१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

ट्रान्जिट प्वाइन्टमा पक्रिँदै गाँजा तस्करी

बारम्बार गाँजा फेला पर्न थालेपछि हामीले अझ सक्रियता बढाएका छौं
ओमप्रकाश ठाकुर

सर्लाही — पछिल्लो समय सर्लाही लागूपदार्थ गाँजा तस्करीको ट्रान्जिट प्वाइन्ट बन्न थालेको छ । प्रहरीले निगरानी बढाएपछि जिल्लाको उत्तरी क्षेत्रमा धमाधम लागूऔषध गाँजाका कारोबारीहरू पक्राउ पर्न थालेका छन् ।

ट्रान्जिट प्वाइन्टमा पक्रिँदै गाँजा तस्करी

दुई हप्ताको अवधिमा जिल्लामा लागूऔषध गाँजासहित ५ पक्राउ परेका छन् । सोही क्रममा प्रहरीले शनिबार जिल्लाको उत्तरी चुर भेगमा पर्ने पत्थरकोटबाट दुई जनालाई पक्राउ गरेको छ ।


सिन्धुलीबाट नारायण खोला हुँदै गाँजा लिएर आउँदै गर्दा लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित लखन्देही खोलाबाट नातामा दाजुबहिनी पर्ने सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–९ का ३२ वर्षीय जयबहादुर मोक्तान र २४ वर्षीया जमुना मोक्तान पक्राउ परेका हुन् ।


उनीहरूको साथबाट प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलीले चार किलो आठ सय ग्राम गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरण न्यौपानेले बताए । ‘गोप्य सूचनाका आधारमा गाँजाका कारोवारीहरूलाई पक्राउ गर्न सफल भएका हौं,’ प्रहरी निरीक्षक न्यौपानेले भने, ‘बारम्बार गाँजा फेला पर्न थालेपछि हामीले अझ सक्रियता बढाएका छौं ।’


इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटकै टोलीले दुई साताअघि मंसिर १८ गते लालबन्दी नगरपालिका–१४, नारायणखोलास्थित सत्रकठ्ठा भन्ने ठाउँबाट ३० किलो लागूऔषध गाँजासहित हरिवन नगरपालिका–३, डाबरीका २८ वर्षीय सन्तोष दासलाई पक्राउ गरेको थियो । प्रहरीको टोलीले सत्रकठ्ठास्थित घुमाउने डाँडामा ना५६प ६८९४ नं. को मोटरसाइकलमा पोका पारेर गाँजा लिएर आउँदै गर्दा दासलाई नियन्त्रणमा लिएको थियो ।


यस्तै, मंसिर २५ गते बागमती नगरपालिका–१ शान्ति टोलबाट सोही टोलका २६ वर्षीय अजय विक १ किलो गाँजासहित इलाका प्रहरी कार्यालय बागमतीको नियन्त्रणमा परे । त्यस लगतै मंसिर २६ गते पूर्व पश्चिम राजमार्गअन्तर्गत हरिवनबाट सासापुरका ३० वर्षीय मानबाहादुर घिसिङ ४ किलो २ सय ग्राम गाँजा सहित पक्राउ परे ।


उनले झोलामा लुकाइछिपाई लिएर जाने क्रममा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले पक्राउ गरेको थियो ।


सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा सर्लाहीको बागमती र लखन्देही नदीको बाटो प्रयोग गरेर गाँजा तस्करले भारतीय बजारमा पुर्‍याउने गरेका छन् । खोलाको बाटो हुँदै लुकाइछिपाई लगिएको गाँजा भारतीय सीमामा लगेर महँगा मूल्यमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरी समक्ष बयान दिएका छन् ।


सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको सूचनाका आधारमा जिल्लाको उत्तरी क्षेत्रमा रहेको लालबन्दी, हरिवन र बागमती प्रहरीलाई सक्रिय पारेर निगरानी बढाइएको सर्लाहीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए ।


‘गाँजाको ओसारपसार रोक्न सिन्धुलीबाट आउने जिल्लाको उत्तरी भेगका भित्री सडकमा चेक जाँच बढाएका छौं, नदीको बाटोमा पनि निगरानी बढाएका छौं,’ नायब उपरीक्षक खडकाले भने, ‘हामी यो अभियानलाई व्यापकता र निरन्तरता बनाउँदै लिएर जान्छौं ।’


मदिरा नियन्त्रणमा

राजविराज– भारततर्फ चोरी निकासी गर्नका लागि सीमावर्ती क्षेत्रमा लुकाएर राखिएको ८५ कार्टुन विभिन्न कम्पनीका मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।


छिन्नमस्ता गाउँपालिका ३ स्थित राम सिंह र शिवनारायण साहको घरमा भारततर्फ लग्नका लागि लुकाएर राखिएको अवस्थामा गोल्डेन ओके,मामाश्री र दिलवाले नामक रक्सी रबामद गरिएको प्रहरीले जनाएको छ । एक लाख ३० हजार मूल्य बराबरको उक्त ८५ कार्टुन मदिरा बरामद गरिएको हो ।

प्रकाशित : पुस ३, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?