कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्थानले किन्न थाल्यो धान

संस्थानले प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ४० पैसा धानको मूल्य तोकेको छ 
भरत जर्घामगर

सिरहा — खाद्य संस्थानले यस वर्ष सिजनमै धान खरिद सुरु गरेको छ । संस्थानको लहानस्थित सगरमाथा अञ्चल कार्यालयले सिजनमै धानको मूल्य निर्धारण गरि खरिद प्रक्रिया सुरु गरेको हो । 

संस्थानले किन्न थाल्यो धान

खरिद सुरु गरेपछि सिरहाका किसानले धान बिक्री गर्न कार्यालय पुर्‍याउन थालेका छन् । संस्थानले प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ४० पैसा धानको मूल्य तोकेको छ । बजारमा प्रतिक्विन्टल २ हजार ३ सय ५० रुपियाँ २ हजार ३ सय ७५ रुपैयाँमा खरिद बिक्री भएका कारण यसपटक किसानले संस्थानलाई धान बिक्री गर्न थालेका हुन् ।


गत वर्ष बजार मूल्यको अनुपातमा किसानले संस्थानमा धान बिक्री गर्दा राम्रो मूल्य नपाउँदा लक्ष्यअनुसारको धान खरिद हुन सकेको थिएन । संस्थानले गत वर्ष ८० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखे पनि ४७ हजार क्विन्टल मात्र धान खरिद गर्न सकेको थियो ।


गत वर्ष बजार भाउ २ हजार ५ सय प्रतिक्विन्टल धानको मूल्य हुँदा संस्थानले पहिलो पटक २ हजार ३ सय ७५ तथा दोस्रो पटक २ हजार ५ सय १५ रुपैयाँ प्रति क्विन्टल मूल्य निर्धारण गरेको थियो ।


‘गत वर्ष बजार भाउभन्दा संस्थानले तोकेको मूल्य कम हुँदा लक्ष्यभन्दा निकै कम मात्र धान खरिद भएको थियो,’ नेपाल खाद्य संस्थान लहानका प्रमुख गंग प्रसाद साहले भने, ‘गतवर्षको गल्ती यसपालि हामीले दोहोर्‍याएनौं त्यसैले सुरुवातमै धान खरिद राम्रो भइरहेको छ ।’


उनका अनुसार अहिलेसम्म लहानस्थित खाद्य संस्थानमा ६ हजार २ सय ३० दशमलव ४० क्विन्टल धान खरिद भइसकेको छ । धान कटनी जारी रहेकाले यो सकिने बित्तिकै यसपालि संस्थानले लिएको धान खरिदको लक्ष्य पूरा हुने उनले जानकारी दिए ।


यस वर्ष सिरहामा रोपनी गरिएको खेतमा धान शतप्रतिशत उत्पादन भएकाले धान खरिदको लक्ष्य पुस महिनामै पूरा हुने अपेक्षा संस्थानको छ । संस्थानले बजार भाउभन्दा राम्रो मूल्य दिएपछि यस वर्ष भने किसानले गाउँगाउँबाट एकै पटक बोराका बोरा धान ट्र्रयाक्टर, टिपर र ट्रकबाट संस्थानको कार्यालयमा ल्याउने गरेका छन् ।


‘बजारमा धान बिक्री गर्नुपर्‍यो भने व्यापारीले मोलमोलाइ र अनेक बहाना गरेर किसानलाई हतोत्साही पार्ने प्रयास गर्छन् तर संस्थानमा सहज रूपबाट धान हामीले बिक्री गर्न सक्छौं,’ कृषक रामु यादवले भने, ‘पहिले संस्थानमा धान खरिद नहुँदा व्यापारीले मनलाग्दो तरिकाबाट धानको खरिद मूल्य निर्धारण गर्दथे जसबाट किसानलाई लागत मूल्य पनि उठ्न गार्‍हो पर्दथ्यो ।’ तर अब धान खेतीबाट किसानले पनि राम्रै आम्दानी गर्न थालेको उनले सुनाए ।

प्रकाशित : पुस ९, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?