कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारी खेतीमा आकर्षण बढ्यो

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबीसे नगरपालिका मानेश्वारा डाँडाखेतकी सरिता तामाङले रक्सी पार्न छाडेको ४ महिना पुग्यो । रक्सीभन्दा खेती धेरै उपयोगी व्यवसाय भन्ने बुझेपछि उनले खेतबारीमा तरकारी लगाएकी छन् ।

तरकारी खेतीमा आकर्षण बढ्यो

‘बल्ल रक्सीको बेफाइदालाई बुझेर छाडँे, तरकारी खेतीलाई अँगालें,’ तामाङले उत्साहित हुँदै भनिन्, ‘खेतभर कोदो लगाउनुको सट्टा तरकारी खेती गरेर जीविकोपार्जन गरिरहेकी छु ।’ हाल तरकारीबाट ८० हजारसम्म आम्दानी गरिरहेकी उनले रक्सी पारेर बेच्दाभन्दा तरकारी खेतीमा बढी फाइदा भएको बताइन् । उनले तरकारी खेती गर्दा स्वस्थ्यकर र समाजमा ‘मिहिनेती’ को रूपमा चिनिएकोमा गर्व गरिन् ।


नगरअन्तर्गतकै घुम्थाङ नाककुच्चेकी याङ्डोमा शेर्पा रक्सी पार्ने काम छाडेर तरकारी खेतीमा लागेको सुनाइन् । ‘रक्सीले समाजमा नराम्रो छाप मात्रै पार्‍यो, तरकारीले आर्जन र इज्जत दुवै दियो त्यसैले यसैमा लागँे,’ उनले भनिन् । परिवारमा दिनरात रक्सी पार्ने प्रवृत्तिले झैझगडा र नराम्रो वातावरण सिर्जना गरेको उनले सुनाइन् ।


शेर्पा र तामाङजस्ता कृषक अहिले गाउँपिच्छै भेटिन्छन् । पेसेवर ‘लोकल’ रक्सी उत्पादन गर्ने क्रमश: तरकारी खेतीतर्फ आकर्षित हुन् थालेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख हिक्मतकुमार श्रेष्ठ बताउँछन् । ‘विभिन्न सामाजिक संघसंस्था र कार्यालयको पहलमा गाउँ क्षेत्रमा सचेतना जाग्दै गएको छ,’ उनी भन्छन्, ‘पुस्तौंदेखिको रक्सी व्यवसायलाई छाडेर अहिले तरकारी खेतीमा लाग्ने थुप्रै भइसकेका छन् ।’


बाह्रबीसे नगरको घुम्थाङ, मानेश्वारा, कर्थली ,घोर्थली, धार्पालगायतका हिमाली गाउँमा प्राय: महिलाले कोदोबाट उत्पादित रक्सी बेचेर गुजारा गर्ने गर्थे । हालै घुम्थाङमा सामाजिक संस्था र कृषि विकास कार्यालयको समन्वयमा विभिन्न बीउबिजन, तरकारी खेती तालिम दिइएको छ । ‘तालिमपछि रक्सी पार्ने महिला तरकारी खेतीमा आकर्षित भएका देखिएका छन्,’ घुम्थाङका वडाध्यक्ष मीनबहादुर श्रेष्ठले भने, ‘यसले रक्सीलाई कम र कृषि उत्पादनमा सघाउन मद्दत गरेको छ ।’ उनले टुकी संघ सुनकोसी, सीडीसीएफजस्ता संस्थाको सहयोगमा तालिम पाएलगत्तै कृषिमा आकर्षित हुनेको संख्या ह्वात्तै बढेको प्रस्ट्याए ।


त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुन, पिस्कर, घोर्थलीमा यो अभियान सुरु गरिएको हो । जनप्रतिनिधि र संस्थाको एकमतमा यो कामले झनै गति पाइरहेको छ ।


‘यो अभियानले रक्सी व्यापार मात्रै घटाएन, जिम्मेवार किसान बढाएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने । जिल्लाको जड समस्या रहेको रक्सीको समस्या छुटाउन हम्मे परिरहेको अवस्थामा यसले धेरै पहल गरेको छ । रक्सी पार्नुको सकसलाई बिर्सिएर तरकारी खेती अँगालिरहेका कृषकले तरकारी फर्म नै बनाएर चलाइरहेका छन् । ‘घुम्थाङ र मानेश्वारा गाउँमा १७ वटा कृषक समूह बनाएर सहयोगरत छौं,’ सामाजिक विकास तथा वातावरण संरक्षण मञ्च (सीडीसीएफ) का संयोजक विनोद थापाले बताए ।

प्रकाशित : वैशाख ३, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?