कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४३ करोड लागत बढ्ने

रमेशकुमार पौडेल

चितवन — मुग्लिन–नारायणगढ सडक विस्तारमा थप समय मात्र होइन लागत पनि बढ्ने भएको छ । सम्झौताअनुसार गत वर्षको वैशाखमा सकिनुपर्ने सडक निर्माणको काम अझै २० प्रतिशतभन्दा बढी बाँकी नै छ ।

४३ करोड लागत बढ्ने

सडक निर्माणको लागत पनि सुरुको अनुमानभन्दा झन्डै ४३ करोड रुपैयाँ बढ्ने सम्भावना रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीले बताएका छन् ।

‘अहिले नै सुरुको लागतभन्दा ३२ करोड रुपैयाँ बढी लाग्ने पक्कापक्कीजस्तै भयो । अन्तिमसम्म यो रकम ४३ करोड रुपैयाँसम्म पुग्ने सम्भावना छ,’ आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।

सडकलाई एसियाली मापदण्डअनुरूप दुई लेनको बनाइँदै छ । यसको लागत २ अर्ब ८८ करोड ७० लाख १४ हजार २ सय १० रुपैयाँ ३६ पैसा हो ।

दुई वर्षमा काम सक्ने भन्दै सन् २०१५ को अप्रिलमा सडक विस्तारको सम्झौता भएको थियो । तर काम नसकिएपछि अहिलेसम्म ३ पटक म्याद थप भइसकेको छ । तेस्रो पटक थपेको म्याद फागुनको पहिलो सातामा सकिइसकेको छ । अहिले जेठसम्म काम सक्ने गरी चौथो पटक म्याद थपको प्रक्रिया सुरु भएको छ । सडक विस्तारको हालसम्म ७९ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

‘सुरुको लागतको आधारमा ७९ प्रतिशत काम सकियो । लागत बढेमा यो प्रगति केही घट्न पनि सक्छ,’ खनालले बताए । पहिरो लगायतका कारणले सुरुको भन्दा लागत बढेको उनको भनाइ छ । ‘पहिरोका कारण दुई हजार घन मिटर मात्रै माटो ढुंगा पन्साउनुपर्ला भन्ने सुरुको अनुमानविपरित लाखौं घन मिटर माटो पन्सयाउनुपरेको छ । यसले पनि लागत बढायो,’ खनालले भने । पहिरो गएपछि चार किलो मिटरभन्दा बढी पर्खाल लगाउनुपरेका कारण पनि लागत बढ्न गएको उनले बताए । ‘यो बाहेक सडक

९ देखि ११ मिटर चौडा हुने भनिएको छ । ११ मिटर चौडा भएको ठाउँमा पहिला नौ मिटर मात्रै कालोपत्रे गर्ने भन्ने थियो । पछि सबै कालोपत्रे गर्ने भनियो । यसका कारण पनि लागत बढ्ने भएको हो,’ खनालले भने ।

गोरखा नारायणगढ सडकका रूपमा चीन सरकारको सहयोगमा विसं. २०३६ सालमा यो सडक बनेको हो । मुग्लिनमा यो सडकले पृथ्वी राजमार्गलाई छोएको छ । जसका कारण यो सडक राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो । नारायणगढदेखि मुग्लिनसम्म यो सडकको दूरी ३६ किलो मिटर छ । साढे पाँच मिटर मात्रै चौडा सडकलाई फराकिलो बनाउन विश्व बैंकको ऋण सहयोगमा विस्तारको काम सुरु भएको हो ।

चितवनको आँपटारीदेखि १६ किलो मिटरसम्म सडकको चौडाइ ११ मिटर हुने छ । त्यसपछि मुग्लिनसम्म नौ मिटर चौडा बनाइन लागेको हो । अहिले धमाधम कालोपत्रेको काम हुँदै गरेको छ । कुल बजेटको लगभग ६० प्रतिशत रकम कालोपत्रेमा नै खर्च हुने इन्जिनियर खनालले बताए ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?