कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानले गहुँको बीउ पाएनन्

‘धान काटेर गहुँका लागि खेत तयार गरिसकेको छु तर बीउ पाउन सकेको छैन’
ओमप्रकाश ठाकुर

सर्लाही — गहुँ छर्ने मुख्य समयमा बीउ नपाएर सर्लाही कविलासी नगरपालिकाका किसान मारमा परेका छन् । खेतमा गहुँ छर्ने अन्तिम समयमा गहुँको बीउ नपाएको किसानको गुनासो छ । बीउ नपाएर कतिपय किसानले घरमा राखेको पुरानो गहुँ खेतमा छरिरहेका छन् । 

नगरपालिकामार्फत उपलब्ध हुने अनुदानको बीउ सहज रूपमा नपाएको किसानले गुनासो गरेका छन् । उनीहरूले बजारमा पनि गहुँको बीउ पाउन नसकेको बताए । धान काटेर गहुँका लागि तयार भएको खेतमा बीउ अभावले गहुँ छर्न नपाएको कविलासी नगरपालिका– १, पिपरियाका किसान बद्री पण्डितले गुनासो गरे ।


‘धान काटेर गहुँका लागि खेत तयार गरिसकेको छु तर बीउ पाउन सकेको छैन, न अनुदानको बीउ पाउन सकेको छु, न त कुनै बजारको बीउ नै पाउन सकिन,’ उनले भने, ‘नगरपालिकामा कतिपटक धाएँ तर बीउ पाइन, आजभोलि भन्दै टार्दै आएको छ ।’ यस वर्ष गहुँको बीउ नपाएर खेतनै बाँझो रहने हो की भन्ने किसान चिन्तामा परेका छन् ।


गहुँको बीउ उपलब्ध नभएका कारण किसान समस्यामा परेका छन् । प्रतिकठ्ठा ३ किलोका दरले गहुँको बीउको आवश्यकता रहे पनि बीउ नपाउँदा किसान छटपटीमा परेका हुन् । सरकारी अनुदान अथवा अन्य कुनै बजारमा पाइने गहुँको बीउ नपाएर कतिपय किसानले पोहोर सालकै घरमा राखेको गहुँ छर्न बध्य छन् ।


यस वर्ष गहुँको बीउ नपाएर घरको पुरानो बीउ छर्नुपरेको स्थानीय बृजलाल यादवले बताए । ‘यस वर्ष गहुँको बीउ पाउन सकिरहेको छैन, बीउ नपाएर खेत बाझो राख्नुभन्दा घरमा रहेको पुरानै गहुँ छरेको छु,’ उनले भने, ‘कृषिप्रधान हाम्रो देश नाम मात्रको रहेछ, किसानको हितमा कहिल्यै काम भएको छैन ।’ उनले एक बिघा ९ कठ्ठामा पुरानै गहुँ छरेको बताए ।


किसानको हकहित र सहजताका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार कुनै वास्ता नगरेको अधिकांस किसानको गुनासो छ । ‘कृषिप्रधान देश र कृषिप्रधान प्रदेश भनिएको छ तर किसानले कुनै सुविधा पाएको छैन ।’ गैरका मनोज ठाकुरले भने, ‘कहिले हामी मलका लागि छटपटाउँछौं त कहिले बीउका लागि तड्पिनुपरेको छ, सरकार मुकदर्शक भएर बसिरहेको छ ।’ उनले स्थानीयदेखि केन्द्र सम्मका तीनवटै सरकारको अनुभूति गर्न नपाएको गुनासो गरे ।


नगरपालिकाले पर्याप्त मत्रामा गहुँको बीउ उपलब्ध नगराउँदा अभाव भएको हो । बजारमा गहुँको बीउ पाउन नसकिएकाले पर्याप्त मात्रामा किसानलाई उपलब्ध गराउन नसकेको नगरपालिकाका मेयर कौशल किशोर रायले बताए । ‘अनुदानमा आएको दुई सय चौबिस बोरा गहुँको बीउ दसवटै वडामा बाँडिसकें, तैपनि किसानलाई पुगेन,’ मेयर रायले भने, ‘अरू थप गहुँको बीउ ल्याउने प्रयासमा छु तर बजारमा कतै पाइरहेको छैन ।’

प्रकाशित : पुस ४, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?