१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

उद्योगलाई कर छुट दिनेछु : पौडेल

कान्तिपुर संवाददाता

हेटौंडा — मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग स्थापना गर्दा समयावधि तोकेर कर छुट दिन आफू तयार भएको बताएका छन् । उनले उद्योगीको सुझावकै आधारमा अघि बढ्ने पनि बताए । 

उद्योगलाई कर छुट दिनेछु : पौडेल

‘हेटौंडा नगरपालिकाको प्रमुख हुँदादेखि नै मैले मकवानपुरलाई औद्योगिक जिल्ला घोषणा गर्नुपर्छ भन्ने कुरा उठाएको थिएँ,’ उद्योग संघ मकवानपुरले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले भने, ‘अहिलेसम्म सरकारले सुनेन, हामी नै निर्णय गर्ने ठाउँमा पुगेका छौं, त्यसबारे उचित निर्णय लिन्छौं ।’


नीति नै गलत हुँदा उद्योगको विकास हुन नसकेको भन्दै उनले भएका कानुनसमेत लागू हुन नसकेको स्विकारे । हेटौंडाका उद्योगी व्यवसायीले मुख्यमन्त्री डोरमणि पौडेललाई नयाँ स्थापना हुने उद्योगलाई ५ वर्षसम्म कर छुट दिन आग्रह गरेका छन् । मुख्यमन्त्री पौडेलसमक्ष व्यवसायीहरूले उद्योग क्षेत्रका समस्या समाधानका लागि समेत आग्रह गरेका छन् । संघका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै उद्योगीहरूले कच्चा पदार्थ आयातमा छुट दिन आग्रह गरे । ‘१० प्रतिशत महँगो भए पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका हौं,’ पौडेलसँगको भेटपछि उपाध्यक्ष स्वागतराज प्याकुरेलले भने, ‘उद्योगमा देखिएका सबै समस्या समाधानका लागि आग्रह गरेका छौं ।’


उद्योग दर्ता एकद्वार प्रणालीबाट गर्न आग्रह गर्दै उद्योगीहरूले नियमित बिजुली, पानीको आपूर्ति गरिदिन आग्रह गरेका थिए । ९९ वर्ष भोगअधिकारसहितको लिज (भाडा) को व्यवस्था मिलाइदिन पनि उनीहरूले आग्रह गरेको अध्यक्ष नवराज अर्यालले जानकारी दिए । अध्यक्ष अर्यालका अनुसार हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग आउने क्रम जारी रहे पनि जग्गा उपलब्ध हुन सकेको छैन । नयाँ उद्योगको स्थापना गर्न सकिने, ऊर्जामा आत्मनिर्भर रहेको र खानीमा आधारित उद्योगको लागि हेटौंडा उपयुक्त रहेको उद्योगीले आैँल्याएका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?