एकै वर्षमा बने ९ झोलुंगे पुल 

खोला तर्ने क्रममा बर्सेनि २ देखि ५ जनाको बगाएर मृत्यु हुने गरेको थियो 
प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा एकै वर्षमा ९ झोलुंगे पुल निर्माण भएका छन । निर्माण भएका झोलुंगे पुलमध्ये ३ वटाले तुइन विस्थापित गरेका छन् । 

मकवानपुर गढी गाउँँपालिका अन्तर्गत पर्ने सामरी खोलामा निर्माण गरेको पुलले तुइन विस्थपित गरेको छ भने भीमफेदी गाउँँपालिकाअन्तर्गत त्रिखण्डे मन्दिरनजिक निर्माण भएको झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई तुइनको सहारामा खोला पार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । ‘जिल्लामा गत आर्थिक वर्षमा ९ झोलुंगे पुल निर्माण भए पनि ३ वटामात्रा तुइन विस्थापित भएका छन्,’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमनाथ तिम्लसेनाले भने, ‘जिल्लामा अन्य झोलुंगे पुल निर्माण गरी पूर्णरूपमा तुइन विस्थापित गर्ने कार्य बाँकी नै छ ।’ मकवानपुरमा क्षेत्रगत कार्यक्रम अन्तर्गत स्विस सरकारको सहयोगमा जिल्लाको ग्रामीण भेगमा आर्थिक वर्ष ०७३/०७४ मा ७ झोलुंगे पुल निर्माण भइसकेका छन् भने केन्द्रीय बजेटमा तुइन विस्थापित गर्न २ झोलुंगे पुल निर्माण भएका छन् ।
‘बेतेघारी र गोपीराङ बस्तीको बीचमा पर्ने मनहरी खोलामा पुल निर्माण भएपछि विद्यार्थीहरू नियमित पढन आउने गरेका छन्,’

Yamaha


बेतेघारीस्थित देवी प्राथमिक विद्यालयका शिक्षक कर्ण चेपाङले भने, ‘झोलुंगे पुलको निर्माणले गर्दा गोपीराङका विद्यार्थीलाई स्कुल आउन सहज भएको छ ।’ गोपीराङमा चेपाङ समुदायको मात्र बसोबास छ । पुलको अभावले गर्दा वर्षायाममा मनहरी खोला तर्ने क्रममा बर्सेनि गोपीराङका २ देखि ५ जनाको खोलाले बगाएर मृत्यु हुने गरेको थियो ।

यसैगरी, कैलाश गाउँँपालिकाको च्याखेटारमा पनि ३२ लाखमा पुल निर्माण भएको छ । पुलबाट एक सय ८० घरधुरी लाभान्वित भएका छन । अर्को पनि कैलाश गाउँपालिकाअन्तर्गत साविकको नामटार गाविस गर्दोवामा निर्माण गरिएको छ । पुलबाट ३ सय ५० घरधुरी लाभान्वित भएका छन् । राक्सिराङ गाउँपालिकाअन्तर्गत पर्ने साविकको खैराङ गाविसमा २ वटा पुल निर्माण भएका छन् । यसैगरी थाहा नगरपालिकाअन्तर्गत पर्ने साविकको आग्रा गाविसको घट्टेखोलामा ३२ लाखको लागतमा झोलुंगे पुल निर्माण गरिएको छ । ‘तोकिएको समयमानै पुलहरू निर्माण गरियो,’ राडो नेपालका इन्जिनियर चन्द्र योञ्जनले भने, ‘पुल निर्माण गर्न स्थानीयबासीहरूले मन खोलेर सहयोग गरेकाले समयमा नै पुलको काम सम्पन्न भएको हो ।’

करिब ६ करोडको लागतमा निर्माण गरिएका ९ वटा झोलुंगे पुलबाट करिब २ हजार १ सय ३० घरधुरी लाभान्वित भएका छन् । जोखिम मोलेर तुइनबाट ओहोरदोहोर गर्ने ३ सय २० घरधुरीका बासिन्दाले पनि झोलुंगे पुलबाट ओहोरदोहोर गर्न थालेका छन् ।

मकवानपुरका विभिन्न खोलामा रहेका १० वटा तुइनमध्ये गत आवमा ३ वटा विस्थापित भएका छन् । अझै ७ वटा तुइन विस्थापित गर्न बाँकी रहेको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमतीमा ३ वटा तुइन छन्। आमभञ्ज्याङ, निवुवाटार, कुलेखानी र भार्तामा गरी ७ वटा तुइनमार्फत १५ हजार मानिसहरु जोखिमयुक्त यात्रा गर्न बाध्य थिए।
जिल्लामा हालसम्म ७५ वटा झोलुंगेपुल निर्माण भइसकेका छन् । झोलुंगे पुल २०१९ सालमा
अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको हो ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अधिकांश स्थानीय तह भाडाका घरमा

कान्तिपुर संवाददाता

भीमफेदी — मकवानपुरका अधिकांश गाउँपालिका र वडा कार्यालय विद्यालय, सामुदायिक भवन र भाडाका घरमा सञ्चालन भइरहेका छन् । 

मकवानपुरको भीमफेदी गाउँपालिकाले कार्यालय सञ्चालन गर्दै आएको भाडाको घर ।तस्बिर : प्रताप विष्ट/कान्तिपुर

जिल्लामा रहेका ८ गाउँपालिकामध्ये ५ वटाको आफ्नो भवन छैनन् । त्यस्ता गाउँपालिकाले भाडाका घर, विद्यालय वा सामुदायिक भवनमा कार्यालय सञ्चालन गरिरहेका छन् । मकवानपुरको सुदूरपूर्वमा पर्ने बागमती गाउँपालिकाको केन्द्र झुरझुरेमा राखिएको छ । ‘झुरेझुरेमा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छौँ,’ गाउँपालिका अध्यक्ष सर्केश घलानले भने, ‘गाउँपालिकाको कार्यालय भवन निर्माण गर्ने तयारीमा जुटिरहेको छौँ, भवनको अभावमा व्यवस्थित कार्यालय सञ्चालन गर्न सकिएको छैन ।’

मकवानपुरको दुर्गम कैलाश गाउँपालिकामा साविकको गाविसको भवन पनि थिएन । सुरुमा भूकम्पले चिरैचिरा बनाएको कृषि विकास कार्यालय सेवा केन्द्रको भवनमा गाउँपालिकाको कार्यालय राखिएको थियो । उक्त भवन अत्यन्त सानो भएकाले गाउँपालिकाका प्रमुख र उपप्रमुख बस्ने कार्यकक्षको अभाव रहेको थियो । केही समयपछि कालिकाटारमा नेपाली सेनाले सामुदायिक भवन निर्माण गरेको थियो । त्यही भवनमा प्रमुख र उपप्रमुखको कार्यकक्ष राखिएको छ । कार्यकक्ष अस्तव्यस्त छ । गर्मीमा छाना तातेर भित्र बस्न सकिन्न । भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्न घर नै छैन ।

कैलाश मात्र होइन, राक्सिराङ गाउँपालिकाको हालत पनि त्यस्तै छ । राक्सिराङको चैनपुरमा राखिएको केन्द्र विद्यालयको छात्रावासमा छ । ‘छात्रावासको निर्माण गरेर गाउँपालिकाको कार्यालय उक्त भवनमा राखेका छाँै,’ गापाको अध्यक्ष राजकुमार मल्लले भने, ‘गाउँपालिकाको भवन निर्माण गर्न बजेट छुट्याएका थियाँै, प्राविधिकको अभावले भवन निर्माण गर्न सकिएन ।’ यसैगरी, भीमफेदी गाउँपालिकाले पनि घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । गाउँपालिकाले भवन निर्माण नगरिसकेकाले घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छौँ,’ गापा अध्यक्ष हिदम लामाले भने । सुगम क्षेत्रमा रहेको मनहरी गाउँपालिकालेपनि रजैयामा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । इन्द्रसरोवर, मकवानपुर गढी र बकैया गाउँपालिकाले साविकको गाविसको जीर्ण र सानो भवनबाट कार्यालय सञ्चालन गरिरहेका छन् ।

‘साविकको गाविस कार्यालय भवन सानो र जीर्ण छन्,’ मकवानपुर गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईँले भने, ‘गढीको साविकको गाविस भवनबाट जेनतेन गरेर कार्यालयको काम गरिरहेका छाँै, आफ्नै भवन आवश्यक छ ।’ मकवानपुरका ८ गाउँपालिकामा ७१ वडा छन् । तीमध्ये ५० वडाको आफ्नो भवन छैन । सबैभन्दा सानो र थोरै वडा भएको इन्द्रसरोवर गाउँपालिकाको एउटा मात्र वडाको आफ्नो भवन छैन । उक्त वडाको कार्यालय सामुदायिक भवनमा राखेर सञ्चालन गरिएको छ ।

जिल्लाकै जनसंख्या र भूगोलको हिसाबले सबैभन्दा ठूलो बकैया गाउँपालिकामा १२ वडा छनन् ।
विगतमा गाविस कार्यालयको भवन सशस्त्र द्वन्द्वको अवस्थामा क्षतिग्रस्त बनाएकाले अहिले अधिकांश वडा कार्यालय भाडामा घर लिएर सञ्चालन गर्नुपरेको हो । वडा कार्यालय निर्माण गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए ।

‘भौतिक पूर्वाधारको अभावले गर्दा दैनिक काम गर्न नै समस्या भएको’ राक्सिराङ गाउँपालिका प्रमुख र मल्लले भने, ‘केन्द्रमा कार्यालय सञ्चालन गर्न भवनको नै अभाव छ ।’ पूर्वाधारहरूको अभावले गर्दा मकवानपुरका १० वटा स्थानीय तहमध्ये सबैभन्दा समस्या जिल्लाको दुर्गम क्षेत्रका कैलाश र राक्सिराङ गाउँपालिकामा रहेको छ । निर्वाचित जनप्रतिनिधिलाई मात्र होइन, केन्द्रका कर्मचारीहरूलाई पनि समस्या भएको छ ।

केन्द्रको आफ्नो भवन छैन । गाउँमा कार्यालय सञ्चालन गर्न हुने भवन पनि भेटिँदैन । बस्नका लागि भाडामा घर पनि पाइँदैन । टाढा टाढाबाट गाउँपालिकाको केन्द्रमा सेवा लिन आएका सेवाग्राहीहरूलाई खान र बस्न पनि समस्या छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०८:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT