कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धमाधम राजीनामा दिँदै नर्स

शिव पुरी

भरतपुर — रोजगारी भरपर्दो नहुँदा चितवनका विभिन्न निजी तथा सरकारी अस्पतालमा कार्यरत स्टाफ नर्सलाई टिकाउन मुस्किल परेको छ । उनीहरू धमाधम राजीनामा दिएर बिदेसिन थालेपछि यहाँका अस्पताललाई समस्या भएको हो । अधिकांशले अध्ययनको कारण खुलाएर राजीनामा दिने गरेका छन् । जिल्लाका विभिन्न अस्पतालमा २ हजार हाराहारी नर्स कार्यरत छन् । 

धमाधम राजीनामा दिँदै नर्स

तीमध्ये बर्सेनि २ सय हाराहारीमा राजीनामा दिई बाहिरिने गरेका छन् । उनीहरूले अध्ययन, विवाह र रोजगारीका लागि विदेश जाने बाहना बनाएर राजीनामा दिने गरेका हुन् । यसरी राजीनामा दिँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुने गरेको सम्बन्धित अस्पतालले जनाएको छ । तराईलगायत धादिङ, गोरखा, नवलपरासी, लमजुङ, तनहुँ जिल्लाबाट नर्सिङ अध्ययनका लागि यहाँ आउँछन् । उनीहरू अध्ययन सकेर विभिन्न निजी तथा सरकारी अस्पतालमा स्थायी, अस्थायी र करार सेवाका काम गर्छन् ।

एक वर्षको उनीहरू अनुभव पत्र लिएर राजीनामा दिने गरेका हुन् । अध्ययन सकेपछि अस्पतालमा लामो समयसम्म स्वयंसेवकका रूपमा काम गर्नुपर्ने र रोजगारीको अवसर पाउन नसकेपछि राजीनामा दिएर जाने गरेको नर्सिङ संघ चितवनका अध्यक्ष माया पाण्डेले बताइन् । ‘सुरुमा धेरै कष्ट गरेर पढ्नुपर्छ,’ उनले भनिन्, ‘पछिल्लो समय विदेश र अन्य अस्पतालमा अवसर पाएपछि राजीनामा दिने गरेका हुन् । राजीनामा दिने र नयाँ भर्ना हुने काम गर्ने क्रम चलिरहन्छ ।’ पाण्डेका अनुसार चितवनमा मात्र वर्षमा ४ सय ८० स्टाफ नर्स उत्पादन हुन्छन् । उनीहरू रोजगारीको अवसर खोजेर विभिन्न अस्पताल चाहर्छन् । चितवनलाई मेडिकल राजधानी भनिन्छ । यहाँ ठूला/ठूला अस्पताल छन् । १३ वटा नर्सिङ कलेज छन् । तिनमा विभिन्न तहका नर्सिङ कोर्स अध्ययन गराइन्छन् । नेपालभर ७४ हजार ८ सय ४० स्टाफ नर्स रहेको अध्यक्ष पाण्डेले जानकारी दिइन् । चितवन नेपालको मध्यपश्चिम क्षेत्रको व्यापारिक नगर पनि हो । यस क्षेत्रमा ठूला र पोलिक्लिनिक, क्लिनिकसहित ९८ वटा अस्पताल छन् । सरकारी अस्पताल ४ वटा छन् । २ वटा मेडिकल कलेज छन् । कलेजमा ठूलो संख्यामा नर्सहरू कार्यरत छन् । साउनयता यहाँस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्टाफ नर्सहरू सविना पौडेल, सुस्मिता श्रेष्ठ, सुधा पौडेललगायतले राजीनामा दिएका छन् । उनीहरू अध्ययनका लागि भन्दै राजीनामा दिएर गएको अस्पतालले जनायो ।

अघिल्लो वर्ष क्यान्सर अस्पतालबाट ९ जनाले राजीनामा दिएर विदेश गएका थिए । सबैभन्दा धेरै भरतपुर अस्पतालका स्टाफनर्सहरूले राजीनामा दिएको तथ्यांक छ । अस्पताल प्रमुख डा. रुद्र मरासिनीले अघिल्लो आवमा १ सय ४८ जना स्टाफ नर्सले राजीनामा दिएर गएको बताए ।

साउनयता ६० जनाले अस्पताल छाडिसकेका छन् । अध्ययनका लागि विदेश जाँदा अस्पतालले अनुभव पत्रको सिफारिस दिने गरेको छ ।

एक वर्षको अनुभवपछि बाहिर स्नातक पढ्न सजिलो हुन्छ । कतिपय अस्पतालले दरबन्दी नै नभए पनि स्टाफ नर्स भर्ना गर्छन् । चितवन मेडिकल कलेजमा साउनयता ३० जना स्टाफ नर्सले

राजीनामा दिइसकेका छन् । राजीनामा दिएकी एक स्टाफ नर्सले अध्ययनका

लागि अस्ट्रेलिया जान लागेको बताइन् । यहाँका कलेज अफ मेडिकल साइन्सेसबाट समेत स्टाफ नर्सहरू राजीनामा दिई बाहिरिएका छन् ।

प्रकाशित : फाल्गुन १, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?