सडक सुधार पछि पुनर्निर्माण तीव्र

राजेन्द्र मानन्धर

दोलखा — निर्माण सामाग्री ढुवानीका लागि सडक सुधार भएपछि दोलखाका दक्षिणी गाउँमा निजी आवास पुनर्निर्माण तीव्र भएकाे छ ।

दोलखा सदरमुकामबाट सेरावेशी हुँदै काटाकुटी जाने सडक सुधारपछि पुनर्निर्माण भैरहेका निजी घरहरु । तस्बिर: राजेन्द्र मानन्धर/कान्तिपुर

भूकम्पले थलिएका बस्तीमा सरकारी अनुदान लिए पनि निजी आवास निर्माण कछुवा गतिमा थियो। निर्माण सामग्री ढुवानी हुन नसक्दा अनुदान पाए पनि अधिकांश भूकम्प पीडितले घर बनाउन सकेका थिएनन्। ढिलासुस्तीमा सडक मुख्य कारण देखिएपछि मर्मतसुधार अभियान थालिएको हो।

सडकमा सुधार हुने वित्तिकै बालुवा, गिट्टी, सिमेन्ट र डण्डी गाडीमा ढुवानी गरेर घडेरी छेउमै पुर्‍याउन थालेकाले निजी आवास निर्माण तीव्र भएको शैलुङ गाउँपालिका—५ काटाकुटीका वडाअध्यक्ष किरण बस्नेतले बताए। बस्नेतका अनुसार सडक बर्षात्मा हिलाम्मे हुन्थ्यो। साघुरो, मोड नपुग्ने, ग्रेड नमिलेको तथा खाल्डाखुल्डीले उक्त सडकममा मालवाहक गाडी चल्न सकेका थिएनन्। ‘सडकमा ढुङ्गा विछ्याउने र मोड सुधारेर सहजै गाडी चल्ने बनाए पछि घर निर्माणले तीव्रता पाएको हो,’ वडाअध्यक्ष बस्नेतले भने।

दोलखाबाट राजधानीसँग जोडिएको लामोसाँघु–जिरी सडकबाहेक त्यससँग जोडिएका ग्रामीण सडकको अवस्था नाजुक छ। जिल्लाका दक्षिणी गाउँमा विस्तार गरिएका सडकहरु भूकम्पपछि उपभोक्ता समितिको २० प्रतिशत श्रमदानले सुधार हुन थालेका हुन।

स्थानीयको माग अनुसार नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले सडक सुधार गर्न नौ उपभोक्ता समितिलाई एक करोड १५ लाख दिने सम्झौता गरेको छ।दुधपोखरीमा १३, लाकुरीडाँडामा ११, मागापौवामा ७, बोचमा ६, काटाकुटीमा ७ र भुसाफेदामा ७ किलोमिटर सडक सुधारको काम भएको छ।

उक्त बस्तीहरुमा अहिले ९५ प्रतिशत निजी आवास निर्माण सकिने क्रममा छ। जम्बसिंह–दुधपोखरी ग्रामीण सडक उपभोक्ता समिति अध्यक्ष थीरबहादुर मोक्तानले निर्माण सामाग्री ढुवानी सहजताका लागि बाटो बनाउन गाउँलेहरु उत्साहपूर्वक श्रमदान गर्न तयार भैरहेको बताए।

प्रकाशित : वैशाख ३, २०७५ १४:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वरिष्ठ अमेरिकी अधिवक्ताद्वारा विरोधस्वरूप आत्मदाह

रासस

वासिङटन (संयुक्त राज्य अमेरिका) — वरिष्ठ अमेरिकी अधिवक्ता तथा समलिङ्गीहरूको अधिकारका लागि बहस गर्दै आएका ड्याभिड बकेलले न्यूयोर्कको एक पार्कमा पृथ्वीको विनासमा मानवजाती भूमिकाप्रति विरोध जनाउँदै आत्मदाह गरेका छन् ।

साठी वर्षीय बकेलले स्थानीय समयअनुसार शनिवार विहानै ब्रुकलिनको प्रोस्पेक्ट पार्कमा आत्मदाह गरेपछि उनलाई तत्कालै मृत घोषणा गरिएको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले जनाएको छ।

आत्महत्यापूर्व विभिन्न अमेरिकी पत्रिकालाई गरिएको इमेलमा उनले पृथ्वीमा जे भइरहेको छ त्यसैको सङ्केतस्वरूप जैविक इन्धनको प्रयोग गरी आत्मदाह गरेको बताएका छन्।

“वायु, माटो, पानी तथा मौसममा भएको प्रदुषणले हाम्रो धर्तीलाई विनास गरेको छ र पृथ्वीलाई बस्न अयोग्य बनाइरहेको छ,” आत्मदाह गर्नुपूर्व उनले लेखेको इमेलमा भनिएको छ ।

“धेरैजसो मानवजातीले जैविक इन्धनको प्रदुषणका कारण अस्वस्थ भएको स्वास फेरिरहनुभएको छ। नतिजास्वरूप अल्पायुमै मर्नुपरेको छ। मेरो जैविक इन्धनको प्रयोगबाट अल्पायुमै भएको मृत्युले हामीले के गरिरहेका छौँ भन्ने कुराको वोध गराउने छ।”

बकेलले लामोसमयदेखि अदालतमा समलिङ्गी समूहको अधिकारका लागि सङ्घर्ष गर्दै आएका थिए। साथै समलिङ्गीहरूको संगठन ‘लाम्डा लेगल’का वैवाहिक योजनाका निर्देशक पनि थिए।

“ड्याभिडको मृत्युको खबर ह्रदय विदारक भएको छ। यो लाम्डा लेगल सदस्य तथा सामाजिक न्यायको सम्पूर्ण आन्दोलनका लागि अपुरणनीय क्षति भएको छ,” लम्डाका कानूनी विभागका निर्देशक कमिला टेलरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

टेलरले भने, “ड्याभिड एक उज्ज्वल कानूनी परामर्शदाता हुनुहुन्थ्यो। उहाँले समलिङ्गी युवाहरूको अधिकारका लागि बनेको लाम्डा लेगलको स्थापनाका लागि महत्वपूर्ण योगदान गर्नुभएको थियो। ”

“लाम्डा लेगलमा निस्क्रिय बनेपछि बकेलले वातावरणीय प्रदुषणका बारेमा काम गर्दै आउनुभएको थियो।” ड्याभिडको मृत्युले वातावरण प्रदुषण रोक्न आगामी दिनमा गर्नुपर्ने कामकोलागि विश्वलाई झकझकाउनेछ।

प्रकाशित : वैशाख ३, २०७५ १४:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT