कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाेलखामा घरेलु मदिरा र गाँजा नियन्त्रणा अभियान तीव्र

राजेन्द्र मानन्धर

दोलखा — नशालु पदार्थको प्रयोगले अपराधिक घटना बढेकाे पाएपछि दोलखा प्रहरीले अबैध मदिरा उत्पादन र गाँजा खेतीविरुद्धको कारवाहीलाई ग्रामीण भेगमा केन्द्रित गरेको छ ।

दाेलखामा घरेलु मदिरा र गाँजा नियन्त्रणा अभियान तीव्र

यो आर्थिक बर्षमा तयारी घरेलु मदिरा (रक्सी) ३० हजार लिटर र जाँड १८ हजार लिटर प्रहरीले बरामद गरी नष्ट पारेको छ ।


दोलखामा एक वर्षको तथ्याङ्कमा ७५ प्रतिशत बढि घटना नशालु पदार्थको सेवनले भएको देखिएपछि प्रहरीले कारवाही तीव्र पारेको हो ।


घटनाको अनुसन्धानमा अपराधको जड जाडँरक्सी र गाँजा देखिन थालेपछि नियन्त्रण अभियान तीव्र पारिएको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बताए । यो आर्थिक वर्षमा नौ हजार बढी गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ ।


नशालु पदार्थ सेवनपछि पत्नीको अनुहारमा तातो तेल खन्याउने जस्ता जघन्य अपराधसमेत भएको प्रहरी तथ्याङ्कमा छ । एउटा जात्रामा रक्सी सेवनपछि दुईपक्षबीच भएको झगडा मिलाउने क्रममा प्रहरीमाथि आक्रमण गरी सेट नै फालिदिएको घटना पनि तथ्याङ्कमा छ । डिएसपी कार्कीका अनुसार सस्तो र घरघरै उत्पादन हुने भएकाले अधिकाशं झगडा घरेलु मदिरा सेवनपछि भएका देखिन्छन् ।


प्रहरीको अनुसन्धानमा सामाजिक कलहको अधिकाशं जड घरेलु मदिरा हो । जात्राहरुमा पनि मदिराकै कारण झगडा भएको अनुसन्धनबाट खुल्ने प्रहरीको भनाई छ । त्यसैले गतबर्षदेखि जात्राहरुमा घरेलु र तथा अन्तशुल्क तिरेका मदिरासमेतलाई निषेध गरिएको छ । विहेका भोजहरुमा पनि मदिराले नै झगडा निम्त्याएको प्रहरीको भनाई छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार पीडित महिला, आमा समुह र महिला हिंसा नियन्त्रण सञ्जालको गोप्य सूचनाको आधारमा प्रहरीले मदिरा र गाँजाबिरुद्धको अभियान चलाइरहेको छ ।


कतिपय स्थानमा जाँडरक्सीविरुद्ध महिला समुहबाटै अग्रसरता देखाइरहेका छन् । कतिपय अवस्थामा गोप्य रुपमा प्रहरीलाई सूचना दिएर जाँडरक्सी पोख्ने र गाँजा खेती फाड्ने अभियानमा महिलाहरुबाट सहयोग भैरहेको डिएसपी कार्कीले बताए ।


घरेलु मदिराको व्यापक प्रयोगमा आउने भएपछि खाने अन्नहरु मासेर जाँड रक्सी बनाउने क्रम बढेकाले पनि नियन्त्रण थालिएको प्रहरीको भनाई छ । भोक टार्ने चामल, कोदो, चिउरा र सख्खर मदिरा बनाउन प्रयोग भइरहेको पाइएको छ ।


जाँडरक्सी नष्ट गरिए पनि अबैध मदिरा बनाउने भाडाकुडा व्यवस्थापन गर्न नसकेर प्रहरीलाई हैरानी भएको छ । जाँड, रक्सी बनाउने भाडाहरु कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाउनुपर्ने नीति छ । उक्त कार्यालयले लिलामी गर्नुपर्ने ब्यवस्था छ । त्यसका लागि विभागीय स्वृकति आवश्यक पर्छ । भाँडाकुँडा व्यवस्थापनबारे निर्णय नहुँदा ठूलाठूला भाँडाहरु कहाँ राख्ने भन्ने समस्या आएको प्रहरीको भनाई छ ।

प्रकाशित : चैत्र ४, २०७४ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?