कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिँचाइ आयोजना निर्माणमा विवाद

मुहानबाट पक्की संरचना सहितको व्यवस्थित कुलो निर्माण गरेर ल्याउने चाहना
शंकर आचार्य

पर्सा — प्रस्तावित घोडे मसान सिँचाइ आयोजना निर्माणमा स्थानीय र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनबीच विवाद बढेको छ ।

हाल निकुञ्जको कोर क्षेत्रमा पर्ने घोडेमसान खोलाको मुहानबाट पक्की संरचना सहितको व्यवस्थित कुलो निर्माण गरेर सुवर्णपुरबासीले ल्याउन चाहेका छन् ।


निकुञ्ज प्रशासनले भने निकुञ्जको संवेदनशील क्षेत्र रहेको र त्यहा पक्की संरचना निर्माण गरेर पानी ल्याउँदा खोज्दा वन्यजन्तुलाई पानी अभाव हुने र निकुञ्जको नियम कानुन संगत पनि नहुने भन्दै बिमति जनाएको छ । हाल निकुञ्जको घोडेमसान खोलाबाटै एउटा कुलो सुवर्णपुरमा ल्याइएको छ ।


उक्त कुलोले स्थानीयलाई सिँचाइमा धेरै राहत दिएको छ । जिल्लाको उत्तरी भेगका अन्य गाउँहरूको तुलनामा सुक्खाग्रस्त रहेको ठोरी गाउँपालिका वडा नं ५ को सुवर्णपुर क्षेत्रमा सुक्खायाममा सिँचाइको अभावकै कारण कतिपय किसानको खेत बाझै रहने गरेका छन् ।


विगतमा राजधानी काठमाडौं निवासी पुण्यप्रभा ढुंगानाको मौजे रहेको सुवर्णपुर क्षेत्रका किसानलाई सिँचाइको सुविधा उपलब्ध गराउन पन्चायतकालमा पर्सा वयजन्तु आरक्ष स्थापनाअघि नै रामभौरीभाठामा घोडेमसान खोलाको मुहानमा साइफन राखेर कच्ची कुलोबाट बसन्तपुर सिँचाइ आयोजनाको नाममा गाउँसम्म पानी ल्याइएको तत्कालीन सुवर्णपुर गाविसका अध्यक्ष तथा कुलो व्यवस्थापन समितिका अध्यक्ष जरी लामाले बताए ।


हालकै कुलोले साबिकको सुवर्णपुर गाविस, महादेवपट्टी गाविसको वडा नं ८ र ९, सेढवा गाविसको वडा नं ८ र ९, शंकरसरैया गाविसको वडा नं १ देखि ४ वडासम्म सिँचाइ सुविधा उपलब्ध गराएको छ । हाल कुलोबाट ७ सयदेखि ८ सय हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । यो कुलोलाई थप व्यवस्थित बनाउन सके हालको भन्दा तेब्बरी सिँचाइ सुविधा उपलब्ध हुने लामा दाबी गर्छन् । उत्तरी भेग सिञ्चित भए दक्षिणी भेग बिस्तारै सिञ्चित हुँदै जाने उनले बताए ।


करिब ४ वर्षअघि तत्कालीन पर्सा वन्यजन्तु आरक्ष हुँदा ताकानै सिँचाइ विभागले व्यवस्थित घोडे मसान सिँचाइ आयोजना निर्माणका लागि प्रारम्भिक अध्ययन गरेको लामाले बताए ।


‘हाल विभागले दोस्रो चरणको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गर्न चाहेको छ, विभागका डिजी तथा ठोरी गाउँपालिका प्रमुख लगायतका सरोकारवालाको टोलीले दोस्रो चरणको स्थलगत सर्भे पनि हालै सम्पन्न गरेको छ,’ उनले भने, ‘तर टोलीले आवश्यक छलफल गर्न निकुञ्जका अधिकारीहरूलाई भेटदा उहाँहरूले कुनै पनि हालतमा निकुञ्जमा नयाँ संरचना निर्माण गर्न दिन्नौ भनी अडान लिनुभयो, हामीले हाल रहेको कुलोलाई व्यवस्थित गर्न मात्र खोजेका हौं, निकुञ्ज प्रशासन यसरी जनबिरोधी बन्नु कतिको सही हो ।’


यता निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले हाल सिँचाइको नया संरचना निर्माण गर्न खोजिएको क्षेत्र निकुञ्जकै कोर क्षेत्र भएकाले त्यहा कुनै पनि खाले पक्की तथा अन्य संरचना निर्माण गर्न नदिइने बताए । ‘त्यो क्षेत्र निकुञ्जकै मुटु हो । त्यहाँ पानीको पर्याप्तता छ, पानी पाइने भएकाले वन्यजन्तु त्यस क्षेत्रमा बस्न पनि रूचाउँछन्,’ उनले भने, ‘त्यहाँबाट बढी पानी लग्न खोज्दा त्यसले वन्यजन्तु र त्यहाँको वातावरणमा समेत खलल पुग्छ, बिगतकै कुलोलाई मर्मत गरेर व्यवस्थित गरे त्यसमा हाम्रो आपत्ति छैन, कंक्रिट संरचना बनाउँदा त्यसमा वन्यजन्तु खस्ने, मर्ने, उनीहरूको आवागमनमा समस्या हुन सक्छ ।’


यस बाहेक सुवर्णपुरबासीले त्यस भेगका ३ वटा खोला जोडेर नया सिँचाइ आयोजना बनाउन खोजेकाले त्यो पनि सम्भव नरहेको उनले बताए । ‘वातावरणिय प्रभाव मूल्यांकनका हिसाबले पनि त्यो गलत हुने छ,’ उनले भने, ‘हामी जनविरोधी होइनौं, यस विषयमा दुबै पक्षले विन–विनको अवस्था होस् भनी हामीले चाहेका हौं ।’

प्रकाशित : मंसिर २८, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?