कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साँघुरो भयो पुल

‘सरकारले पुल त बनाइदियो तर हाम्रो लागि यो पुल उपयोगी भएन’
शंकर आचार्य

जमुनियाटाँडी,पर्सा — अपरबौगी सिँचाइ आयोजनाको जलाशयमा बनाइएको सााँघुरो ट्रस पुलले स्थानीयलाई समस्या भएको छ ।

साँघुरो भयो पुल

आफूहरूले पक्की पुलको माग गरेकोमा सरकारले ट्रस्ट पुल बनाएर झारा टार्ने काम गरेको स्थानीयको गुनासो छ । करिब ४ फिट चौडा पुलबाट स्थानीयले पैदल आवागमन गर्छन् । साइकल र मोटरसाइकल सम्म मुस्किलले गुडन सक्छ । त्यसबाहेक चार पाङग्रे सवारी साधन पुलबाट गुड्न सक्दैन ।


गाउँकै मुखमा रहेको पुल आफूहरूलाई निल्नु न ओकल्नु भएको स्थानीय प्रभावती पासवान बताउँछिन् । ‘एक त हाम्रो गाउँको साविक बाटो थुनेर बााध बनाइयो, हामीले चर्को माग गरेपछि बल्लबल्ल पुल त बन्यो तर यस्तो पूल सरकारले बनाइदिएको कामचलाउ मात्रको भयो,’ उनले भनिन्, ‘पुलको कारण न त हाम्रो गाउँसम्म एम्बुलेन्स नै आउन सक्छ । बिहेवारीमा, चेलीबेटीको बिदाइ गर्दा भ्यान समेत आउन सक्दैन ।’


स्थानीय सन्तलाल पासवानले सरकारले पक्की पुल नबनाई झारा टार्न फलामको हलुका ट्रस्ट पुल मात्र बनाइदिएको गुनासो गरे । ‘सरकारले पुल त बनाइदियो तर हाम्रा लागि यो पुल उपयोगी भएन,’ उनले भने, ‘चौडा पक्की पुल बनाइदिएको भए हामीलाई मात्र होइन यो बाटो भएर पर्सा बारा औद्योगिक करिडोरका उद्योगमा आवागमन गर्ने मजदुरलाई पनि सहज हुन्थ्यो ।’


सात वर्षअघि गाउँको पश्चिमतर्फ अपरबौंगी सिँचाइ आयोजना निर्माण भएको थियो । बौगी खोलाको पानी थुनिएपछि बौंगी खोला ठूलो जलाशयमा परिणत भयो । त्यसपछि स्थानीयलाई उक्त जलाशय तर्न समस्या भयो । ५ वर्षअघि सरकारले २५ लाखको लागतमा खोलामा ट्रस पुल बनाएको हो ।


तत्कालीन बेल्वा गाविसको १ र ३ नम्बर वडा, लालपर्साको ६ नम्बर वडाको करिब ५ सय हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्यका साथ समुदाय व्यवस्थित सिँचाइ कृषिक्षेत्र परियोजनाअन्तर्गत एसियाली विकास बैंकको ४ करोड २७ लाख ५७ हजार ४ सय ६३ रूपैयाँको लातमा यो बाँध निर्माण गरिएको थियो ।


सिँचाइ आयोजनाले अन्य किसानको खेत हराभरा बनाए पनि स्थानीयलाई भने सास्ती भयो । उनीहरूको गाउँ टापुमा परिणत भयो । करिब ३० बिघा खेतीयोग्य जग्गा आयोजनामा पारियो । खोलाको जलस्तर बढेर मसानघाटको समेत अभाव हुन पुग्यो । गाउँको पश्चिम दक्षिण कुनामा खोलामा बााध बााधेर सिँचाइ आयोजना निर्माण गरिएपछि यो गाउँ तीनतिरबाट पानीले घेरिएर झन्डै टापु झै बनेको छ ।


वीरगन्ज महानगर वडा नं ३१ मा पर्ने गाउँमा २२ घरधुरी छन् । यो गाउँमा राम र पासवान जातिको बसोबास छ । भेडियाही गाउँभन्दा पूर्व बग्ने बौगी खोलाको पारि पर्ने यो बस्तीको पश्चिम उत्तरमा बौगी खोला छ भने दक्षिण झारता खोल्सो छ । बाँधले गर्दा दुबैतिर गहिरो पानी जम्मा भएको छ । खोल्सोको जलस्तर समेत बढेको छ ।


स्थानीयसँगै त्यस क्षेत्रका मुसैली, भेडियाही, ईश्लामपुर, रतनपुर, बगही, बसडिल्वा, कटगेनवा लगायतका गाउँका औद्योगिक मजदुरहरूले यो बाटो प्रयोग गर्दै आएका थिए ।


त्यति बेला बाँधका कारण झन्डै २० फिट गहिरो बनेको खोलामा आयोजना निर्माणताका पक्की पुल बनाइदिने आश्वासन दिइए पनि आयोजना निर्माण भएपछि पुल बनाइएन । स्थानीयले २ वर्ष आफैं नगद संकलन गरेको बाँसको कच्ची पुल बनाएर जोखिमपूर्ण रूपमा आवतजावत गरेका थिए ।

प्रकाशित : मंसिर २५, २०७५ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?