कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

माटो र बालुवा उत्खनन: नगरपालिका निरीह

शिल्पा कर्ण

काठमाडौँ — तारकेश्वर नगरपालिकामा जनप्रतिनिधि र खानी तथा खनिज पदार्थको अनुमति, सञ्चालन र अनुगमन टोली जाँदा सबै सामान्यझैं थियो । सार्वजनिक र निजी यातायातका साधन चल्दै थिए । दिनहुँ दर्जनौं टिपर र स्काभेटर चल्ने ठाउँमा यस्तो शान्त वातावरण स्थानीयका निम्ति भने नौलो थियो ।

माटो र बालुवा उत्खनन: नगरपालिका निरीह

शुक्रबार जिल्ला समन्वय समिति, सुरक्षा निकायसहितको टोली काभ्रेस्थली पुग्दा स्थानीय कानेखुसी गर्दै थिए । ‘ए अनुगमन आउने भएर पो बिहानै सबै लगेका रछन्, कति बाठा,’ एक महिला भन्दै थिइन् ।


अर्का एक जना आश्चर्यमिश्रित भावमा भन्दै थिए, ‘पचासौं टिपर हुन्थे, अहिले त एउटै छैन । कसरी थाहा पाएर लुकाएछन् ।’ उनले नाम उल्लेख नगर्ने सर्तमा पहिले त्यो स्थानमा जग्गा सम्याउने भनेर आएकाले अहिले त्यो ठाउँ नै ‘भताभुङ्ग’ बनाएको प्रतिक्रिया दिए । त्यहाँका स–साना खोला तथा शेषमती खोलामा ढल, फोहोरका साथै माटो र हिलो पनि बग्छ । बालुवा झिक्दा प्रशोधनका क्रममा माटो नदीमै फाल्ने भएपछि नदीमा हिलो बग्ने गरेको स्थानीय बासिन्दाले बताए ।

चर्न गएका वस्तुभाउ हिलोमा फस्ने गरेका छन् भने केही त दलदलमा फसेर मरिसकेका छन् । नगरपालिका यी उत्खननबारे जानकार भए पनि समय समयमा उनीहरूलाई प्रक्रियामा आउन चेतावनी दिँदै ‘पत्र लेख्ने’ भूमिकामा सीमित छ । नगरपालिका प्रवेश गर्नेबित्तिकै माथिका सडक र घर भएका डाँडामुन्तिर डोजर र टिपर देख्न सकिन्छ । कोतरिएको डाँडा जताततै छ, नुवाकोट र बस्नेतटार जाने सडकमुन्तिरको ठाउँठाउँमा गरी ३० रोपनी जति जग्गाको माटो उत्खनन गरिएको नगरपालिका कार्यालयबाटै प्रस्ट देखिन्छ ।

यसले माथिका सडक र घर पनि भत्किने खतरा छ । नगरपालिकाका कर्मचारी ‘केही गर्न नसकेको’ बताउँछन् । प्रहरीले रोक्न जाँदा जनप्रतिनिधिले ‘मौखिक अनुमति दिएको’ प्रतिक्रिया दिने सुरक्षा निकायका अधिकारीले बताए । नगरपालिकाका वातावरण शाखा प्रमुख शशि गुरुङ निजी जग्गा सम्याउने र घडेरी खार्ने अनुमति लिई माटो निकाली प्रशोधनबाट बालुवा बेचबिखनको काम भइरहेको बताउँछन् । वडा नं २, ३, ५ र ६ मा त्यस्ता अनधिकृत उत्खनन तथा बालुवा प्रशोधन भइरहेको छ ।

नगरका तीनवटा वासिङले मात्र अनुमति लिएका छन् । तिनले प्रशोधनको अनुमति लिए पनि खानी उत्खननो स्वीकृति कसैले पनि लिएको छैन । अवैध उत्खनन भइरहँदा यसले प्राकृतिक प्रकोप निम्त्याउने पक्का छ । त्यसबेला नगरवासी स्थानीय निकाय नै गुहार्न आउने थाहा हुँदाहुँदै नगरपालिका मौन छ । विकट क्षेत्र, जनशक्ति अभाव र प्रक्रियाबारे अनभिज्ञताको बहानामा बालुवा उत्खनन गर्नेहरूको अगाडि नगरपालिका निरीह देखिएको छ ।

नगरमा खोलाबाट बालुवा निकाल्ने ‘फिरफिरे’ दर्जनभन्दा बढी सञ्चालित छन् । नगरपालिका अनुगमन जाँदा सबै छेउ लाग्छन्, भोलिपल्टदेखि फेरि अवस्था जस्ताको तस्तै हुन्छ । रातारात डाँडासम्म र नांगो बनाइने गरेको जनप्रतिनिधि स्विकार्छन् । टोलीका प्रहरीले माटो उत्खननको सञ्चालकको बारेमा बुझ्न खोज्दा स्थानीय बिच्किए । आफूहरूले कसैसँग ‘दुस्मनी लिन नचाहेको’ प्रतिक्रिया दिँदै खुल्न मानेनन् । नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले काभ्रेस्थलीको माटो उत्खनन गर्नेमा वडा नं २ की सचिव पद्मा गजुरेलकै आफन्तको रहेको बताए ।

उनले भने, ‘यो जग्गा तलकै ४/५ जनाको हो, हाम्रो वडासचिवका घरका हुन् । माथि र वरपरको सबै सामुदायिक वनको जग्गा हो । त्यसले नजिकैको विद्यालयलाई वर्षातमा निकै खतरा हुने निश्चित छ ।’ त्यहीँ विद्यालयको झ्यालबाट पछाडिको दंगालखोलामा लहरै तीनवटा ‘फिरफिरे’ सञ्चालनमा छन् । गजुरेललाई उनकै वडामा भइरहेको उत्खनन तथा बालुवा प्रशोधनबारे सोध्दा उनले ती जग्गाधनी घर बनाउने अनुमति लिन आएको बताइन् ।

घडेरी खार्ने प्रयोजनका लागि सिफारिस गरी वडा मार्फत अनुमति लिन नगरपालिकालाई पत्र पठाइसकिएको बताइन् । ‘तलको जग्गा हाम्रै हो, छेउको माइलो ससुराको हो,’ गजुरेलले भनिन्, ‘बालुवा बिक्री गरिएको होइन । वासिङले लिएर गएका हुन् ।’ वातावरण शाखा प्रमुख गुरुङले उक्त क्षेत्रको भौगोलिक विकटताका कारण अनुगमन र कारबाही हुन नसकेको बताए । उनले भने, ‘खोलाको मुहान थुनेर बालुवा निकालिरहेका छन् । हाम्रो गाडी पनि त्यहाँ जान सक्दैन, हामी गए ज्यानको सुरक्षा गर्नसमेत कठिनाइ छ ।’

माटो बालुवा उत्खननमा पहुँचवालाहरूको संलग्नता रहेकोले स्थानीय पनि नपामा उजुरी दिन आउँदैनन् । यद्यपि मौखिक उजुरी आउने गरेको नपाका कर्मचारीको भनाइ छ । उपमेयर तथा कार्यबाहक मेयर भवानी डोटेल धितालले रोक्न जाँदा ‘रोजीरोटी खोस्न आएको’ भनी प्रतिक्रिया दिने बताउँछिन् । समन्वय समितिकी उपप्रमुख सरिता दाहालले भनिन्, ‘यसरी डाँडाकाँडा नांगिँदै, वनजंगल मासिएपछि कुरूप देखिएको छ । यहाँको माटो वर्षातमा बगेर तलसम्म गएपछि त्यसले निम्त्याउने प्राकृतिक प्रकोप त छँदै छन् । भू–माफियाको चलखेल निकै भएको देखिन्छ ।’

प्रकाशित : फाल्गुन २९, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?