कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृगौला रोगको मारमा महिला

गर्भवती अवस्थाका जटिलताहरूले मृगौलारोगको खतरा बढाउने सम्भावना हुन्छ 
फातिमा बानु

काठमाडौँ — सुत्केरी जस्तो विशेष अवस्थामा उनले आराम गरिनन् । बच्चा जन्मेको भोलिपल्टैबाट खाना पकाउने, घाँसदाउरा गर्ने गरेको उनको अनुभव छ । गर्भवती अवस्थामा पनि खाना र आराम नपाउँदा तीन सन्तान नजन्मदै खेर गएको उनले सुनाइन् । उनी हुन् नुवाकोटकी ५२ वर्षीया सानुकान्छी तामाङ । 

उनका दुवै मृगौला फेल भएर हाल उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् । ‘स्वाँस्वाँ भइरन्थ्यो, खुट्टा सुन्निरहन्थ्यो उनी भन्छिन्, ‘यति हुँदै जँचाएको भए मृगौला बचाउन सकिन्थ्यो रे, अब त खाना पनि अरूले खुवाइदिनुपर्ने हालत भएको छ ।’ जिल्लाको अस्पतालमा मृगौला डायलासिस गर्ने व्यवस्था नहुँदा उनी घरबारै छोडेर उपचारका लागि अस्पताल नजिकैको भाडाको घरमा बस्दै आएकी छन् ।


नेपाल जस्तो विकासोन्मुख मुलुकमा मृगौलारोगको समस्या बढ्दो छ । सानुकान्छी जस्तै विश्वस्तरमै मृगौलारोगको मारमा महिला नै बढी पर्ने गरेका छन् । मृगौलारोग विशेषज्ञ तथा मृगौलारोग उपचार केन्द्रका निर्देशक डा. ऋषिकुमार काफ्ले भन्छन्, ‘यसबारे महिलाहरूमा चेतना नै छैन, उपचारको पहुँचमा पनि उनीहरू छैनन् ।’


गर्भवती अवस्थाका जटिलताहरूले मृगौलारोगको खतरा बढाउने उनले बताए । यस्तो अवस्थामा ख्याल नराखे रोग अन्तिम चरणमा पुग्ने सम्भावना पाँच गुणा बढी हुने डा.काफ्ले बताउँछन् । उनी भन्छन्, ‘गर्भवती अवस्थामा पोसिलो खाना नखाएमा कम तौलको बच्चा जन्मन सक्छ, कम तौल भएको बच्चामा नेफ्रोन नामक तत्त्व कम हुने हुँदा आमा र शिशु दुवैको मृगौला जोखिममा हुन्छ ।’


विश्व स्वास्थ्य संगठनका अनुसार मृगौला रोगकै कारण संसारभर बर्सेनि ६ लाख महिलाले ज्यान गुमाउँछन् । दस हजारमा एक जनाको मृगौला फेल हुन्छ । नेपालमा बर्सेनि तीन हजार व्यक्तिको मृगौला फेल हुने संगठनको तथ्यांक छ । विश्वभर १९ करोड ५० लाख महिला मृगौलारोग प्रभावित छन् ।


नेपालमा यसको कुनै यकिन तथ्यांक छैन । अस्पतालको तथ्यांक अनुसार भने बर्सेनि मृगौलारोगका तीन हजार नयाँ बिरामी थपिने गरेका छन् । कुल बिरामीमध्ये १२ प्रतिशत पुरुष र १४ प्रतिशत महिला छन् । तीमध्ये ९० प्रतिशत बिरामी मृगौला फेल भइसकेको अवस्थामा पुग्ने गरेको त्रिवि शिक्षण अस्पताल (टिचिङ) की मृगौला विशेषज्ञ डा. दिव्या सिंह बताउँछिन् ।


भन्छिन्, ‘स्वास्थ्यमा कुनै गम्भीर असर नदेखिएसम्म अस्पताल नधाउने प्रवृत्ति छ, यो रोगको खासै गम्भीर लक्षण हुँदैन, सानातिना लक्षणलाई बिरामीले वास्तै गर्दैनन् ।’ सामान्य लक्षण देखा पर्नासाथ उपचार गराउँदा मृगौला बचाउन सकिने उनले बताइन् । मधुमेह, उच्च रक्तचाप, पत्थरी रोगका बिरामी बढी मृगौला फेल हुने जोखिममा छन् ।


त्यस्तै, डाक्टरको सल्लाहबिनै दुखाइ कम गर्ने औषधि खाने प्रवृत्तिले पनि मृगौलारोग निम्त्याएको छ । डा. सिंह भन्छिन््, ‘परिवारका सदस्यमध्ये कसैको यस्तो समस्या भए सजग हुनुपर्छ, यो वंशाणुगत रोग हो ।’ तीस वर्ष उमेर कटेका व्यक्तिले कम्तीमा वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्दा बेलैमा रोग पत्ता लागी निदान गर्न सजिलो हुने उनले बताइन् ।


सरकारले अहिले मृगौला बिरामीका लागि डायलासिस नि:शुल्क गर्ने व्यवस्था गरेको छ । त्यस्तै, मृगौला प्रत्यारोपण सेवा पनि नि:शुल्क छ । सरकारले नि:शुल्क उपचारभन्दा पनि मृगौला बचाउने अभियान चलाउनुपर्ने चिकित्सक बताउँछन् ।


पिसाबमा फिँज देखिनु, रगतका छिटा देखापर्नु, बिहान उठ्दा आँखाका डिल सुन्निनु, हातखुट्टा फुल्नु मृगौला फेल हुनुका प्रमुख लक्षण हुन् । सामान्य लक्षण देखापर्दै तुरुन्त विशेषज्ञसँग उपचार लिनुपर्ने चिकित्सकको सुझाव छ ।

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?