कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडियो नेपालको जग्गामा अनियमितता

प्रशान्त माली

ललितपुर — रेडियो नेपालले खुमलटारस्थित प्रसारण केन्द्रको जग्गा ललितपुर महानगरपालिका १५ वडा कार्यालयको बिनासिफारिस भाडामा दिएको पाइएको छ । रेडियो प्रसार सेवा विकास समितिले जेठ २९ मा खुमलटार ट्रान्समिसन स्टेसनको सातदोबाटो–गोदावरी जाने मूल बाटोको उत्तरपट्टिको ४२ रोपनी जग्गा कुवेर ज्ञान हाउजिङ कम्पनीलाई भाडामा दिएको थियो ।

रेडियो नेपालको जग्गामा अनियमितता

कम्पनीले प्रतिरोपनी महिनाको ४१ हजार ५१ रुपैयाँमा ३० वर्षका लागि भाडामा दिएको थियो ।

महानपा १५ वडा कार्यालयले जग्गा भाडामा दिएको बारे रेडियो नेपालविरुद्धमा सञ्चार मन्त्रालयमा पत्राचार गरेको छ । वडाध्यक्ष सुदर्शन मिश्रले बिनास्वीकृति जग्गा लिजमा दिनु कानुनसम्मत नभएको बताए । ‘तत्काल ठेक्का रद्द गर्न माग छ,’ उनले भने, ‘प्राकृतिक विपद्का बेला स्थायी र अस्थायी रूपमा व्यवस्थापन गर्नुपर्ने हुँदा खुला राख्नुपर्छ ।’ उनले वडा कार्यालयभित्र विपद् व्यवस्स्थापन गर्न खुला ठाउँ नभएको बताए ।

‘भूकम्प जाँदा उक्त जग्गामा हजारौ मानिसहरूले आश्रय लिएका थिए,’ उनले भने । सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७१ दफा ७ को उपदफा २ मा सरकारी जग्गा लिजमा लिँदा स्थानीय निकायबाट सम्पादन गरिने कार्यका लागि आवश्यक नपर्ने भनेर सम्बन्धित स्थानीय निकायको सिफारिस र त्यस्तो जग्गा प्रकोप उद्धार तथा व्यवस्थापनका लागि आवश्यक नपर्ने भन्ने गृहमन्त्रालयको सिफारिस लिनुपर्छ ।

कार्यालयले मन्त्रालयमा पठाएको पत्रमा संविधानको अनुसूची ८ स्थानीय तहको अधिकार सूची क्रमसंख्या २० र ९ मा पनि विपद् व्यवस्थापन गर्नुपर्ने बाध्यकारी व्यवस्था उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि विपद् व्यवस्थापन र पूर्वतयारी गर्नुपर्ने कानुनी प्रावधान छ । सोही ऐनको परिच्छेद ३ मा नगरपालिकाको काम कर्तव्य र अधिकार अन्तर्गत विपद् व्यवस्थापनमा उल्लेख भएबमोजिम विपद्को पूर्वतयारी, योजना र पूर्वसूचना प्रणाली खोज, राहत सामग्रीको पूर्वभण्डारण, वितरण र समन्वय गर्ने प्रावधान रहेकाले जग्गा खुला राख्नुपर्ने उल्लेख छ ।

पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, गृहमन्त्रालय (विपद व्यवस्थापन शाखा), स्थानीय विकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, रेडियो प्रसार सेवा विकास समिति र ललितपुर महानगरपालिका कार्यालय पुल्चोकलाई दिएको छ । रेडियो नेपालका प्रवक्ता निर्देशक बुद्धिबहादुर केसीले जग्गा भाडामा दिँदा वडा कार्यालयबाट सिफारिस नलिएको बारे आफूलाई जानकारी नभएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा भाडामा दिँदा अनियमितता भएको आंशकामा फाइल नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

महानपाका अधिकारीहरूका अनुसार अत्यन्त कम मूल्यमा भाडामा दिइएको छ । उनीहरूका अनुसार खुमलटारको उक्त जग्गाको मूल्य चलनचल्तीमा प्रतिरोपनी ५ करोड रुपैयाँभन्दा बढी छ । भाडामा प्रतिरोपनी एक लाख रुपैयाँभन्दा कम मूल्यामा पाउन सकिँदैन । रेडियो प्रसार सेवा विकास समितिले प्रतिरोपनी ३५ हजारलाई न्यून भाडा दर कायम गरी त्योभन्दा माथि रकमका लागि सिलबन्दी बोलपत्रमार्फत् प्रतिस्पर्धा गराई भाडा दिने निर्णय गरेको थियो ।


यसले सरकारलाई बर्सेनि ४२ रोपनी जग्गाबाट मात्रै झन्डै ३ करोड रुपैयाँ घाटा हुने महानपाका अधिकारी बताउँछन् । रेडियो नेपालको खुमलटार प्रसारण केन्द्रमा उत्तर र दक्षिणपट्टि एक सय १८ रोपनी गरेर जम्मा एक सय ६० रोपनी जग्गा छ ।

दक्षिणपट्टिको जग्गामध्ये १० रोपनी २०७३ जेठ १ मा इन्फ्राटेक कम्पनीलाई प्रतिमहिना ३५ हजार रुपैयाँका दरले भाडामा लगाएको थियो । दक्षिणपट्टिको १० रोपनी जग्गाबाट पनि बर्सेनि ७८ लाख रुपैयाँ घाटा भएको महानपाका अधिकारी बताउँछन् ।

समितिले ५ रोपनी जग्गा जियो अटोमोबाइल कम्पनीलाई २०७३ जेठ १ मा प्रतिमहिना ३५ हजारका दरले १० वर्षका लागि भाडामा दिएको थियो । गणपति तथा भेनियर प्लाइउड उद्योगलाई २०७३ पुस २५ देखि लागू हुने गरी २ रोपनी जग्गा प्रतिमहिना ३५ हजार रुपैयाँका दरले भाडामा लगाइएको थियो ।

वडा कार्यालयले भाडामा पाएको भेनियर प्लाइउड उद्योगलाई नयाँ मिटर जडान गर्न सिफारिस दिएको छैन ।

प्रकाशित : फाल्गुन १६, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?