कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलुखेतीले फेरिँदै जीवनस्तर

कान्तिपुर संवाददाता

नुवाकोट — झन्डै दुई दशकअघि यहाँका कृषक गहुँ, तोरी र मकै खेतीमा सीमित थिए । अहिले यहाँका किसानको जीवनस्तर माथि उठेको छ । 

आलुखेतीले फेरिँदै जीवनस्तर

यतिबेला खानीगाउँ शान्तिबजारका किसानलाई आलु खन्न भ्याननभ्याइ छ । ‘गहुँ र तोरीको त्यति आम्दानी हुँदैनथ्यो,’ लिखुगाउँपालिका १ का टंकप्रसाद लामिछानेले भने, ‘त्योभन्दा आलुले जीवन सहज बनाएको छ ।’ उनले १३ रोपनी खेतमा आलु लगाएका छन्, ‘गहुँ खेती गर्‍यो,’ उनले भने, ‘काट्न र चुट्न झन्झट । त्यसबाट खासै आम्दानी थिएन ।’ गहुँ लगाएको ज्यालासमेत नउठ्ने किसानहरूले बताए । उनले आफ्नो खेतमा १ सय २० बोरा आलु उत्पादन हुने आशा गरेका छन् । ‘खन्न बाँकी छ,’ उनले भने, ‘त्यसपछि जे होस् १ सय २० बोरा हुन्छ होला ।’ नजिकै आलु खन्दै गरेका किसान मछिन्द्र तामाङले पनि ३ रोपनी खेतमा आलुखेती गरेका छन् । ‘अरू बालीभन्दा आलुखेती राम्रै छ,’ उनले भने, ‘यसमा मिहिनेत बढी छ ।’


यतिबेला यहाँका फाँटमा आलुखेती फस्टाएको छ । २०३३ सालमा नुवाकोट र रसुवा एकीकृत परियोजना लागू भएपछि लब्दु–ढिकुरे–शेराफाँट सिंचाइ आयो । त्यतिबेला मकै, कोदो, असारमा पानी पुग्ने ठाउँमा धान र हिउँदमा गुहँ र तोरी लगाइने फाँटमा अहिले आलुखेतीले झपक्क बनाएको छ ।


२०३८ सालमा साबिक गणेशस्थान–२ माछोपोखरी मुहान हुँदै नहर चलेपछि यहाँका किसानको जीवनस्तर फेरिएको स्थानीय समाजसेवी यादव पाण्डेले बताए । ‘मकै, पानी पुग्नेले धान, कोदो अनि मलखाद हुने र पानी पुगेमा गहुँ र तोरी लगाउँथे,’ उनले भने, ‘अहिले आलु फलाएर किसानहरूको आम्दानी बढेको छ ।’


यहाँ अहिले सयौं रोपनी खेतमा आलुखेती हुने गरेको छ । ठेकेदारले खेतमा प्रतिकिलो १५ रुपैयाँका दरले आलु खरिद गर्ने गरेको लामिछानेले बताए । सिधै हाम्रो बजारमा पहुँच नहुँदा ठेकेदारलाई बेच्नु परेको किसानहरूले बताए । यहाँ निलो एमएस पोट्री टु, प्वाइन्ट थ्रि जातका आलु लगाउने गरिन्छ । आलुखेतीले स्थानीय किसानको जीवनस्तरमा परिवर्तन आएको जिल्ला कृषि विकास कार्यालय प्रमुख डा. कमलराज गैरेले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?