कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन नगरपालिकामा परिषद् भएन

कटहरिया, फतुवा विजयपुर र गुजरा नगरपालिकामा जनप्रतिनिधिबीचको झमेलाले परिषद् नभएको हो ।
परिषद् नहुँदा विकास निर्माणको काम ठप्प
शिव पुरी

रौतहट — आगामी आर्थिक वर्षको बजेट विनियोजनका लागि योजना बनाउन स्थानीय तहले गएको असार मसान्तअघि नगरपरिषद् गरिसक्नु पथ्र्यो । त्यही अनुसार विकासका योजनाहरू अघि बढाइन्थ्यो ।

तर जिल्लाका तीन वटा नगरपालिकाले अहिलेसम्म परिषद् सम्पन्न गरेको छैन । कटहरिया, फतुवा विजयपुर र गुजरा नगरपालिकामा जनप्रतिनिधिबीचको झमेलाले परिषद् नभएको हो । यसले विकास निर्माणको सबै काम ठप्प भएको छ ।


कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पाएकी कटहरिया नगरपालिकाका उपप्रमुख नुरजाहा खातुनलाई नगर परिषद् गर्न वडाका जनप्रतिनिधिले सघाएका छैनन् । उनीहरू जसरी पनि खातुनलाई असहयोग गर्ने मनस्थितिमा छन् । परिषद नहुँदा विकास निर्माणको काम ठप्प भएको खातुनले बताइन् ।


‘राम्रो काम गर्छु भन्दा आफ्नै पार्टीका वडा अध्यक्षहरूले सहयोग गरेका छैनन्, ‘उनले भनिन्, ‘यस्तो झमेलामा कसरी काम गर्नु । परिषदकै कारण सबै काम अबरुद्ध छ ।’ नगरप्रमुख सियाराम कुशवाहा कर्तव्य ज्यान मुद्दामा जेल परेपछि ६ महिना यता कार्यवाहक प्रमुखका रूपमा उपप्रमुख खातुनले जिम्मेवारी लिएकी छन् ।


९ वटा वडा रहेको नगरमा नेकपाको नगरप्रमुुख, उपप्रमुख सहित ७ जनाको बहुमत छ । बहुमत छँदाछँदै खातुन अल्पमतमा परेकी छन् । खातुनमाथि अनियमितताको आरोप लगाउँदै वडा अध्यक्षहरूले परिषद गर्नसम्म असहयोग गरेका छन् । नगर परिषद्का लागि कयौं पटक छलफल हुँदा समेत वडा अध्यक्षहरूले नगर कार्यपालिकाबाट सहमति जुटाउन सकेका छैनन् ।


खातुन भने जनप्रतिनिधिले नै किन विकास निर्माणको काम हुन नदिएको गुनासो गर्छिन् । खातुन तत्कालीन माओवादीबाट उपप्रमुखमा निर्वाचत भएकी थिइन् । नगरपालिकामा खातुन र कर्मचारीबीच चर्को विवाद थियो । पछिल्लो समय जनप्रतिनिधिबाट असहयोग भएको उनले बताइन् ।


उनले आफ्नै पार्टीका जनप्रतिनिधिले असहयोग गरेको गुनासो गरिन् । विकास बजेट हिनामिना हुन नदिई विकास निर्माणमा प्रयोग गर्न निर्देशन दिँदा आफूमाथि असहयोग भएको गुनासो गरिन् ।


वडा अध्यक्षसहित नगरसभाको बहुमत सदस्यहरूको विरोधपछि नगर परिषद् अघि बढेको छैन । परिषद् हुन नगरसभामा बहुमत सदस्य चाहिन्छ । उनले आफू परिषद्का लागि प्रयासरत रहेको पनि बताइन् ।


कार्यवाहक प्रमुख खातुनले विवाद भएपछि आफूलाई असुरक्षित महसुस भएको पनि स्थानीय प्रशासनलाई जानकारी गराएकी थिइन् । स्थानीय प्रशासनले उनलाई एक जना हतियारधारी सुरक्षाकर्मी (पीएसो) पनि खटाइदिएको छ । सुरक्षा थ्रेट महसुस गरिरहेको खातुन परिवार तनावमा छ ।


खातुनका श्रीमान् नसरुदिन आलम भन्छन्, ‘साँझ ७ बजे नै घरको मुख्य ढोका बन्द गरेर माथि बस्छौं । कुनै भर छैन कतिखेर के हुन्छ ।’ आर्थिक अनियमितताको आरोप लगाउँदै २ महिनाअघि नगर कार्यपालिकाको बैठकले खातुनलाई निलम्बन गरी छानबिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस पत्र समेत पठाएको थियो ।


स्थानीय तहका कुनै पनि कानुन तथा नीतिले उपप्रमुखलाई निलम्बन गर्ने सिफारिसको अधिकार स्थानीय कार्यपालिकालाई दिएको छैन । मन्त्रालयले पनि यसबारे केही प्रतिक्रिया दिएको छैन । खातुनले यस्तो निर्णयविरुद्ध अदालत जान सक्ने बताउँछिन् ।


खातुनले गाडी तथा घरभाडा, इन्धन खरिद, सञ्चालन तथा मर्मतसम्भार, तालिम गोष्ठी कार्यक्रम, विविध कार्यक्रम खर्च, औषधि खरिद लगायत शीर्षकमा भ्रष्टाचार गरेको आरोप छ । यही झमेलाका कारण यो नगरपालिकामा विकासको काम हुन सकेको छैन ।


यही गति भयो भने नगरपालिको सबै रकम फ्रिज हुन सक्ने प्रमुख प्रशासकयी अधिकृत उदय देवकोटाले बताए । ‘सबै एकजुुट हुनुस् । नगरपरिषद् गराैं भनेका हाैं,’ उनले भने, ‘के कारणले विवाद बढेको हो । झमेला मात्र किन हुन्छ । यस्तै रबैया रह्यो भने सबै रकम फ्रिज हुन्छ ।’


जनप्रतिनिधि बीचकै विवादका कारण नगरपालिकाका सबै गतिविधि शून्य छ । कर्मचारीहरू त्यतिकै बस्न बाध्य छन् । परिषदका कारण कुनै पनि योजनाहरू छनौट भएको छैन । वडा अध्यक्षहरूले योजना लगेका छैनन् ।


४ नम्बर वडाका अध्यक्ष चन्दनप्रसाद कुशवाहले नगरपालिकाले गठन गरेको उपसमितिहरू निस्क्रिय पार्ने काम उपप्रमुखबाट हुने गरेको आरोप लगाए । ‘नगरपालिका सिस्टममा चलेको छैन । विगतमा २ करोड बढी रकम अनियमितता भएको छ,’ कुशवाहाले भने, ‘यस्तो अवस्थामा नगर परिषद् हुन सक्दैन ।’


यता फतुवा विजयपुर नगरपालिकाका प्रमुख विजय यादवको हालत पनि उस्तै छ । कांग्रेसबाट मेयरमा जितेका मेयर यादव अल्पमतमा परेका छन् । विकासे योजनामा विवाद भएपछि परिषद हुन नसकेको हो । मेयर यादव परिषदका लागि प्रयास भइरहेको बताउँछन् । ‘हामी छलफलमा जुटेका छांै,’ उनले भने, ‘परिषद ढिला हुँदा विकास निर्माणमा प्रभाव पर्छ ।’ जनप्रतिनिधि बीचकै विवादले यो नगरपालिका समेत लामो समयदेखि झमेलामा परेको छ ।


यता गुजरा नगरपालिकाले एक महिनाअघि परिषदका लागि उद्घाटन शत्र सकेको थियो । योजना तर्जुमाका लागि सहमति हुन नसक्दा परिषद बीचमै रोकियो । समापन हुन सकेन । वडाध्यक्षले बजेट थोरै भएको भन्दै विरोध जनाएपछि परिषद सम्पन्न हुन नसकेको हो । वडालाई ५० लाख बजेट दिन खोजिएपछि विवाद भएको वडाध्यक्ष पवन गिरीले बताए ।


‘विकास गर्नलाई हो । कम्तीमा १ करोड २० लाखका दरले रकम बाँडफाँड गर्नुस् भनेका हौं,’ उनले भने, ‘मेयर एकलौटी चल्न थालेपछि परिषद् रोकियो ।’ मेयर शन्तलाल चौधरीले सबै वडा अध्यक्षलाई राखेर छलफल गरिएको बताए । ‘बजेटमै विवाद गर्नु उचित हुँदैन,’ उनले भने, ‘सहमतिमा सबै काम गर्नुपर्छ । नगरको हितका लागि सबै एक जुट हुनु जरुरी छ ।’

प्रकाशित : पुस १, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?