कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जैविक विषादी छर्न लोभिए कृषक

सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गतको चोकटीगाउँकी पम्पादेवी दाहालले रासायनिक छोडेर जैविक विषादी बनाएर प्रयोगमा ल्याउन थालेकी छन् ।

जैविक विषादी छर्न लोभिए कृषक

रासायनिक विषादीले दीर्घकालीन रोग बढाउने बुझेपछि उनले सट्टामा जैविक विषादी छर्न थालेकी हुन् ।

‘अब त झारबाटै विषादी बनाएर तरकारीमा छर्कने गरेकीे छु,’ दाहालले प्राकृतिक विषादी छर्दै भनिन्, ‘रासायनिक विषादी रोगको कारण भन्ने थाहा भएपछि यसको प्रयोग पूरा छाडेको छु ।’ गतवर्षदेखि रासायनिक प्रयोग पूर्ण रूपमा छाडेर जैविक विषादी प्रयोग गरेर तरकारी फलाइरहेको उनले बताइन् ।

नमुना कृषकमा गनिएकी उनले टुकी संघ सुनकोसीको सहयोगमा झार बनाउने तालिम लिएलगत्तै आफूलाई धेरै सहज भएको उनले सुनाइन् । ‘जैविक मल र विषादीबारे जानेपछि धेरै सहज भएको छ,’ उनले भनिन् । गाउँघरमा पाइने तितेपाती, उर्‍याउलो, कुडमरोलगायतका विभिन्न झारपातबाट विषादी बनाउने गरेको उनको भनाइ छ ।

रासायनिक प्रयोग गर्न छाडेपछि बजारमा लगेको उत्पादन बिक्री गर्न धेरै सजिलो भएको मेलम्चीका कर्णमान खडकाले बताए । ‘पहिलोपल्ट त जैविक विषादी बनाउनु झन्झटजस्तै लाग्थ्यो तर यसको महत्त्व थाहा पाएपछि खुब जाँगर चलेको छ,’ खड्का भन्छन्, ‘रासायनिक प्रयोग कसैका लागि हितकर नहुने बल्ल आएर बुझियो ।’ दाहालजस्तै बनमारा, तितेपातीदेखि कुरिलोसम्मका झारबाटै धेरै जैविक मल बनाउन कर्ण अब्बल भइसकेका छन् । उनले जैविक विषादीको प्रयोग लगत्तै उत्पादन पनि बढ्दै गएकोले खेतीमा लाग्न उत्प्रेरणा बढेको बताए ।

‘रासायनिक विषादी चलाउन छाडेर अरूलाई पनि जैविकको महत्त्व सिकाउन थालें,’ उनले भने ,‘विषादी छर्केपछि भएको ताजा उत्पादनबाट सबै प्रभावित हुन थाले ।’ उनले झन्डै सय रोपनी खेतमा आलु, बन्दाकोपी, काउलीलगायतका बजारमा धेरै माग हुने तरकारीबाट मात्रै वार्षिक ३ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

तरकारीबाटै घरबार चलाइरहेका कृषकले रासायनिक असरबारे थाहा नपाएकाले प्रयोग गरिरहेको चोकटीका वडाध्यक्ष मानबहादुरको भनाइ छ । ‘रासायनिक प्रयोगको तरकारी र उब्जनीले रोग निम्ताउने सचेतना पाएपछि प्राय: कृषकले रासायनिक छोडेर जैविक मल, विषादी प्रयोग गरिरहेका छन्,’ उनले भने ।

जैविक विषादी, मलको सुरक्षित प्रयोगले उत्पादन र जमिनको ऊर्वरता बढाउन थप मद्दत मिलेको कृषकको भनाइ छ । जिल्लाभर रासायनिक त्यागेर जैविक विषादी प्रयोगको अभियान र सहयोग गरिरहेको टुकी संघ सुनकोसीका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेलले बताए । ‘व्यावसायिक रूपमा लागिरहेका कृषकलाई जैविक विषादी बनाउने तालिम र सामग्री सहयोग गरिरहेका छाँै,’ उनले भने । पौडेलले जैविक विषादीका लागि आवश्यक ड्रम, पाइपदेखि झारी कृषकलाई दिएको बताए ।

जिल्ला कृषि विकास कार्यालयका अधिकृत दुर्गादत्त पन्थीका अनुसार कृषकले जैविक विषादी बनाउने तरिका जानेपछि रासायनिक प्रयोग घटाउँदै लगेका छन् ।

‘रासायनिक असरले जमिनको ऊर्वरता कम गर्ने थाहा पाएपछि कृषक जागरुक भएका छन्,’ पन्थीले भने, ‘कृषकले रासायनिक विषादी बन्द गर्दै जैविक विषादी सुरक्षितसाथ प्रयोग थालेका छन् ।’

प्रकाशित : चैत्र ३, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?