कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरातत्त्वले मानेन विज्ञको सुझाव

दामोदर न्यौपाने

काठमाडौँ — रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर पुनर्निर्माण गर्ने क्रममा पुरातत्त्व विभागले विज्ञले दिएको सुझावविपरित काम अघि बढाएको छ । रानीपोखरी पुनर्निर्माण गर्न सुझाव दिन विज्ञ समितिले प्रताप मल्लको शैलीमा पुनर्निर्माण गर्न सुझाव दिएको थियो ।

पुरातत्त्वले मानेन विज्ञको सुझाव

पुरातत्त्वले राणाकालमा बनेको गुम्बज शैलीमै पुनर्निर्माण सुरु गरेको हो । भुइँचालोले भत्काएर पछि महानगरले पुनर्निर्माण गर्ने क्रममा पुरातात्त्विक मापदण्डविपरीत बनाएपछि त्यसको विरोध भएको थियो ।

विरोध भएपछि पुनर्निर्माण रोकेर विज्ञ समिति बनाइएको थियो । समितिले माघमा प्रताप मल्लको पालाको शिखरशैलीमा बनाउन सुझाव दिएको थियो । पुसमा बनेको विज्ञ समितिले प्रताप मल्लकै पालाको प्रविधि, निर्माण सामग्री र त्यही स्वरूपमा बनाउने गरेर प्रतिवेदन दिने अधिकारसहित विज्ञ समिति बनेको थियो । रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर पनि प्रताप मल्लकै पालाको शैलीमा बनाउने विज्ञले बताएपछि पुरातत्त्व विभागबाट सहभागी तीन विज्ञले असहमति जनाउँदै प्रतिवेदनमा हस्ताक्षर गर्न मानेनन् ।

पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णु कार्कीको संयोजकत्वमा काठमाडौं महानगरपालिका, पुरातत्त्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका ११ विज्ञ समितिमा सहभागी थिए । तीमध्ये पुरातत्त्व विभागका सम्पत घिमिरे, रामबहादुर कुँवरलगायतले प्रताप मल्लकै शैलीमा मन्दिर बनाउने विज्ञको सुझावमा असहमति जनाएका थिए । सर्वाेच्च अदालतले एक महिनामा प्रगति प्रतिवेदन दिनु भनेर आदेश दिएकाले गुम्बज शैलीमै पुनर्निर्माण गर्नुपरेको पुरातत्त्व विभागले जनाएको छ ।

रानीपोखरीको मौलिकता मासिने गरी पुनर्निर्माण भएपछि अधिवक्ता दीपकविक्रम मिश्रले त्यसलाई रोक्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध रिट हालेका थिए । त्यसमा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले माघ २ गते उत्प्रेषणको आदेश दिएको थियो । अदालतको यो आदेश आएको दुई दिनपछि विज्ञ समितिले प्रतिवेदन दिएको हो । ‘हामीलाई पुरानै शैलीमा बनाउने सर्वाेच्चले आदेश दिएको छ,’ विभागका महानिर्देश भेषनारायण दाहाल भन्छन्, ‘यो आर्थिक वर्ष नसकिँदै सम्पन्न गर्नुपर्ने हाम्रो बाध्यता छ ।’

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूले प्राचीन शैलीमा बनाउन खोजे पनि पुरातत्त्व विभागले नटेरेको बताए । ‘पहिला रानीपोखरीमा आन्दोलन गर्ने सम्पदाप्रेमी कहाँ गए ? रानीपोखरीमा ताला लगाउन आउने कहाँ गए ? ताला लगाउन अघि सर्ने उपमेयर र वडाध्यक्ष पुरातत्त्वले विज्ञको सुझाव नमान्दा कहाँ गएका छन् ?,’ शाक्यले भने, ‘प्लेकार्ड बोकेर सडकमा आउँदैमा सम्पदाप्रेमी भइँदैन ।’ विज्ञ समितिले यो समय इतिहासमा भएको गल्ती सच्याउने बेला भएकाले पुरानै शैलीमा बनाउनुपर्ने बतायो ।

‘प्रविधि छ । सामग्री पाइन्छ । हाम्रो अवस्था जिरोमा पुगेको छैन । हामीले आफूलाई धिक्कार मान्नुहुँदैन,’ उनी भन्छन्, ‘हामीले हचुवाका आधारमा भनेको होइन । आधारसहित भनेको हो । प्रमाणसहित भनेको हो । मन्दिरको ढुंगाको ढेला भेटियो । त्यसको आधारमा पनि यो शिखर शैलीको हो भनेर पुष्टि भएको छ । रानीपोखरी पुनर्निर्माणमा अन्तर्राष्ट्रिय चासो बढिसक्यो ।’ रानीपोखरीमा पोखरीको भाग महानगरपालिकाले र मन्दिर निर्माणको जिम्मा पुरातत्त्व विभागले लिएका छन् ।

रानीपोखरीको इतिहास

प्रताप मल्लको पालामा रानीपोखरी ग्रन्थकुट (शिखर) शैलीमा निर्माण भएको मानिएको छ । विज्ञ समितिका संयोजक विष्णु कार्कीले भने, ‘यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रस्ट हुन्छ ।’ सन् १८४५ फेब्रुअरीमा नेपाल भ्रमणमा आएका राजकुमारसँगै रहेका कलाकारले रानीपोखरीको चित्र बनाएका थिए ।

सन् १८५० मा ब्रिटिस रेसिडेन्सीमा सर्जन भएर खटिएका थिए, एचए ओल्डफिल्ड । उनी १८५० देखि १८६३ सम्म नेपालमै बसे । उनले दुई भागमा ‘स्केचेज फ्रम नेपाल’ नामको पुस्तकसमेत लेखेका थिए । उनले रानीपोखरीको बीचमा भएको, त्यो ‘अत्यन्तै सुरम्य वस्तु’ भएको र त्यसलाई जंगबहादुरले सन् १८५१ मा भत्काई इँटा र प्लास्टरको कुरूप संरचना बनाएको लेखेका छन् ।

ओल्डफिल्डको यस बयानले बीचमा रहेको रानीपोखरीको बीचमा रहेको मन्दिरलाई डा. डिल्लीरमण रेग्मीले तीनतले छाने शैलीको मन्दिर भनेका छन् । मेरी स्लसरले परम्परागत छाने शैलीको मन्दिर उल्लेख गरेको कार्कीले जानकारी दिए । जंगबहादुरले निर्माण गर्न लगाएको मन्दिर वि.सं. १९९० को महाभूकम्पले क्षति पुर्‍याएपछि अहिलेको शैलीमा जुद्धशमशेरले पुनर्निर्माण गर्न लगाएका थिए ।

प्रकाशित : फाल्गुन १७, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?