कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदीय दलको नेता : माओवादी र कांग्रेसले टुंग्याए, एमालेमा सकस

हेटौँडा — माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को संसदीय दलको नेता सर्वसम्मत चयन गरे पनि ठूलो दल नेकपा एमालेलाई भने सकस भएको छ । माओवादीले पोलिटब्युरो सदस्य धादिङका शालिकराम जमकट्टेललाई संसदीय दलको नेता चयन गरेको छ ।

संसदीय दलको नेता : माओवादी र कांग्रेसले टुंग्याए, एमालेमा सकस

दलको उपनेतामा पोलिट ब्युरो सदस्य मकवानपुरकी कुमारी मोक्तान छनोट भएकी छन् । कांग्रेसले ३ नम्बर प्रदेश संसदीय दलको नेता सर्वसम्मत टुंग्याएका छन् ।


दुवै दलको काठमाडाैंमा बिहीबार बसेको संसदीय दलको बैठकले दलको नेता छनोट गरेको हो । पार्टी कार्यालयमा बसेको बैठकले प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको सांसद मोक्तानले जानकारी दिइन् । ३ नम्बर प्रदेशमा माओवादी केन्द्रका २३ जना सांसद छन् ।

कांग्रेसले ३ नम्बर प्रदेशको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँलाई सर्वसम्मत चयन गरेको छ । बिहीबार बसेको बैठकले बानियाँलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत ‘ख’ बाट निर्वाचित भएका थिए । कांग्रेसले केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायलाई प्रदेश नम्बर ३ को संसदीय दल गठन गर्ने जिम्मेवारी दिएको थियो । प्रदेशमा कांग्रेसका २१ सांसद छन् । विधान आएपछि संसदीय दल कार्यसमिति गठन हुने केन्द्रीय सदस्य उपाध्यायले जानकारी दिइन् । पूर्व गृहराज्य मन्त्रीसमेत रहेका बानियाँ कांग्रेस मकवानपुरका सभापति पनि हुन् ।

प्रदेशको ठूलो दल एमालेमा भने संसदीय दलको नेता चयनमा सकस देखिएको छ । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले धेरै आकांक्षी छन् । सर्वसम्मत नभए एमालेले शुक्रबार निर्वाचनमार्फत टुंग्याउने तयारी गरेको काभ्रेका सांसद लक्ष्मण लम्सालले बताए ।

एमालेमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे, सांसद डोरमणि पौडेल, सानु श्रेष्ठ, केशव स्थापित आकांक्षी छन् । आकांक्षी सबैले आफू नै संसदीय दलको नेता निर्वाचित भएर मुख्यमन्त्री बन्ने दाबी गर्दै आएका छन् । ‘पार्टीमा म नै सिनियर हुँ र प्रदेश संयोजक पनि हो,’ मुख्यमन्त्रीकी दाबेदार रहेकी सांसद अष्टलक्ष्मी शाक्यले भनिन्, ‘सर्वसम्मत भए मात्रै पार्टी र प्रदेशलाई पनि राम्रो हुन्छ ।’ एमालेका ५८ सांसदमध्ये अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समूहले आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन् ।

नेपाल समूहबाट पार्टी महाधिवेशनमा उपाध्यक्ष उम्मेदवार बनेर पराजित भएका राजेन्द्र पाण्डे पनि मुख्यमन्त्रीको दौडमा छन् । मुख्यमन्त्री बनाएको खण्डमा ‘टिम परिवर्तन’ गर्ने संकेत गरेका पाण्डेले आफूलाई पार्टी अध्यक्ष केपी ओलीको समर्थन रहेकाले जित्ने दाबी गरे । ‘सहमति भएन भने चुनाव लडेर जित्छु,’ पाण्डेले कान्तिपुरसँग भने, ‘मुख्यमन्त्री म नै बन्ने हो, पार्टी अध्यक्षको पनि मलाई नै समर्थन छ ।’

ओली समूहले आफ्नो स्पष्ट बहुमत भएकाले आफूले समर्थन गरेको उम्मेदारले जित्ने दाबी गर्दै आएको छ । अर्का दाबेदार डोरमणि पौडेलले शाक्य र पाण्डेबीच प्रतिस्पर्धा हुँदा त्यसको फाइदा आफूलाई हुने दाबी गरे । ‘दुई जनाको बीचमा प्रतिस्पर्धा हुने हो, मैले चुनाव जित्छु,’ उनले भने, ‘सहमति भयो भने पनि मेरै नाममा हुने हो ।’ दुई जना मात्रै उम्मेदवार हुने स्थितिमा ओली समूह शाक्यबाहेकका उम्मेदवारलाई मतदान गर्नेछन् । सम्मान, भूमिका र हैसियत बराबर हुने भन्दै एक पक्षले शाक्यलाई सभामुख बन्न आग्रहसमेत गर्दै आएको छ ।

ओलीले पाण्डेलाई समर्थन गरे डोरमणि सभामुख बन्ने स्रोतले जानकारी दिएको छ । सिन्धुपाल्चोकका प्रदेश सांसद अरुण नेपालले संसदीय दलको नेतामा सहमति हुने दावी गर्दर्ै भने, ‘सहमति हुन सकेन भने निर्वाचन हुन्छ ।’

संघीय सचिवद्वारा निरीक्षण

संघीय संसद् सचिवालय काठमाडौंका सचिव हिमलाल सुवेदीले ३ नम्बर प्रदेशसभा सचिवालयको बिहीबार निरीक्षण गरेका छन् । हेटौँडा उपमहानगरपालिका–१० स्थित प्रदेशसभा सचिवालयको तयारीका बारेमा निरीक्षण गर्न आएका सुवेदीले संघीय संसद् सचिवालयको भन्दा कुनै पनि कमी नगर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्यालयका सचिव रमेश सिवाकोटी, संसद् सचिवालय काठमाडौँबाट प्रदेशसभा हलको व्यवस्थापन गर्न आएका सहसचिव डा.रोजनाथ पाण्डे, प्रजिअ चक्रबहादुर बुढा, सहरी विकास तथा अनुसन्धान तालिम केन्द्रका सुदीप आचार्यसँग संसद् सचिवालय, प्रदेश मन्त्रालय र आवासको व्यवस्थापनसम्बन्धी जानकारी लिएका थिए ।

विशेषगरी प्रदेशसभाको सचिवालयको व्यवस्थित ढंगले तयारी गर्न निर्देशन दिएको सहसचिव रोजनाथ पाण्डेले बताए । मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सञ्चालित प्रदेशसभा सचिवालयमा शनिबार प्रदेश संसद्को अधिवेशन बस्दै छ । उक्त दिन सभामुखको निर्वाचन गर्ने कार्यक्रम तोकिएको छ ।

प्रकाशित : माघ २६, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?