कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शल्यक्रिया गर्न महिनौं कुर्नुपर्ने

नाम चलेका र बिरामीको रोजाइमा पर्ने शल्यचिकित्सकसँग शल्यक्रिया गराउनुपरे थप ६ महिना पर्खिनुपर्छ
फातिमा बानु

काठमाडौँ — सरकारी अस्पतालमा शल्यक्रियाका लागि बिरामीले महिनौं कुर्नुपर्ने बाध्यता छ । राजधानीका मुख्य वीर, कान्ति, सहिद गंगालाल, त्रिवि शिक्षण अस्पतालमा बिरामीले शल्यक्रियाका लागि कम्तीमा एक सातादेखि एक वर्षसम्म पालो कुरिरहेका छन् ।

अझ नाम चलेका र बिरामीको रोजाइमा पर्ने शल्यचिकित्सकसँग शल्यक्रिया गराउनुपरे थप ६ महिना पर्खिनुपर्छ । यस्तो समस्या सरकारी अस्पतालमा मात्रै नभएर निजीमा पनि छ ।

थापाथलीस्थित प्रसूतिगृहमा पाठेघरका शल्यक्रिया गर्नका लागि बिरामीले तीन महिना कुर्नुपर्ने अवस्था छ । जनशक्ति र उपकरण अभावमा आएका जति सबैको समयलै शल्यक्रिया गर्न नसकिने अस्पतालका लेखा प्रमुख चन्द्र गुरुङले बताए । ‘अपरेसन थिएटर प्रसूति गराउनकै लागि ठिक्क हुन्छ, अरू अपरेसनका लागि टेबल पुग्दैन,’ उनले भने । सरकारले पाठेघरसम्बन्धी उपचार नि:शुल्क गर्ने व्यवस्था गरेपछि गृहमा बिरामीको चाप झनै बढ्दो छ ।

चापअनुसारका बिरामीलाई समयमै शल्यक्रिया सेवा दिन नसकिने गुरुङले बताए । गृहले सातामा दुई जनाको मात्रै पाठेघरको शल्यक्रिया गर्ने गरेको छ । पेइङ–सेवामा आएका बिरामीको भने तुरुन्तै शल्यक्रिया गर्ने गरेको छ । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पनि बिरामीको चाप उत्तिकै छ । मुटुको भल्भ फेर्नेलगायत अन्य शल्यक्रिया गर्नका लागि बिरामीलाई कम्तीमा ६ महिना पालो कुर्नुपर्ने अवस्था छ । केन्द्रका निर्देशक डा.जोतिन्द्र शर्मा भन्छन्, ‘आकस्मिक शल्यक्रिया भए तुरुन्तै गरिन्छ, माइनर अपरेसन भए औषधि खाएर कुर्नुपर्ने हुन्छ ।’

बिरामीको चापअनुसार जनशक्ति नहुँदा यस्ता समस्या आउने उनले बताए । केन्द्रबाट दैनिक ६ जनाको मात्रै मुटुको शल्यक्रिया हुने गरेको छ । मुटुजस्तो संवेदनशील अंगको शल्यक्रियाका लागि महिनौं कुर्नुपर्दा बिरामी पिरोलिन्छ । रोग बढ्ला भन्ने डरले मानसिक तनावबाट गुज्रिन्छन् । नि:शुल्क उपचारका लागि टाढा र दुर्गमबाट आउने बिरामी राजधानीको महँगो बसाइ थेग्न सक्दैनन् । पशुपतिस्थित तिलगंगा आँखा प्रतिष्ठानमा कृत्रिम आँखा प्रत्यारोपणका लागि दुई महिना कुर्नुपर्ने हुन्छ ।

प्रतिष्ठानको कृत्रिम आँखा विभागका अधिकृत कुमार श्रेष्ठ भन्छन्, ‘एउटा आँखा बनाउन तीन दिन लाग्छ, प्रयोगशाला साँघुरो छ, बिरामीलाई कुराउनुको विकल्प नै छैन ।’ सरकारी अस्पतालमा महिनौं कुर्नुपर्ने झन्झटका कारण बिरामी महँगो शुल्क तिरेर निजी अस्पतालमा शल्यक्रिया गर्न जान्छन् । कतिपय अस्पतालमा भने व्यवस्थापन र डाक्टरको इच्छाशक्तिका बाबजुद शल्यकक्ष र जनशक्ति अभावले यस्ता समस्या निम्त्याएका छन् ।

उपत्यकाबाहिरका जिल्ला, अञ्चल र क्षेत्रीय अस्पतालमा जटिल रोगका शल्यक्रिया सेवा नहुँदा बिरामी राजधानी धाउन बाध्य छन् । यसले पनि राजधानीका अस्पतालमा कुर्नुपर्ने समय लम्ब्याएको हो । स्थानीय तहका स्वास्थ्य संस्थामा नै शल्यक्रिया गर्न मिल्ने खालका भौतिक पूर्वाधार र जनशक्ति भएमा केन्द्रका अस्पतालमा बिरामीको चाप घटाउन सकिने वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेत बताउँछन् । ‘जति कम चाप भयो बिरामीले उत्ति नै चाँडै सेवा पाउँछन्,’ उनले भने ।

भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणका लागि बिरामी पालो कुर्नुपर्ने अवस्था छ । केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘जनशक्ति छ, बेड पुग्दैन ।’ वीरमा हर्नियन, हाइड्रोसिल, पित्तथैलीको ढुंगा निकाल्ने सामान्य शल्यसक्रियाका लागि पनि कम्तीमा १५ दिन कुर्नुपर्ने अवस्था छ । ब्रेन टियुमर, मृगौलाको ढुंगा निकाल्ने, फोक्सो निकाल्ने, फोक्सोको ट्युमर जस्ता जटिल शल्यक्रियाका गर्न पर्ने बिरामीले ६ महिनासम्म कुर्छन् ।

निर्देशक बस्नेत भन्छन्, ‘शल्यक्रियाका जटिलभन्दा जटिल उपकरण छन्, त्यसलाई चलाउने विज्ञ जनशक्ति छैनन् । कम जनशक्तिले धेरैको अपरेसन गर्नुपर्दा बिरामीले लामो समय कुर्नुपरेको हो ।’ खर्च धान्ने नसक्ने गरिब र विपन्नको अस्पताल उपचार केन्द्र मानिने वीरमा बिरामीले सहुलियत मूल्यमा शल्यक्रिया गर्न पाउँछन् । लामो समय कुर्न नसकेर आत्तिएका बिरामी निजीमा महँगो शुल्क तिरेर पनि शल्यक्रिया गरेको सुनाउँछन् ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?