कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

र्‍याफ्टिङमा लोभिए पर्यटक

अनिश तिवारी

सिन्धुपाल्चोक — चिसोका कारण ह्वात्तै घटेका र्‍याफ्टिङ एडभेन्जर पर्यटक फागुन महिना लागेलगत्तै बढेका छन् । थोरै गर्मीको सुरुवात भएकाले एडभेन्जरको लागि चर्चित सुनकोसी र भोटेकोसी किनारामा रहेका होटेल र रिसोर्टमा पर्यटकको चाप बढेको हो । 

र्‍याफ्टिङमा लोभिए पर्यटक

भूकम्पपछि सुनसान बनेका होटल र रिसोर्ट तीन वर्षपछि पुन: पहिलेकै अवस्थामा पुगेका छन् । र्‍याफ्टिङ र क्यानोनिङ गर्ने पर्यटकको संख्या दैनिक बढिरहेकाले यहाँका सबै रिसोर्ट भरिभराउ हुने गरेको सुकुटे बिच एडभेन्जर रिसोर्टका महेन्द्रसिंह थापाले बताए । ‘दैनिक ९० भन्दा बढी आन्तरिक र बाहय पर्यटक र्‍याफ्टिङको लागि भनेर आउने गरेका छन्,’ थापाले भने, ‘सिजन सुरु भइसकेको छ, त्यसैले अब चाप झनै बढ्नेछ ।’ उनले एक रिसोर्टमा न्यूनतम ५० आन्तरिक र २० बाह्य पर्यटक दैनिक आउने गरेको सुनाए ।


र्‍याफ्टिङको लागि भनेर एडभेन्जर मनोरञ्जन गर्न सिन्धुपाल्चोकमा सातामा २ हजारसम्म पर्यटक भित्रिने गरेका छन् । राजधानीदेखि युरोप, अमेरिकाजस्ता बाह्य मुलुकबाट आउने पर्यटकको लक्ष्य कोसीमा र्‍याफ्टिङ, माउन्ट बाइकिङदेखि साहसिक खेल मानिने बन्जी जम्प हुने गरेको छ ।


काठमाडाैं भक्तपुरबाट आएकी रोजिना श्रेष्ठले र्‍याफ्टिङको आनन्द लिन आएको सुनाइन् । ‘विदेशीसहित हाम्रो ५० जनाको टोली छ,’ उनले भनिन्, ‘अब गर्मी सुरु भयो यसकै लागि बिदाको समय मिलाएर समूह बनेर आयौँ ।’ शुक्रबार र शनिबार यहाँका रिसोर्ट पूर्ण रुपमा भरिने गरेकोले पहिल्यै बुक गरेर आएको उनले जनाइन् ।


बन्देउदेखि सीमाक्षेत्रका रिसोर्टमा अहिले पर्यटकको संख्या बढ्दै गइरहेको छ । सुनकोसी र भोटेकोसी किनारामा मात्रै र्‍याफ्टिङसहितको रिसोर्ट सातवटा सञ्चालन भइरहेका छन् । जिल्लाभर होटेल र रिसोर्ट गरी १६ वटा रहेको नेपाल र्‍याफ्टिङ एसोसियसन (नारा) ले जनाएको छ ।


भूकम्प अगाडि जिल्लाभर कोसी किनारामा रहेका रिसोर्टमा मात्रै सात लाख पर्यटक आएका थिए । पर्यटक सिन्धुपाल्चोक आउनुमा प्रमुख कारण र्‍याफ्टिङ मोह रहेको थापाले वताए । ‘भूकम्पपछि ३ लाख पर्यटक जलपर्यटनको लागि भनेर सिन्धुपाल्चोक भित्रिएका छन्,’ थापाले भने,‘ जलपर्यटनले गर्दा यहाँ मात्रै झन्डै १० हजारले रोजगारी पाएका छन् ।’

विश्वमा साना ठूला गरी ६ हजार नदीनाला रहेका छन् । त्यसमध्ये दश उत्कृष्ट नदी एडभेन्चरको लागि चुनिएका छन् । जसमा भोटेकोसी र सुनकोसी सातौ उत्कृष्ट तहमा परेको उनको भनाइ छ ।


पर्यटकीय आकर्षण बोकेका प्लाराग्लाइडिङ, क्यानोनिङ, र्‍याफ्टिङ, माउन्टेन बाइक राइडिङ, ट्रेकिङ, सफारी, टुर, टिकेटिङदेखि सहासिक मानिएको बन्जी जम्प गर्न लाखौ पर्यटक नेपाल आउने गरेका थिए । भूकम्पको तीन वर्षपछि रिसोर्ट र होटेलको पुनर्निर्माणले तीव्रता पाएसँगै जलपर्यटन तंग्रिएको छ । नाराको एक अध्ययअनुसार नेपालमा ६० प्रतिशत पर्यटक जलपर्यटनको लागि आउने गरेका छन् ।


‘नदीमा ढल फोहोरमैला, चरम दोहन र आयोजनाको जथाभावी क्रियाकलापले नदीको संरचना बिग्रिएको छ ।’ इको नेपाल एडभेन्चर प्राइभेट लिमिटेडका व्यवस्थापक

निर्देशक चन्द्रबहादुर दाहालले भने, ‘नदीमा भएको चरम दोहनले जलपर्यटनमा असर पारेको छ ।’ सरकारले संरक्षणमा चासो नदिएकाले जलपर्यटनको गतिमा अपेक्षाबमोजिम सफलता नपाएको उनले गुनासो गरे ।

प्रकाशित : फाल्गुन १९, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?