कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोटेकोसीमा ६२ मेगावाट

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिको गातीस्थित जम्बु डयाम र बलेफी गाउँपालिकाको डयाममा विद्युत् गृह रहने गरी ६२ मेगावटको भोटेकोसी–५ जलविद्युत् निर्माण हुने भएको छ ।

भोटेकोसीमा ६२ मेगावाट

कालिका इनर्जी प्राइभेट लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले भोटेकोसीको पानी ७ किमि सुरुङबाट लगी १ सय ५० मिटर हेडमार्फत पावर हाउसमा खसालिनेछ ।

निर्माण चार वर्षमा पूरा गर्ने लक्ष्य राखिएको आयोजनाका सञ्चालक पदम गुरुङले बताए । उनका अनुसार हाल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को अन्तिम प्रतिवेदन तयार पारिँदै छ । आयोजनाको प्रभावित क्षेत्र बाह्रबिसेमा बिहीबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा दिइएको जानकारीअनुसार आयोजना निर्माणमा करिब १० अर्ब लगानी लाग्ने अनुमान छ ।

निर्माणाधीन ‘१०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् गृह जम्बुबाट निस्केको पानी ‘साइफन इन्टेक’ बाट सिधै सुरुङमा प्रवेश गराइनेछ । क्यास्केट आयोजना भएकाले यसले बॉध बनाउने छैन । गुरुङले भने, ‘जुरेस्थित सुनकोसी किनारमा ‘पावर हाउस’ बनाइनेछ ।’ आयोजनाको पीपीए र अन्य अध्ययन सर्वेक्षणको कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । ‘डिटेल डिजाइन हुँदै छ, अरू प्रशासनिक प्रक्रिया सकेपछि आयोजनाको काम थाल्छौं,’ उनले भने । वातावरणको अध्ययन लगायतका काम सकेर एक वर्षभित्र आयोजनाको निर्माण थालिने उनले बताए । आयोजनाले कम्पनीलाई ‘पब्लिक लिमिटेड’ बनाउने जानकारी दिएको छ । आयोजनाले ‘स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराउनेछ ।

आयोजनाको सम्पूर्ण संरचना बलेफी गाउँपालिका र बाह्रबिसे नगरको भोटेकोसी नदीको दायाँ किनारमा बन्नेछन् । ‘यसको वार्षिक उर्जा उत्पादन ३ सय ३९ दशमलव ९८ गिगावाट क्षमता छ । रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिने जानकारी अयोजनाले दिएको छ ।

आयोजनाबाट मुख्य रूपमा प्रभावित स्थानीय विकासका लागि बाह्रबिसे नगरपालिका, बलेफी र त्रिपुरासुन्दरी गाउँपालिकालाई आर्थिक सहयोग गरिनेछ । सञ्चालन अवधिमा पहिलो रोयल्टी स्वरूप १५ वर्षसम्म वार्षिक ४ करोड ६१ लाख र १५ वर्षपछि २९ करोड १४ लाख सरकारलाई बुझाउनेछ । जुनअन्तर्गत सरकारको स्थानीय स्रोतसाधनको अधिकारसम्बन्धी नियमअनुसार स्थानीय तहलाई आयोजनाले तिर्नेछ ।

यसैबीच, सार्वजनिक सुनुवाइलाई बाह्रबिसे नगरवासीले आफूहरूलाई खबर नगरेको गुनासो गरेका छन् । स्थानीय नवीन श्रेष्ठले भने, ‘सबैलाई बोलाएर पुन: सुनुवाइ गरिनुपर्ने सर्त राखेका छौँ ।’ स्थानीयलाई चित्तबुझदो नभएमा फेरि सार्वजनिक सुनुवाइ गरिने सञ्चालक गुरुङ बताउँछन् । ‘आवश्यक भएमा उहाँहरूको इच्छानुसार आउँदो शुक्रबार सुनुवाइ गर्न तयार छौ,’ उनले भने ।

प्रकाशित : चैत्र १८, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?