कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व क्षयरोग दिवस: बालबालिकालाई पनि औषधि

रमेशकुमार पौडेल

चितवन — सर्ने खालको क्षयरोग (टीबी) लागेको बिरामीका घरका ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि औषधि दिन थालिएको छ । सरकारले चितवनसहित देशका ४२ जिल्लामा यस्तो अभियान सुरु गरेको हो ।

विश्व क्षयरोग दिवस: बालबालिकालाई पनि औषधि

चितवनमा गत असारदेखि ७२ बालबालिकालाई औषधि दिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयराम दुवाडीले जानकारी दिए । बच्चालाई क्षरोगको संक्रमणबाट जोगाउन जन्मेको एक वर्षभित्र बीसीजी खोप दिने गरिन्छ । ‘सर्ने खालका क्षयरोगी भेटिएका घरका ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि औषधि दिने गरिएको हो,’ दुवाडीले भने । क्षयरोग देखिएका आमाबाट जन्मने बच्चालाई पनि औषधि दिने उनले बताए ।


आइसोनाइज्ड प्रिभेन्टिभ थेरापी (आईपीटी) भनिने उक्त विधिमा टीबी भएकालाई भने उपचार गरिँदैन । बच्चालाई खुवाउन अभिभवाकलाई एक महिनासम्मको औषधि दिने गरिन्छ । अभिभावकले आफ्ना बच्चालाई दिन दिनै यो औषधि खुवाउनुपर्छ । ६ महिनासम्म औषधि खानुपर्ने दुवाडीले बताए । आईपीटीले क्षयरोग संक्रमण हुने सम्भावना ६० प्रतिशतसम्म कम गर्ने दुवाडीले दाबी गरे । सन् १८८२ को मार्च २४ मा क्षयरोग लगाउने किटाणु पत्ता लागेको थियो ।

जर्मनीका वैज्ञानिक रर्बट ककले माइक्रोब्याक्टोरियम ट्युबरक्लोसिसले क्षयरोग लगाउने प्रमाणित गरेको हुँदा २४ मार्चमा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । शुक्रबार नारायणगढमा जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल क्षयरोग निवारण संस्था चितवन शाखा लगायत क्षयरोगविरुद्ध काम गर्ने संघसंस्थाले गरेको कार्यक्रममा दुवाडीले नेपालमा अहिले पनि प्रत्येक दिन क्षयरोग लागेका २० जना बिरामीको निधन हुने गरेको बताए । ‘चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने उपचार पद्धति (डट्स) सुरु हुनुभन्दा अघि क्षयरोगीको अवस्था झनै नाजुक थियो । अहिले बिरामीहरू उपचारमा आए निको हुने दर बढेको छ,’ उनले भने ।


नेपाल सरकारले सन् १९९६ देखि डट्स उपचार विधि सुरु गरेको हो । ४ जिल्लाबाट सुरु भएको डट्स पछि देशभर सञ्चालनमा ल्याइएको हो । ‘डट्स भनेको बिरामीहरू दिनदिनै स्वास्थ्य केन्द्रमा आएर चिकित्सकको निगरानीमा औषधि खाने परिपाटी हो,’ दुवाडीले भने । क्षयरोग लागेपछि ६ महिनासम्म नियमित औषधि खानुपर्छ । एकचोटि औषधि खाएपछि फेरि क्षयरोग देखिएमा ८ महिनासम्म नियमित औषधि खानुपर्छ । डट्स विधि सुरु हुनुअघि बिरामी निको हुने दर ३३ प्रतिशत मात्रै थियो । डट्सले ९० प्रतिशत माथि पुगेको दुवाडीले जनाए ।


स्वास्थ्य संस्थामा हिँडेर आउन नसक्ने, स्वास्थ्य संस्थाभन्दा ३० मिनेट टाढाको दूरीमा बस्ने बिरामीहरूका लागि समुदायमा आधारित डट्स विधि सुरु गरेको उनले जानकारी दिए । सरकारले सन् २०३५ सम्ममा क्षयरोग निर्मुल गर्ने लक्ष्य बनाएको छ । त्यति बेलासम्म प्रति १० लाख जनसंख्यामा १ जना वा सोभन्दा कम क्षयरोगी हुने सरकारी आकलन छ ।


चितवनमा आर्थिक वर्ष ०६९/७० देखि समुदायमा आधारित डट्स सुरु गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गतवर्ष चितवनमा ९ सय ८१ जनाले डट्स विधिबाट उपचार गराएका थिए । जसमध्ये ९१ जनाले समुदायमा आधारित डट्सबाट औषधि लिएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४४ हजारलाई क्षयरोग हुने गर्छ । तर परीक्षण गरेर प्रमाणित भएका क्षयरोगी वर्षमा ३२ हजार मात्रै भएको दुवाडी बताउँछन् । क्षयरोग लागे पनि परीक्षण गर्न नआएका व्यक्ति अझै समाजमा धेरै रहेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १०, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?