कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानीको मुहानमा  विष ? 

हरिहरसिंह राठौर

धादिङ — रोराङ–३ बेनिघाटको कात्राक बस्तीका लागि वितरण गरिएको खानेपानीको मुहानमा विष हालिएको आशंकामा छानबिन सुरु भएको छ  ।

धारामा आएको पानीमा विषादीको गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो । अनुसन्धानका क्रममा पानीको मुहानमा लारा–९९० नामको विषादीको बोतल भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताए ।

पानी पिएका स्थानीय बासिन्दा त्रसित भएपछि गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी र ३ नम्बर वडा अध्यक्ष भुवन त्रिपाठी तथा प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाको टोली घटनास्थलमा पुगेर स्थलगत अनुगमन गरेको थियो । पानीको गन्ध र देखिएको कणको आधारमा कात्राक खानेपानीको मुहानमा विषादी मिसाइएको शंका गरिएको हो ।


नियमित पानी प्रयोग गर्ने बस्तीदेखि करिब ५ सय मिटरको टाढा रहेको तुम्बे खोलाको मुहानदेखि पाइपलाइनमार्फत ल्याइएको धाराबाट मंगलबार दिउँसोदेखि नै विषादीको गन्ध आएको स्थानीय प्रमोद कँडेलले बताए । ‘तर, के–को गन्ध आएको भनेर छुट्याउन सकिएन,’ कँडेलले भने, ‘गाउँमा पानीको मुहानमा विषादी मिसिएको हल्ला आएपछि प्रहरी स्थानीय निकायका पदाधिकारीहरुलाई खबर गरिएको हो ।’


अनुसन्धानपछि खानेपानीको मुहानमा विषादी मिसाइएको शंका भएपछि प्रयोगशालाका लागि पानी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक केसीले बताएका छन् ।


‘पानीको मुहाननजिकै लारा ९९० नामको विषादीको खाली बोतल भेटियो,’ केसीले भने , ‘केही समय अगाडि मुहान कसले प्रयोग गर्ने भन्ने विषयमा विवाद भएको जानकारी पनि स्थानीयले दिएका छन् । विषादी कसले हालिदियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि शंकास्पद २ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।’

खानेपानीको मुहानमा विष हालिएको शंका भएपछि त्यस मुहानबाट आएको पानी खान रोक लगाइएको बेनीघाट रोराङका प्रमुख पित्तबहादुर डल्लाकोटीले बताएका छन् । ‘प्रहरीले निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीलाई कारबाही गरोस्,’ डल्लाकोटीले भने, ‘मुहानमा विषादी कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । हामी पनि पानीको मुहान, टयांकी तथा पाइप लाइन सरसफाइ गरेर छिट्टै पानीको समस्या समाधान गर्छौँ ।’


स्थानीयले खानेपानीको मुहानमा विषादी हालिएको भन्दै जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन पनि दिएका छन् । नियमित रुपमा पिउँदै आएको पानीमा विष मिसाइएको शंका भएपछि खानेपानीको हाहाकार भएको त्रसित बनेका स्थानीयले बताएका छन् । कात्राक खानेपानी मुहानको पानी करिब ५० घर धुरीले प्रयोग गर्दै आएका थिए ।

प्रकाशित : चैत्र ८, २०७४ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?