासो आएपछि जनसेवाले तत्काल रोक्न पहल थालेको थियो ।
शिव पुरी

रौतहट — गरुडा नगरपालिकास्थित एक विद्यालयमा अध्ययरत दुई बालिकाका अभिभावकले गत बुधबार आफ्ना छोरीको विवाहको मिति तय गर्न केटा पक्षलाई घर बोलाए । बालिकाकाको उमेर भने १४ र १५ वर्षको थियो । 

रोकियो बालविवाह

उमेर नपुगी विवाह गरिदिन थालेपछि बालिकाले विद्यालयमा रहेको गुनासो पेटिकामा लिखित उजुरी गरिन् । सम्बन्धित निकायले पेटिका खोलेर हेरेपछि तत्काल दुबैको विवाह रोकियो । त्यसपछि अभिभावकले उमेर नपुगी विवाह नगर्ने लिखित प्रतिबद्धता जनाए ।


विद्यालयमा जनसेवा नेपाल संस्थाले गुनासो पेटी राखिदिएको थियो । विद्यालयमा अध्ययरत किशोरीमाथि जुनसुकै लैंगिक हिंसा भएमा तत्काल गुनासो पेटीमा पत्र राख्ने व्यवस्था मिलाइएपछि विवाह रोक्न सहज भएको हो ।


अभिभावकले विवाहका लागि दाइजो लेनदेनमा कुरा मिलाउँदै गर्दा लिखित गुनासो आएपछि जनसेवाले तत्काल रोक्न पहल थालेको थियो । विवाहको मिति लगभग तय हुन लागेपछि दुबै बालिका विद्यालयमा झोक्राइन् । उनीहरू निरास थिए । सँगै पढ्ने साथीले कारण सोधिन् । अभिभावकले विवाह गरिदिन लागेको सुनाइन् । कक्षा ८ र ९ मा अध्ययनरत दुबैले उमेर नपुगी विवाह गर्न लागेको भन्दै साथीहरूको सहयोगमा गुनासो पेटीमा सबै कुरा लेखेर खसाली दिए ।


पेटीका खोलिएपछि घटनाका बारे सम्बन्धित निकायले थाहा पायो । जनसेवाले प्रतेक शुक्रबार गुनासो पेटीमा परेको उजुरी हेर्ने गरेको थियो । सम्बन्धित वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र दुबै बालिकाका बुवा बसेर लामो छलफलपछि उमेर नपुगी विवाह नगर्ने लिखित प्रतिबद्धता जनाएको जनसेवा नेपालका घटना व्यवस्थापक अधिकृत मेनुका भारतीले बताइन् ।


‘अहिले अधिकांश विद्यालयमा राखिएको गुनासो पेटीमा बालबालिकाहरूले विभिन्न समस्याका बारे गोप्य रूपमा पत्र लेख्न थालेका छन,’ उनले भनिन्, ‘दुबै बालिकाको विवाह रोक्न गुनासो पेटिकाले ठूलो मद्दत पुगेको थियो ।’


जनसेवाले जिल्लाको ५० वटा विद्यालयहरूमा लैंगिक हिंसा, बालविवाह, हेपाइलगायतका घटना न्यूनीकरण गर्न गुनासो पेटीका राखेको छ । प्रतेक शुक्रबार पेटीका खोलेर त्यहाँ परेको गुनासो गोप्य रूपमा खोलिन्छ र समस्या समाधानतर्फ लागिपर्छन् । बालविवाह रोक्न जनसेवा सफल भएको हो ।


जनसेवाले लैंगिक हिंसाको घटनाबारे कानुनी लगायतको सहयोग गर्दै आएको जनायो । गुनासो सुन्न र पत्र हेर्न समिति बनाइएको छ । गुनासो सुन्ने अधिकारी महिला शिक्षिका हुन्छन् । पीडितलाई बोलाएर अधिकारीले हिंसाका बारेमा सोधपुछ गर्छन् ।


किशोरीको कुरा सुन्न सहज होस भन्नाका लागि शिक्षिकालाई तोकिएको हो । गुनासो सुन्ने समितिमा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बालक्लवका प्रतिनिधि र महिला शिक्षिका सहितको ५ जनाको टिम हुन्छन् ।


समितिले अति नै गोप्य रूपमा गुनासोको अध्ययन गर्छन् । गुनासो गर्नेको नाम सार्वजनिक गरिँदैन । विद्यालयमै समस्या समाधान गर्ने गरिन्छ । ठूलो मुद्दा भए महिला तथा बालबालिका सेवा केन्द्र, न्यायिक समिति वा सम्बन्धित निकायमा पत्राचार गरी पठाइने गरिएको अधिकृत भारतीले बताइन् ।


नयाँ मावि गम्हरियाका प्रधानाध्यापक रामाधार पासवानले गुनासो पेटीले विद्यालयका किशोरीहरूलाई समस्या राख्न सहज भएको बताउँछन् । ‘यसले हामीलाई पनि कमिकमजोरी सुधार्न मद्दत पुगको छ,’ उनले भने, ‘यस्तो अभियान र पेटी जिल्लाभरिका विद्यालयमा राख्न जरुरी छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’


गुनासो पेटिकामा परेको पत्रका अधारमा जनसेवाले ११ महिनाको अवधिमा ८ वटा बालविवाह रोकेको थियो । यो अवधिमा विभिन्न विद्यालयहरूमा राखिएको गुनासो पेटीमा ७ सय ३१ वटा गुनासाका पत्र परेको थियो । तीमध्ये १ सय २० वटा लैंगिक हिसासम्बन्धीका रहेको अधिकृत भारतीले जनाइन् ।


बालविवाहको मात्र २७ वटा पत्र परेको थियो । गएको भदौ महिनाको अन्तिममा कनकपुर गाउँमा विवाहकै दिन एक बालिकाको विवाह रोकिएको थियो । गुनासो पेटीमा बालिकाले आफ्नो उमेर नपुगी अभिभावकले विवाह गरिदिन लागेको भन्दै पत्र पठाएकी थिइन् । त्यसपछि विवाह रोकिएको हो ।


उमेर नपुगी विवाह गरिदिन थालेपछि बालिका आफैंले गुनासो पत्र दिएका थिए । जनसेवाले जिल्लाभरिका १८ मध्ये १६ स्थानीय तहको ५० वटा विद्यालयमा गुनासो पेटीको व्यवस्था गरेको छ । उनीहरूले ५ देखि १० कक्षाका किशोरीहरूलाई लैंगिक हिंसा, बालविवाह, महिनाबारी चक्र, प्रजनन स्वास्थ्य, बालमिच्याइ र बालश्रमका गरी ४२ वटा शीर्षकमा कक्षा लिइने गरेको छ ।


गुनासो पेटीले लैंगिक हिंसा न्यूनीकरणमा ठूलो मद्दत पुगेको जनसेवा नेपालका निर्देशक भाग्यनारायण महतोले बताए । ‘हामीले जिल्लामा सम्भव शून्य शहनशिलता लैंगिक हिंसा मुक्त विद्यालय कार्यक्रम सञ्चालन गरेका छौं,’ उनले भने, ‘यसले विद्यालयमा हुने कुनै पनि किसिमको लैंगिक हिंसामा कमी आएको छ ।’


दातृ निकाय यूनिसेफ, यूएसएआईडी र रेस्टलेस डेभलोमेन्टको सहयोगमा सम्भव शून्य सहनशिलता कार्यक्रम सञ्चालन हुँदै आएको हो । डेढ वर्षदेखि यहाँका विद्यालयहरूमा लैंगिक हिंसा न्यूनीकरणका लागि जनसेवाले कार्यक्रम गर्दै आएको छ ।


महिनाबारी हुँदा विद्यालयबाट घर फर्कनुपर्ने ठूलो समस्या थियो । किशोरीहरूले आफ्ना समस्या राखेपछि अहिले मावि कनकपुर, सरस्वति मावि हर्दिया, मावि जेठरहिया लगायत २१ वटा विद्यालयमा सिनेटरी प्याडको व्यवस्था गरिदिएको छ ।


यसले महिनावारी भएका किशोरीले राहत पाएका छन् । कनकपुर माविका विद्यार्थी अस्मिता चौधरीले गुनासो पेटी राखिएपछि विद्यालयमा लैंगिक हिंसाको घटनामा कमी आएको दाबी गर्छिन् । ‘हामीलाई पनि विभिन्न खाले समस्याका बारेमा गोप्य रूपमा आफ्नो कुरा राख्ने माध्यम भएको छ,’ उनले भनिन्, ‘अब विद्यालयमा कुनै पनि हिंसाको घटना भए तत्काल समाधान गर्न मद्दत पुग्छ ।’

प्रकाशित : मंसिर २५, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?