कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोप हुँदै कठपुतलीया नाच

झन्डै १० वर्षको उमेरदेखि तराईको परम्परागत कठपुतली नाच देखाएर गुजारा चलाउन सिकेका सरस्वती र मानतीलाई कसैले नृत्य देखाउन अनुरोध गरे मख्ख पर्छन् 
शंकर आचार्य

पर्सा — ६५ वर्षीया सरस्वतीदेवी कठपुतलियाको अनुहारमा बुढ्यौलीका रेखा प्रस्टै देखिन्छ । शरीरमा पनि पहिलेको जस्तो ऊर्जा छैन ।

लोप हुँदै कठपुतलीया नाच

तर कठपुतलीको जोडी दुई हातमा लिएर गाउन थालेपछि उनी अझै पनि थाक्दिनन् । निरन्तर १ घण्टासम्म उनी गीत गाउन र कठपुतली नचाउन सक्छिन् ।


टोलकै ज्येष्ठ नागरिक उनलाई कठपुतली नृत्य देखाउनु परे भान्जी बुहारी ६० वर्षीया मानतीदेवी अघि सरेर साथ दिन्छिन् । अनि दुबै भाका हालेर गाउन थाल्छन् परम्परागत कठपुतली गीत ।


गीतका शब्द र भावका आधारमा हातले कठपुतलीलाई नचाउनु पनि एउटा कला हो । जसमा दुबै सिपालु छन् । कठपुतली नृत्यमा उनीहरू भजन, गजल, कव्बाली आदि सबै बिधाका गीत गाउँछन् । उमेरमा गाएका यस्ता असंख्य गीत उनीहरूलाई अझै पनि कण्ठस्थ छ । अनुरोध आउना साथ हौसिएर गाउन थाली हाल्छन् । अनि उनीहरूका हात पनि गीतको लय र तिनका शब्दका भावमा काठका पुतली नचाउन थाल्छन् ।


झन्डै १० वर्षको उमेरदेखि तराईको परम्परागत कठपुतली नाच देखाएर गुजारा चलाउन सिकेका सरस्वती र मानतीलाई कसैले कठपुतली नृत्य देखाउन अनुरोध गरे मख्ख पर्छन् । कारण भने अचेल उनीहरूलाई बिरलै यस्तो अनुरोध आउँछ ।


टिभी, इन्टरनेट, एफएम र हातहातमा मोबाइल भएर मनोरन्जका साधन सहजै उपलब्ध भएपछि सर्वसाधारणले उनीहरूको कठपुतली नाच हेरिदिदैनन् । यसो गर्दा उनीहरूसँग बेरोजगारीको पीडा त


छदैछ, अर्कोतर्फ यो परम्परागत नृत्य लोप होला भन्ने चिन्ता पनि छ । उनीहरूका छोरा नाति पुस्ताले यो नृत्यप्रति कुनै रुचि नदेखाएको र अन्य पेसा अपनाउँदै गएकाले आफूहरूपछि पुर्खाको यो परम्परा नै लोप होला भन्ने पिरलो उनीहरूलाई छ ।


‘हामीले जीवनभरी यही पेसाले घरपरिवार धान्यौं,’ सरस्वतीले भनिन्, ‘पूर्वको जनकपुरदेखि पश्चिमको टिकापुरसम्म पनि पुगेर कठपुतली नाच देखाइन्थ्यो, अब टेलिभिजन, फिलिम र एफएमको जमाना आयो कोही पनि हाम्रो कठपुतलीको नाच हेर्न चाहदैनन्, हाम्रा नाति पुस्तामध्ये कसैमा पनि यो सीप छैन, सबै मिहिनेत मजदुरी गर्ने र जागिर खाने भएका छन्, हामीपछि यो परम्परागत नृत्य पनि लोप होला भन्ने चिन्ता भइसक्यो हामीलाई अब ।’ सरस्वतीका ४ भाइ छोरा र बुहारीमध्ये कसैलाई पनि यो नृत्य आउँदैन ।


मानतीले पनि आफ्ना सन्तानको त्यस्तै अवस्था रहेको बताइन् । सानैमा विवाह गरेर बाबुआमाले पठाएपछि आफूले आफ्ना सासू ससुराबाट यो कला जानेको उनले बताइन् । मूलत: काठको काम गर्ने बढही जात भएकाले आफूहरू काठकै पुतली बनाएर तिनलाई कपडा लगाई शृङ्गार गरेर महिला र पुरुष जोडी पात्रको नृत्य गराउने गरेको उनले बताइन् । आफ्ना सासू ससुरासँग हालको भन्दा दोब्बरी ठूला काठका पुतलीको जोडी रहेको उनले स्मरण गरिन् ।


‘अब त पुतली पनि साना भए,’ उनले भने, ‘पुतली नाच हेर्ने पनि भइदिएनन् ।’ मानतीले आफूहरू गाउँगाउँ डुलेर कठपुतली नाच देखाएपछि खुसी भएर दर्शकले बक्सिसका रूपमा दिने गरेको चामल, दाल, पिठो आदि संकलन गरेर गुजारा गर्ने गरेको बताइन् ।


‘यो तराईको एउटा परम्परा हो, भारतमा अझै पनि यसका कलाकार र शौखिन प्रशस्त छन्, पहिले नेपालको तराईमा पनि कठपुतली नृत्य हेर्ने शौखिनहरू प्रशस्त हुन्थे, हामीलाई गाउँगाउँबाट यो नृत्य देखाउन निम्तो पनि आउथ्यो,’ उनले भनिन्, ‘रातभरी पनि काठका पुतली नचाएको सम्झना अहिले पनि ताजै छ, बालबालिकाहरू काठका पुतली कसरी नाच्दैछन् भनेर अचम्म मानेर हेर्थे, बयस्कहरू भने गीत सुनेर रमाउथे तर अचेल निम्तो आउन त परै जाओस्, एकछिन बसेर यो नृत्य हेरिदिने फुर्सद पनि कसैसँग छैन ।’

प्रकाशित : पुस १५, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?